नेपाली महिला भलिबल खेलाडीले श्रीलंकालाई हराउँदै आफ्नो लक्ष्य पूरा गरेका छन्। अन्तर्राष्ट्रिय अनुभवको कमी भए पनि महिला टोलीले काठमाडौँमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जित्ने लक्ष्य राखेको थियो। मंगलवार नेपालले ऐतिहासिक सफलता हात पार्ने क्रममा श्रीलंकालाई पहिलोपल्ट पराजित गर्यो।
महिला टोलीले तीन दशकको इतिहासमा पाँच अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको छ। २७ वर्षअघि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल महिला टोलीको पहिलो अनुभव थियो। अहिलेसम्म महिला टोलीले पाँच अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेको छ।आठौँ र दसौँ दक्षिण एसियाली खेलकुदमा महिला टोलीले जितेको कास्य नेपाली भलिबलको अहिलेसम्मकै सर्वाधिक ठूलो उपलब्धि थियो। आठौँ र दशौँ सागमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएपछि कास्यमा सीमित भएको थियो। तर, नेपालले मंगलवार त्रिपुरेश्वरस्थित कभर्ड हलमा श्रीलंकालाई हराउन पाँच सेट खेल्न पर्यो। एसियाको शीर्ष १० टोलीमा पर्ने श्रीलंकालाई नेपालले सुरुवातका दुई सेटमा २५–२३ र २५–२२ ले हरायो। तर, नियमित एसियाली भलिबल खेलिरहेको श्रीलंकासँग नेपाल तेस्रो र चौथौ सेटमा १९–२५, १४–२५ ले पराजित भयो। घरेलु कोर्टमा समर्थकको साथ पाएको नेपालले निर्णायक सेटमा श्रीलंकालाई १५–१० ले हराउँदै कीर्तिमानी जीत हासिल गर्यो। च्याम्पियनसिपकै कान्छी खेलाडी प्रतिभाले श्रीलंकाविरुद्ध उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिइन्। उनले पाँच सेटमा स्पाइकबाट १९ स्कोर गर्दै नेपालको अंक बढाइन्। नेपालको जीतमा सरस्वती चौधरीले स्पाइकबाट ८, ब्लकबाट ३ र सर्भिसबाट १ गरी १२ स्कोर र अरुणा शाहीले ७ स्कोर गरिन्।
२–२ सेटको बराबरी भएपछि अन्तिम सेटमा श्रीलंकाको स्पाइक चल्न सकेन। श्रीलंकाले निर्णायक सेटमा स्पाइकबाटमात्रै ६ अंक गुमायो। जसले गर्दा नेपाललाई खेल जित्न सहज भएको थियो। पाँचौ सेटमा नेपालले स्पाइकबाट ५ अंक बटुलेको थियो। ओपन स्पाइकर प्रतिभाले २, अरुणा शाही, रमिला तन्डुकार र सरस्वती चौधरीले समान १ स्कोर गरे।
महिला टोली खेलाडीले लक्ष्य पूरा गरेको प्रशिक्षक सुदेशकुमार रिमालले बताए। उनले भने, 'हामीले मेहनत गरेको फल पाएको छौँ। हाम्रो लक्ष्य रजत जित्ने थियो। त्यो पूरा भयो। हाम्रो लागि आजको दिन ऐतिहासिक दिन हो। तर, यसलाई जोगाउनु अबको चुनौती हो।' प्रशिक्षक रिमालले अब संघले सफलता जोगाउन नयाँ योजना बनाउनुपर्ने बताए। 'प्राविधिक रूपमा हाम्रा धेरै कमजोरी छन्। तर, खेलाडीले धेरै मेहनत गरे। प्रत्येक सेट जित्ने कोसिस गरे, उनले भने, 'प्रतिभाको प्रर्दशन प्रतियोगितामै उत्कृष्ट भयो। यो सफलता जोगाउन हामीले भोलिदेखि नै योजना बनाउनुपर्छ।'
कप्तान विनिता बुढाथोकीले अवसर पाए नेपालले दक्षिण एसियामा थप उपलब्धि हासिल गर्न सक्ने बताइन्। 'श्रीलंकालाई हराएर हामीले आफ्नो क्षमता देखायौँ। थोरै अन्तर्राष्ट्रिय अनुभवले श्रीलंकालाई हराउनु हाम्रो लागि ठूलो उपलब्धि हो,' उनले भनिन्, 'आजको उपलब्धि पाउन हाम्रो टोलीले मेहनत गरेको थियो।'
श्रीलंकाका प्रशिक्षक प्रिमालालले नेपालसँग हार टोलीको राम्रो अनुभव भएको बताए। 'हामीले च्याम्पियनसिपमा राष्ट्रिय टोलीलाई खेलाएका थिएनौँ। सबै यू–२३ च्याम्पिनयनसिप खेलेका खेलाडी हुन्,' उनले भने, 'हामीले सुरुवातका सेट गुमाएर राम्रो कमब्याक गरेको थियौँ। तर, जुनियर खेलाडी भएकाले नेपालको कोर्टमा नर्भस भए।'
प्रशिक्षक प्रिमालालले नेपालको खेलमा धेरै सुधार भएको बताए। उनले भने, 'नेपालको अन्तर्राष्ट्रिय अनुभव हाम्रोभन्दा कम छ। तर, उनीहरूले घरेलु प्रतियोगितामा धेरै राम्रो प्रगति गरेका छन्। उनीहरूको स्पिड राम्रो थियौँ।'
रजत जित्दा नेपालले सुरुवातको खेलमा माल्दिभ्स र बंगलादेशलाई सोझो सेटमा हराएको थियो। एसियाको बलियो टोली भारतसँग भने नेपाल सोझो सेटमा पराजित भएको थियो। यसैगरी भारतले अपराजित रहँदै च्याम्पिनसिपको उपाधि जित्यो। भारतीय महिला टोलीकी प्रशिक्षक मीना महालिङ्गमले सहजै उपाधि जिते पनि च्याम्पियनसिपमा टोलीले उत्कृष्ट अनुभव बटुल्ने अवसर पाएको बताइन्। 'च्याम्पिनयसिपमा धेरै नयाँ खेलाडीले खेल्ने अवसर पाए। यसले हाम्रो टोलीलाई अन्य प्रतियोगिताको तयारीमा सहयोग गर्छ,' उनले भनिन्। च्याम्पियनसिपले निरन्तरता पाए दक्षिण एसियाको भलिबलको स्तर माथि उठने महालिङ्गमको भनाइ छ। उनले भनिन्, 'दक्षिण एसियाको महिलाको स्तर धेरै तल छ। अन्य महादेशको भन्दा हाम्रो शैली धेरै सुस्त छ। तर, हामीले नियमित यस्ता च्याम्पियनसिप खेले धेरै सुधार हुनेछ।'
मंगलवार उपाधि जितेको भारतले २ हजार डलर, दोस्रो भएको नेपालले १ हजार र तेस्रो श्रीलंकाले ५ सय डलर प्राप्त ग¥यो। प्रतियोगितामा भारतीय महिला टोलीकी कप्तान टिजी रोजु उत्कृष्ट खेलाडी भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रकाशित: १० पुस २०७१ १०:५४ बिहीबार





