नेपाली पौडी र बास्केटलमा चर्चित नाम हो नयना शाक्य। पौडीकी कीर्तिमानी नयनाले बास्केटबलमा आफ्नो सशक्त उपस्थिति जनाउँदै राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन्। तिनै चर्चित नयनाले शुक्रवार बास्केटबल करिअर अन्त्य गरेको घोषणा गरिन्। भावुक हुँदै खेल जीवनबाट सन्न्यास लिएकी नयना एक समय नेपाली पौडीमा सर्वाधिक पदक जित्ने खेलाडी थिइन्।
आफ्नो करिअरमा नयनाले घरेलु पौडीमा एकछत्र राजसमेत गरिन्।सन् १९९९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा नयनाले जितेको स्वर्ण नेपाली पौडीको कीर्तिमान स्वर्ण पदक हो। नयनाले रुना प्रधान, रुविना प्रधान र श्रुति सिंहसँग मिलेर ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन्।
पौडी र बास्केटबलको एसियाली खेलकुद प्रतियोगितामा भाग लिने उनी पहिलो नेपाली खेलाडी हुन्। कानमा इन्फेक्सन भएपछि नयनाले दुई वर्षअघि पौडीबाट सन्न्यास लिएकी थिइन्। पौडीबाट सन्न्यास लिएपछि नयना पछिल्लो समय बास्केटबलमा सक्रिय थिइन्। तर, उनले सन् २००४ देखि नै बास्केटबल प्रतियोगिता खेल्न सुरु गरेकी थिइन्।
शुक्रवार १२औँ प्राइम कप बास्केटबलको फाइनलमा नयनाले बास्केटल करिअरबाट सन्न्यास लिएको घोषणा गरिन्। सन्न्यास लिँदा भावुक बनेकी नयनाले भविष्यमा खेल क्षेत्रमा सक्रिय रहिरहने बताइन्। 'खेलाडीको लागि सन्न्यास लिने निर्णय धेरै कठिन हुन्छ। मेरो अन्तिम प्रतियोगिता जित्न सकिएन। दुःख लागेको छ। तर, मेरो टिमले राम्रो खेल्यो,' उनले भनिन्। बास्केटबल खेलमा लाग्न आफूलाई प्रेरित गर्ने महिला राष्ट्रिय बास्केटबल टोलीका खेलाडी, प्राइम कलेजलाई नयनाले धन्यवाद दिएकी थिइन्।
उनले एक दशकअघि प्राइमबाट बास्केटबल खेल्न सुरु गरेकी थिइन्। सन्न्यास पनि प्राइमबाट लिइन्। प्राइमले ७ राष्ट्रिय घरेलु प्रतियोगिता जित्दा नयना टोलीको मुख्य खेलाडी थिइन्।
तीन अन्तर्राष्ट्रिय बास्केटबल खेलेकी नयनाको १७औँ इन्चोन एसियाड अन्तिम प्रतियोगिता हो। उनले श्रीलंकामा सन् २०११ मा दक्षिण एसियाली बिच बास्केटबल र सन् २०१४ मा भारतमा क्लब च्याम्पियनसिप बास्केटबल खेलेको अनुवभ छ। बिच बास्केटबल र क्लब च्याम्पियनसिपमा नयना महिला टोलीको कप्तान थिइन्।
उनले एक वर्षअघि बास्केटबल प्रशिक्षक विकास शाहीसँग विवाह गरेकी थिइन्। खेल करिअरलाई निरन्तरता दिनमा परिवार र श्रीमान्को सहयोग भएको नयनाले बताइन्। उनले भनिन, 'पौडी खेल्न नमिल्ने भएपछि मलाई भविष्यमा के गर्ने भनेर निर्णय गर्न अप्ठ्यारो भएको थियो। तर, श्रीमान् विकासले बास्केटबल खेल्नमा धेरै सहयोग गर्नु भएको छ। अहिले खेल क्षेत्रमा सक्रिय हुनमा उहाँले हौसला थपिरहनु हुन्छ।'
विकास नयनाले खेल क्षेत्रमा अझै धेरै योगदान दिन सक्ने बताउँछन्। विकासले भने, 'उनले पौडीमा राम्रो सफलता हासिल गरेको थिइन्। बास्केटबल खेल्दा मेहनत गर्ने खेलाडी पनि हुन उनी। सन्न्यास लिएपछि भविष्यमा उसले खेल क्षेत्रको लागि अझ धेरै राम्रो काम गर्न सक्छ।'
१३ वर्षे पौडी खेलाडी करिअरमा चारपल्ट दक्षिण एसियाली खेलकुद खेलेकी नयनाले एथेन्स ओलम्पिक, कोरिया र बैंककमा भएको एसियाली खेलकुद खेलेकी थिइन्। नयना अहिले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत पौडीको सहायक प्रशिक्षक हुन्। अब पौडीमा केन्द्रित भएर काम गर्ने योजना नयनाको छ। उनले भनिन्, 'आफनो जिम्मेवारी पूरा गर्नको लागि सन्न्यास लिएकी हुँ। पौडीमा मैले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाए। अब प्रशिक्षकका रूपमा नेपाललाई थप सफलता दिलाउने छु।'
प्रकाशित: ३ पुस २०७१ ११:०९ बिहीबार





