त्यो स्वप्नभूमिमा पूरै १८ वर्ष बिताएर ऊ जन्मभूमि फर्कियो। अघाएको थियो ऊ त्यो संसारसँग। सुख–सुविधा थियो। पैसा थियो। थिएन त पहिचान। त्रिभुवन विमानस्थलमा अवतरित भइसकेर आगमन कक्षबाट बाहिर निस्कुन्जेलमा उसले त्यो स्वप्नभूमिको र यो जन्मभूमिको सार्थक भेद अनुभूत गर्यो।
अठार वर्षअघि स्वप्नभूमितर्फ जान लाग्दा विमानस्थलमा बिदाइ गर्न आएका दाजु–भाउजू, मामा, दिदी–भिनाजू, सानाबा–सानीमा, भान्दाइ आदिका अनुहार सरर्र उसको स्मृतिमा उदाए। बितेका अठार वर्षमा ऊ जम्माजम्मी तीन पटक नेपाल आयो। बिहेको लागि, आमाको बर्खान्त र पासपोर्ट नवीकरणका लागि।
योचोटि त ऊ सधैँका लागि देश फर्केको थियो। तिनै इष्टमित्र र नसनाताको संसारमा बाँच्नु थियो। जान्दथ्यो, ती सबै केही न केही उपहारको इच्छा राख्छन्। स्वप्नभूमिबाटै उसले लत्ताकपडा र अरू जिनिस ल्याउन खोजेको थियो। पत्नी र सासूले भने, 'आ...किन यहाँदेखि किन्ने ? उतै सुपरमार्केट वा डिपार्टमेन्टल स्टोरतिर किने भइहाल्छ नि।'
काठमाडौँ ओर्लेको भोलिपल्टै जोईपोइ उपहार खरिदका लागि राजधानीकै एउटा सुपरमार्केटमा गए। श्रीमान् रेलको डिब्बाजस्तो पत्नीको पछिपछि लाग्थ्यो। श्रीमती फटाफट लुगाहरू टोकरीमा हाल्थी।
लोग्ने मूल्यको स्टिकर हेर्थ्यो र भन्थ्यो, 'यति सस्तो लैजाँदा उनीहरूले हेपेको भन्ने हुन् कि ?'
'के भन्नु नि ? उतै अमेरिकाबाट ल्याएको भन्ने नि। चाइनाको सामानले संसार पिटेको छँदैछ। स्टिकर चाहिँ निकालेर फाल्ने। हजुर, चुप लागेर बस्नुस्।'
इष्टमित्रको गच्छेअनुसार तिनले उपहार बाँडे। ससुरालीतर्फकाको भागमा किम्मती चिजहरू परे। घर र मावलीतर्फ यस्तै त्यस्तै गुणस्तरका। जोईपोइ नै गए मामाघर। मामाको भागमा परेको थियो एउटा टिसर्ट, माइज्यूका लागि एक जोर जुत्ता। भान्जोले भन्यो, 'मामा यो हजुरको लागि अमेरिकाको एउटा चिनो।' उनले वल्टाइपल्टाई हेरे। अनुहार उज्यालो पारे। माइजूले उस्तो खुशी नहुँदै जुत्ता हातमा लिइन्। मामाले तत्कालै त्यसलाई लगाए। एकछिनमा स्कुलबाट मामाको छोरो आइपुग्यो। बाबुलाई टिसर्ट लगाएको देखेर उसले छक्क परेर हे¥यो, नजिकै गयो र भन्यो, 'स्टिकर नै नझिकी लगाएको बाबा ? यो त भाटभटेनीमा पो किनेको रैछ।' भानिजको अनुहार कालिएर श्रीमतीको आँखामा घोप्टियो।
प्रकाशित: ३ पुस २०७१ ११:५९ बिहीबार





