एकजना पाको मान्छे एकाग्र भएर हाते घडी मर्मत गर्दैछन्। झिँगाको टाउकोभन्दा मसिना किलाले जेलिएको घडीका पाटपुर्जा खोतलखातल पार्दैछन् उनी। सानो सटरभित्र कोचिएको खाटमा पलेँटी कसेर काम गरिरहेका उनलाई छेउमै उभिएका ग्राहक घाँटी तन्काएर नियाल्दै छन्। केही बेरपछि घडी चल्न थाल्छ। अघिको एकाग्रता तोड्दै उनी मुसुक्क हाँसेर घडी बनेको संकेत गर्छन्। 'बूढालाई मान्नैपर्छ' भन्दै ग्राहकहरू कुनै बार्गेनिङ नगरी पैसा तिरेर बाटो लाग्छन्।
काठमाडौँ, ताहाचलका ७२ वर्षीय लक्ष्मण शाक्य हुन् उनी। धरहराको पश्चिमतिर रहेको उनको कर्मथलो धेरै पुरानो हो भन्ने कुरा भित्ते घडीहरूले पनि बताउँछन्। उमेरले आठ पुगेपछि घडी बनाउन थालेको बताउने उनी आफ्नो चार पुस्ताले यही पेशा अपनाएको बताउँछन्। 'मेरा बाउबाजेले पनि यही काम गरे। म र मेरा छोराहरूले पनि यही काम गरेर बाँचिरहेका छौँ,' उनले भने। चार भाइमध्ये कान्छा हुन् उनी। उनका जुम्ल्याहा दाइ राम पनि घडी मर्मतकै काम गर्छन्। 'मेरा तीनटा छोराले पनि छुट्टाछुट्टै पसल थापेर यही काम गर्छन्,' आफूले जेठो र माइलो छोरालाई काम सिकाएको बताउँदै उनले कान्छो छोराले भने दाइहरूबाट सिकेको बताए।
'मेरा बुबाले चन्द्रशमशेरदेखि मोहनशमशेरसम्मको घडी बनाइदिनुभयो,' उनी भन्छन्, 'मैले राजा वीरेन्द्र र उहाँका परिवारको घडी बनाइदिएँ।' बिग्रेका घडीहरूसँग खेल्दै यहाँसम्म आइपुगेका उनी यस पेशालाई पुर्खाको नासो भन्छन्। यो उमेरसम्म उनी खाली आँखाले पनि घडी बनाउन सक्छन्। 'कहिलेकाहीँ गाह्रो भयो भने चस्मा लाउँछु। धेरै साना पार्टपुर्जा बाक्लो लेन्सबाट हेर्छु,' उनले भने, 'मलाई कतिपयले त घडीका डाक्टर भन्ने गरेका छन्।' सम्पन्न परिवारमा जन्मे पनि पारिवारिक विखण्डनले काम नगरी हात जोर्न मुश्किल पर्ने बनाएको उनको बुझाइ छ। उमेरले उकालो लाग्दै गर्दा छोराहरूले गरेको उपेक्षाले आफूलाई पीडा दिएको उनको दुखेसो छ। आधा घण्टाको फरकमा जन्मेका दाइसँग पनि सम्बन्ध अमिलो भएकोमा खिन्न छन् उनी। 'अचेल त दाइसँग बोलचालै छैन,' उनी दुःखी छन्, 'एउटै थालमा खान्थ्यौँ पहिला। नङ र मासुजस्ता।' जुम्ल्याहा दाजुभाइ दुरुस्तै थिए। उनको रमाइलो अनुभव छ, 'दाइको ससुराली जाँदा साह्रै गाह्रो पथ्र्यो। मैलाई ज्वाइँ भन्ठानेर हैरान। एकपटक त भाउजूले मलाई दाइ सम्झेर ढोग पनि गर्नुभाछ।' दाइका साथीहरूले आफूलाई दाइ ठानेर अँगालो मारेको अनुभव पनि छ उनीसँग।
सटरको चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ। दिनमा बढीमा दुईतीन सय कमाइ हुन्छ। 'के गर्नु, मुश्किल छ गुजारा टार्न,' उनले भने, 'रोइरहनुभन्दा गाइरहनु बेस भनेजस्तो सकुञ्जेल काम गर्छु।' होटलमा खाना खाने उनी घरमा सुत्न मात्र जाने गरेको बताउँछन्। आफ्नो जीवनदेखि भने सन्तुष्ट छन् उनी। 'आत्मसन्तुष्टि भएन भने त जिउनुको सारै भएन नि,' उनको व्याख्या छ, 'जीवन भनेकै आत्मा हो। यो आत्मालाई सन्तुष्ट राख्न सकिएन भने शरीर खाली पिँजडा हो। सुगा भएन भने त्यो पिँजडाको के काम ?' आत्मालाई सन्तुष्ट राख्न धनको थुप्रोले नसक्ने बुझाइ छ उनको। जीवनमा जति उतारचढाव भए पनि उनी कहिल्यै आत्तिएनन्। 'हातमा सीप छ। सकुञ्जेल गरिखाइन्छ। नसके मरिगइन्छ,' उनले भने, 'अरूसँग हात थापेर खानु नपरोस् भनेर भगवान्सँग प्रार्थना गर्छु।' अरूले बिगारेका घडी आफूले सुधारिदिएर त्यसैबापत पैसा आर्जन गर्छन् उनी। जीवनलाई पनि तिनै बिग्रेका घडीसँग तुलना गर्दै भन्छन्, 'नयाँ हुने बेलासम्म सबैले जतन गर्छन्। बिग्रेपछि बने ठीक छ, नबने खोलामै बगाउन खोज्छन्। मान्छेलाई पनि हुने बेलासम्म सबैले आफ्नै भन्छन्।'
उनले पुराना धेरै ब्रान्डेड घडीसँग खेले। 'सिको, सिको फाइभ, रोलेक्स, टिसो, ओमेगा, फोर्टिस जस्ता ब्रान्ड खेलाइयो,' उनी सम्झन्छन्, 'पहिला त घडीलाई ठूलो प्रतिष्ठा सोच्थे मान्छेहरू।' उनका अनुसार कसको हातमा कुन घडी टल्क्यो भन्ने जान्न चाहन्थे उतिबेलाका मान्छे। 'अचेल पनि घडीको महŒव त घटेको होइन। तर, मान्छेहरू यसलाई भन्दा अरु इलेक्ट्रोनिक सामानलाई ठूलो ठान्छन्,' उनलाई लाग्छ, 'घडी लगाउनेहरू समयलाई ख्याल गर्छन्।'
प्रकाशित: १० पुस २०७१ ११:१५ बिहीबार





