तपाईंका बालबालिका मोबाइलमा कत्तिको झुत्तिन्छन् ? अझै स्मार्टफोन र ट्याब्लेटमा डाउनलोड गर्न मिल्ने एप्समा कति समय बिताउँछन्? होस् गर्नुहोला। स्मार्टफोन र ट्याब्लेटका एप्सले पत्तै नपाई तपार्इं हाम्रा बालबालिकाको सबै विवरण लिइरहेका हुन्छन्। आनीबानीदेखि लिएर बालबालिकाका रुचिका कुरासमेत यस्ता एप्सले पत्तै नपाई लिइरहेका हुन्छन्।
अमेरिकामा बालबालिकाका अभिभावकहरू खेलौनाका स्टोर, फास्टफुड चेनले चिन्तित भइरहेको समयमा अर्को चिन्ता यस्ता एप्स थपिएका छन्। बालबालिकाले मोबाइल फोन र ट्याब्लेटमा खेल्ने अधिकांश गेमका एप्सले उनीहरूको 'लोकेसन' मात्र संकलन गरिरहेका हुँदैनन्, त्यसैका माध्यमबाट बालबालिकाले कस्तो खानेकुरा मन पराउँछन्? कस्तो कपडा मन पराउँछन् भनेर समेत डाटा संकलन गरिरहेका हुन्छन्।
त्यतिमात्र कहाँ हो र? बालबालिकाले मोबाइलमा खेल्ने मोबाइलका गेमकै कारण उनीहरू कहाँ छन् भनेर समेत पत्ता लगाउन सक्छन्। अमेरिकाको फेडरल कम्युनिकेसन कमिसनले व्यक्तिको वैयक्तिक स्वतन्त्रताको हनन् कुनै पनि प्रकारका उपकरणबाट गर्न नमिल्ने भनेर कानुन बनाए पनि मोबाइल एप्सले मानिसका हरेक गतिविधिका सूक्ष्म विश्लेषण गरेर विवरण लिइरहेका हुन्छन्।
जस्तो कि, बालबालिकाले अति नै मन पराउने 'फ्रुटनिन्जा' नामक गेमले कहाँ बसेर बालबालिकाले मोबाइल वा ट्याब्लेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउँछ। अनि, त्यसअनुसारको डाटासमेत व्यावसायिक प्रयोजनका लागि बेच्ने गर्छ। त्यही डाटाका आधारमा गेमसँगै खेलौना स्टोर, फास्टफुड स्टोरका विज्ञापन सँगै देखिन थाल्छन्।
यो भन्दा पनि ठूलो खतरा त जब 'लोकेसन अन' हुन्छ, अपहरणकर्ताहरूले त्यही सूचनाका माध्यमबाट अपहरणलगायत अपराध समेत गर्नसक्ने चिन्ता हुन थालेको छ। त्यस्तै केटाकेटीले औधी मन पराउने 'टकिङ टम' ले उनीहरूको स्वर पहिचान गर्छ।
कार्निग युनिभर्सिटीका कम्प्युटर बैज्ञानिकहरूले सञ्चालन गरेको प्राइभेसी ग्रेड डट ओआरजी वेबसाइटका अनुसार कतिपय एप्सको स्कोर नै केटाकेटीहरूको तथ्यांक संकलन गरेका आधारमा निर्धारण हुने गरेको छ।
केटाकेटीहरू कतिपय एप्सका निम्ति सबैभन्दा राम्रो बजार भएका छन्। एक त, केटाकेटीहरू ट्याब्लेट र स्मार्टफोनमा लामो समयसम्म रमाउने भएकाले गर्दा उनीहरूका माध्यमबाट अभिभावकलाई आफ्नो पहुँचमा पार्न सकियो भने सामान बिकाउन सजिलो हुन्छ। दोस्रो, अहिलेका केटाकेटी नै भविष्यको युवापुस्ता भएको हुँदा अहिलेदेखि नै लतमा पार्न सकियो भने पछिसमेत आफ्नो व्यवसाय निर्बाध अघि बढाउन सकिने भएपछि एप्स निर्माताहरू गैरकानुनी काम भए पनि अनेकन छिद्र खोज्दै अघि बढिरहेका छन्।
हामी सबैले स्मार्टफोन, ट्याब्लेटहरूमा एप्स डाउनलोड गर्न खोज्दा नै विभिन्न स्वीकृति मागिएका हुन्छन्, निर्माताका तर्फबाट। जस्तो कि, फोटोको सेयरिङ, स्थानको जानकारीमा हामीले एप्स डाउनलोड गर्ने हतारमा अनुमति दिइसकेका हुन्छौँ। त्यही स्वीकृतिका आधारमा एप्स निर्माताहरूले हाम्रो ढाडमा टेकेर सबै डाटाहरू बेचिरहेका हुन्छन्।
केटाकेटीलाई लामो समयसम्म स्मार्टफोन र ट्याब्लेटमा झुन्डिन नदिनु अनि कथम्कदाचित कुनै विज्ञापन आइहालेमा त्यसभित्र पस्न रोक लगाउनुपर्छ। अन्यथा, अहिले ठूलो असर नपरिहाले पनि भविष्यमा हाम्रा बालबालिकाका विवरण बेचेर हामीलाई नै नानाभाँती दुःख नदेलान् भन्न कहाँ सकिन्छ र? यही कुरालाई मध्यनजर गरेर नै अमेरिकाले यस्ता विषयमा उपभोक्ताका विवरण नलिन निर्देशन दिएको हो।
प्रकाशित: ३ पुस २०७१ ११:४० बिहीबार





