२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

नाटकमा युवा लगाव

स्नातकोत्तर तहमा अध्ययनरत सुषमा लोहनी नाटककी नियमित दर्शक हुन्। गुरुकुलमा नाटक लाग्दादेखि नै टिकटका लागि लाइन बस्ने सुषमालाई अहिले नाटकघरको संख्या बढेपछि केही सहज भएको छ।
'पहिले गुरुकुलमा नाटक लाग्दा घण्टौँ लाइन लाग्दा पनि टिकट पाइँदैनथ्यो,' उनले आफ्नो नाटक क्रेजबारे भनिन्, 'फिल्मभन्दा नाटक राम्रो हुने भएकाले टिकटका लागि प्रतीक्षा पनि गरिन्थ्यो।'गुरुकुलबाट नाटकको स्वाद लिएकी उनले हाल आफ्ना थुप्रै साथीलाई पनि नाटकपारखी बनाएकी छन्। 'कलेज बिदा भएको दिन र समय मिल्नासाथ साथीहरूको समूह बनाएर नाटक हेर्न जान्छौँ,' उनले सुनाइन्, 'पहिला–पहिला साथीहरू नाटकप्रति त्यति सकारात्मक थिएनन्। तर, एक/दुई पटक हेरेपछि सबैजनाको बानी नै परिसकेको छ।'
पछिल्लो समय रंगमञ्चमा मञ्चन हुने नाटकका नियमित दर्शक युवापुस्ता नै रहेको नाट्यकर्मी बताउँछन्। पुरानो नाटकघर सर्वनाम थियटरका निर्देशक अशेष मल्लका अनुसार दोस्रो जनआन्दोलनपछि कला र साहित्यमा युवाको उत्साहजनक सहभागिता छ। 'दोस्रो जनआन्दोलनपछि नाटकमा युवा अभिनेताको समेत वृद्धि भयो,' उनले भने। उनका अनुसार हाल अधिकांश नाटकमा अभिनय र निर्देशन गर्नेमा युवा नै बढी छन्।
अनामनगरस्थित मण्डला थियटरका निर्देशक राजन खतिवडा पनि नाटक क्षेत्र युवा पुस्ताले धानिरहेको बताउँछन्। 'पहिलेको तुलनामा नाटकमा युवाको सहभागिता बढ्दो छ,' खतिवडा भन्छन्, 'तर, निरन्तरतामा भने समस्या छ।' युवाहरूमा नाटकको लगाव भए पनि अभिनयका लागि आवश्यक मेहनतको खाँचो रहेको उनको बुझाइ छ। 'कतिपय युवा नाटकमा अनुहार र अभिनय देखाए फिल्म अवसर पाइने सोचले पनि भित्रिन्छन्,' उनले भने।
बत्तीसपुतलीस्थित शिल्पी थियटरका निर्देशक घिमिरे युवराज आर्थिक आर्जनको अभावले नाटकमा युवाले अभिनयलाई निरन्तरता दिन नसकेको बताउँछन्। 'युवाहरू अभिनय गर्ने क्रेजले नाटकमा भित्रिन्छन्,' घिमिरे भन्छन्, 'तर, जब अभिनय गरेरै दैनिक गुजारा चलाउनसमेत मुश्किल पर्ने अवस्था आउँछ, उनीहरू पलायन हुन्छन्।'
विसं १९९४ मा बालकृष्ण समद्वारा लिखित 'मुकुन्द इन्दिरा' पहिलोपटक सार्वजनिक रूपमा दरबार हाई स्कुलको आँगनमा मञ्चन गरिएको थियो। सो नाटकले आधुनिक नाटकको विकासमा ठूलो योगदान पु¥याएको निर्देशक मल्ल बताउँछन्।
विसं २०३० पछि नाटक देखाउने क्रम ह्वात्तै बढेको मल्लको अनुभव छ। उनका अनुसार २०३८/३९ सालतिर नाटक प्रदर्शका लागि हलको अभाव सिर्जना भयो। त्यतिबेला मनबहादुर नेपालीको 'अनि देउराली रुन्छ', माधवप्रसाद घिमिरेको 'मालती मंगले', सत्यमोहन जोशीको 'फर्केर हेर्दा', उनको 'तुवाँलोले ढाकेको बस्ती' जस्ता नाटकले महिनौँसम्म नाटक हल तताएको मल्ल सुनाउँछन्।
राजधानीमा हाल मण्डला, शिल्पी, सर्वनाम, थियटर भिलेज र थियटर मल गरी पाँच वटा नाटकघर नियमित सञ्चालनमा छन्। यी सबै निजी लगानीमा सञ्चालित छन्। 'नाटकका युवा पारखी बढ्नु सकारात्मक भए पनि व्यवस्थापकीय कमजोरीले नाट्य क्षेत्रको विकासमा अझै समस्या रहेको छ,' रंगकर्मी खतिवडाको विश्लेषण छ।

प्रकाशित: ४ पुस २०७१ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App