नेवार समुदायका युवतीबीच हुने सौन्दर्य प्रतियोगिता मिस नेवाः को दशौँ संस्करण सुरु भएको छ। दशौँ संस्करणकी मिस नेवाः छान्नका लागि आवेदन फारम भर्ने यो हप्तालाई अन्तिम मिति तोकिएको छ।
नेवार समुदायमा रहेका युवतीहरूको व्यक्तित्व विकासका साथै नेवारी संस्कृतिको संरक्षणका लागि यो प्रतियोगिता थालिएको नेप्लिज फेसन होमकी हेमा मानन्धरले बताइन्। दशौँ संस्करणमा आइपुग्दा आफूले तय गरेको उद्देश्यमा सफलता हासिल भएको बताइन्। 'मिस नेवाः को ताज हासिल गरेका युवतीहरूले आफूलाई समाजका विभिन्न क्षेत्रमा अग्रपंक्तिमा उभ्याएका छन्,' मानन्धरले भनिन्।
मिस नेवाः विजेतामध्ये सुप्रिया तुलाधर, सुनीता डंगोल, सुजिना शाक्यलगायत केही सञ्चार क्षेत्रमा सक्रिय छन्। त्यसैगरी सुविता प्रधान, एलिसा वज्राचार्य र सुदिना श्रेष्ठ समाजसेवामा सक्रिय छन्। अकेशा वज्राचार्य शिक्षा क्षेत्रमा सक्रिय छिन् भने योगिता महर्जन अमेरिकामा उच्च शिक्षा हासिल गरिरहेकी छिन्। पहिलो मिस नेवाः सविता श्रेष्ठ पनि सामाजिक कार्यमै सक्रिय छिन्।
नयाँ पुस्ताले नेवारी संस्कृति र भाषा भुल्दै गएकाले यस वर्षबाट भाषा र संस्कृतिका विषयलाई जोड दिने नेप्लिज फेशन होमले जनाएको छ। 'प्रशिक्षण अवधिभर कम्तीमा नेवारी भाषामा आफूलाई प्रस्तुत गर्ने हुनुका साथै नेवारी संस्कृति र खानाका बारेमा जानकार होऊन् भन्ने हाम्रो चाहना हो,' फेसन होमकी अध्यक्ष मानन्धरले भनिन्।
प्रकाशित: ४ पुस २०७१ ०७:०२ शुक्रबार





