झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा मंसिर १९ गते प्रहरीले धरान–८, तीनकुनेबाट भारतीय नागरिक नौसाद आलमलाई पक्राउ गर्यो। केही वर्षदेखि धरानमा बस्दै आएका आलमसँग नेपाली नागरिकताको प्रमाणपत्रसँगै भारतीय नागरिक भएको परिचयपत्र पनि फेला पर्यो।
सुनसरीको जल्पापुर गाविस–५ का अमिन मियाका छोरा बनेर नेपाली नागरिकता लिएका आलमसँग इलेक्सन कमिसन अफ इन्डियाको सीकेएक्स २४५४६५० नम्बरको नौसाद मल्लिक नामको परिचयपत्र समेत थियो। नौसादलाई २०६६ चैत २३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले ०६१०३९/१४८०८३ नम्बरको नागरिकता दिएको छ। उनको नागरिकतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नाम नखुलेको सही छ। उनीविरुद्ध मुद्दा चलिरहेको छ।गत वर्ष धरान प्रहरीले अर्का नक्कली नागरिक मो. मजरुल अन्सारीलाई पक्राउ गरेको थियो। भारतको रामपुरग्राम पञ्चायतका ३२ वर्षीय अन्सारीले सुनसरीको नरसिंह गाविस–७ बस्ने मनान अन्सारीलाई बाबु बनाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ०६०१/०३०७७ नम्बरको नागरिकता प्रमाणपत्र लिएका थिए।
त्यसो त भारतको आतंककारीको सूचीमा रहेका निराजन होजाईले निर्मल राईको नाममा सुनसरीको धरान–८ स्थायी ठेगाना देखाएर वंशजका आधारमा ३२५५६ नम्बरको नागरिकता लिएका थिए। भारतमा पृथकतावादी आन्दोलन गरिरहेका उनले धरान ८ का जगतबहादुर राईलाई बाबु बनाई नागरिकता लिएपछि त्यसैका आधारमा सन् २००८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४१५९३९४ नम्बरको राहदानीसमेत लिएको भेटिएको थियो। २०६७ असार १८ मा काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनी हाल भारतीय जेलमा छन्।
पूर्वमा हरेक वर्ष नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएका भारतीयहरू पक्राउ पर्न थालेका छन्। धरानमा गत वर्ष लागुऔषधको केसमा पक्राउ परेका व्यक्तिबाट समेत नक्कली नागरिकता भेटिएको थियो।
भारतीय सीमा जोडिएका सुनसरी, सप्तरी र झापा जिल्लामा नक्कली विवरण पेश गरेर नागरिकता लिनेहरूको संख्या धेरै हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ। पक्राउ परेका नक्कली नागरिकताधारीको अनुसन्धान गर्दा धरानमा अरू पनि धेरै यस्ता नक्कली विवरण पेश गरी नागरिकता लिनेहरू हुनसक्ने देखिएपछि प्रहरी त्यसतर्फ केन्द्रित भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मुकुन्दप्रसाद रिजालले बताए।
एकपछि अर्को गर्दै नक्कली नागरिकता लिनेहरू पक्राउ पर्न थालेपछि यस्ताको संख्या ठूलो रहेको अनुमान गर्दै प्रहरी अनुसन्धानमा जुटेको रिजाल बताउँछन्। भन्छन्, 'लगातार तेस्रोपटक नक्कली नागरिकता लिने पक्राउ परेपछि अनुसन्धान गर्दा अरू पनि धेरै हुने सम्भावना देखियो।'
स्रोतका अनुसार धरानको पुरानो बजार क्षेत्रमा व्यापार/व्यवसाय गर्ने धेरै भारतीय नागरिकले यसरी नै नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएका छन्। सरकारले नागरिकता शिविर सञ्चालन गरेका बेला धेरै भारतीय नागरिकले गाविस सचिव, दलाल र जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई पैसा खुवाएर नेपाली नागरिकता लिएको पटक–पटक चर्चा हुने गरेको थियो।
प्रकाशित: ३ पुस २०७१ ११:३८ बिहीबार




