क्रिस्चियन धर्म प्रचारकहरू घरदैलोमै पुगेर तथा सार्वजनिक स्थल, अस्पताल, सुकुम्बासी बस्ती, आदिवासी जनजाति, दलित र पिछडिएको बस्तीमा छिरेर इसाई धर्म फैलाउन पर्चा बाँड्छन्। स्थानीयलाई विभिन्न लोभ देखाउँछन्। यस्तै लोभमा परेका थिए, सुकबहादुर तामाङ। गरिब सुकबहादुर हुर्कंदै गरेका छोराछोरी कसरी पढाउने भन्नेमा चिन्तित थिए। यही बेला उनीसँगै मजुदरी गर्ने एकजनाले पोखराको रामघाट चर्चमा लगे।
त्यहाँ पुगेपछि उनले इसाई धर्मबारे विभिन्न प्रवचन सुने। प्रवचन सुनेर प्रभावित भएका सुकबहादुर इसाई बने। त्यसपछि बेलाबेला चर्च जान थाले। उनको गरिबी देखेका पास्टरले हुर्केकी छोरीलाई एउटा स्कुलमा निःशुल्क पढ्ने व्यवस्था गरिदिए। त्यसपछि इसाई धर्मप्रति उनको विश्वास झन् बढ्यो। अहिले सुकबहादुरले धेरैलाई चर्च जाने बनाइसकेका छन्। 'हामी गरिबलाई धेरै सहयोग भएको छ,' बालुवा संकलन गर्ने सुकबहादुर भन्छन्, 'छोराछोरी सित्तैमा पढ्छन्। हामीलाई पनि येशुले रक्षा गरेका छन्।' पोखरा नयाँगाउँ (सेती छेउको सुकुम्बासी बस्ती) की पुनिसरा थापा घरमा सधँै कहिले को, कहिले को बिरामी हुन थालेपछि इसाई भएको सुनाउँछिन्। प्रचारकले प्रभु येशुको प्रार्थना सुनाएपछि सिकिस्त बिरामी छोरी निको भएकाले आफूले पनि यो धर्म मान्न थालेको बताउँछन्, तिलक परियार। चाउथेमा बस्दै आएका उनी इसाई बनेको सात वर्ष भइसक्यो। 'गरिबीले इसाई बनायो। जति काम गरे पनि कहिल्यै नपुग्ने?' तिलकले भने, 'इसाई भएर मण्डलीमा येशुको प्रार्थना गरेपछि हरेक काम सफल भएका छन्।'
पोखरामा पोखरेली ख्रिस्टियन समुदाय र पोखरेली ख्रिस्टियन संगठन गरी क्रिस्चियन धर्मका दुइटा संस्था छन्। पोखराभरि यिनका करिब एक सय आसपास चर्च र मण्डली छन्। ती चर्च र मण्डलीका प्रचारक दिनदिनै घरघर पुगेर र सार्वजनिक स्थलमा गएर इसाई धर्म फैलाउन सक्रिय छन्। उनीहरू विभिन्न ठाउँमा गएर पर्चा, किताब, बाइबल निःशुल्क बाँड्ने गर्छन्। तर, आफ्नो समुदायले कसैलाई धर्म परिवर्तन गर्न नलोभ्याएको दाबी गर्छन्, पोखरेली ख्रिस्टियन समुदायका अध्यक्ष राम रोका। 'धेरैजसो दुःख पाएका व्यक्तिहरू सुख खोज्दै र रोगले ग्रसित भएर डाक्टरलाई देखाएर वाक्क भएकाहरू आउँछन्,' अध्यक्ष रोका भन्छन्, 'येशुको प्रार्थना गरेर बाइबल पढेपछि धेरै रोगी निको भएका प्रशस्त उदाहरण छन्। तर, हामीले सञ्चो गरेको हैन, प्रभुले निको पारेका हुन्।' अध्यक्ष रोकाका अनुसार धेरै जना यस्तै विश्वास लागेपछि इसाई बनेर चर्च र मण्डली आएका हुन्। राम्रो काम गरेकाले आफ्नो समुदायलाई लोभ देखाएर विभिन्न मान्छेलाई धर्म परिवर्तन गराएको आरोप बेलाबेला लाग्ने गरेको उनको गुनासो छ। 'राम्रो काम पचाउन नसकेर नानाथरिका कुरा गरेका हुन्,' उनी भन्छन्, 'तर, हामी कसैलाई पनि लोभलालच देखाएर इसाई बनाउँदैनौँ।'
प्रकाशित: १० पुस २०७१ ०२:१४ बिहीबार




-600x400.jpg)
