२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा रंगमञ्चमा बढी सक्रिय थिइन् उनी। उनका केही किताब पनि प्रकाशित छन्। उनीसँग सजना बरालको अन्तरंग कुराकानी :

काठमाडौँकी रैथाने हुनुहुन्छ। यो शहरका अनेक रङ देख्नुभयो है ?
देखेँ। कस्तो थियो यो ठाउँ, कस्तो भइसक्यो। म असनमा जन्मिएकी हुँ। इन्द्रचोकमै हुर्किएँ। पाँच वर्षको उमेरदेखि कलाकारिता सुरु गरेकी थिएँ। त्यो बेला असनबाट घ्वाइँकासा (एक खुट्टी) खेल्दै सिंहदरबार पुग्थेँ। कति खुल्ला थियो शहर। अहिले त बाहिर निस्किनै नसकिने भएको छ। जताततै कोलाहल छ।
 
असनका डबलीमा पनि अभिनय गर्नुभयो ?
त्यो बेला डबलीबाटै कलाकारिता सुरु गर्नुपर्थ्यो। मञ्च, रंगमञ्च त्यति थिएनन्। मैले प्रस्तुति दिएका डबलीमा अहिले तरकारी बेचिन्छन्। कतै लुगापसल थापिएको छ। यिनमा कार्यक्रम गरिन्थ्यो भन्ने त सपनाजस्तो लाग्छ अहिले। कतिपय डबलीमाथि घर बनिसके। काल, जमाना फेरियो। शहरको रूपरङ पनि सबै बदलिसक्यो।
 
कला क्षेत्रमा चाहिँ कत्तिको परिवर्तन आएको छ ?
धेरै आएको छ। पहिलेको र अहिलेको माहोल नै बेग्लै छ। दश/पन्ध्र वर्षयता त आमूल परिवर्तन भएको छ। यो क्रम चलिरहन्छ। फिल्म क्षेत्रमा ट्र्याक फेरिनु स्वाभाविक कुरा हो।
 
के गर्दै हुनुहुन्छ अचेल?
फाट्टफुट्ट फिल्म खेल्दै छु। कार्यक्रममा अतिथि बन्न बोलाउँछन्। गइदिन्छु। व्यावसायिकभन्दा पारिवारिक काममा बढी सक्रिय छु।
 
व्यावसायिक जीवनमा चाहिँ बुढेसकाल लागेको हो ?
कला क्षेत्रमा लागेकालाई बुढेसकाल लाग्दैन। अझ, चरित्र अभिनय गर्नेहरूलाई उमेरले छेक्दैन। उमेरअनुसारको रोल पाइरहिन्छ। मैले दिदीको रोलबाट अभिनय यात्रा थालेकी थिएँ। बीचमा बुहारी, काकी, भाउजू, माइजू, आमा हुँदै अहिले हजुरआमाको रोलमा आइपुगेकी छु। बढी चाहिँ आमा नै भएँ। हजुरआमा भएर काम गरेका केही फिल्म बाहिर आइसके, कुनै आउने क्रममा छन्। तर, अहिले त्यतिविघ्न फिल्म खेल्दिनँ। हामी पहिलेका मान्छेलाई अहिले फिल्म खेल्ने माहोल मिलिरहेको छैन। यो परिवर्तित माहोलमा भिज्न अलि गाह्रो छ।
 
किन त्यस्तो ?
पुरानै चालचलनमा भिजेका मान्छे हौँ हामी। तिनै तरिका सजिला लाग्थे। अहिले सबथोकमा परिवर्तन आएको छ। कथावस्तु, प्रविधि, टिम सबै नौला छन्। हाम्रो पालामा फिल्म क्षेत्रमा पनि पारिवारिक माहोल हुन्थ्यो। ठूलालाई आदर, सानालाई प्रोत्साहन गर्ने गर्थ्यौँ। अहिले त्यस्तो छैन। अहिले त नमस्कारसमेत 'कमर्सियल' भएको छ। कोही–कोही भाइबहिनी एकदम ठाडो, रुखो पारामा 'नमस्ते है दिदी' भन्दै जान्छन्। तिनमा आत्मीयता हुँदैन। तर, सबै उस्तै छन् भनेकी होइन। कतिपय चाहिँ असल पनि छन्।
 
सधैँ चरित्र–अभिनयमात्रै गर्नुभयो। 'हिरोइन' हुन मन लागेन कहिल्यै ?
आम मान्छेले बुझेको 'हिरोइन' चाहिँ हुन मन लागेन। तर, मैले कथाकी हिरोइन भएर धेरै काम गरेकी छु। यहाँ हिरोइन भनेको चिटिक्क परेर हिरोसँग नाच्ने महिलालाई बुझिन्छ। त्यो अल्प–बुझाइ हो।
 
आम मान्छेले बुझेको हिरोइन चाहिँ किन नबन्नुभएको?
मन लागेन। सत्र वर्षकै उमेरमा मेरो बिहे भयो। बुहारी भइसकेपछि अलि सौम्य हुनुपर्‍यो। फेरि, अहिले हो र? २०१८ सालको कुरा ! त्यो बेला बुहारीमाथि बन्देजै–बन्देज थिए। प्यान्ट लाउन त पाइँदैनथ्यो। फिल्म क्षेत्रमा लाग्नु त विद्रोह नै गरेसरह थियो। मैले पनि सामाजिक रूपमा विद्रोह गरेकी थिएँ, फिल्म खेलेर। बाटोमा हिँड्दा कति गाली खाइयो। कतिले खिसी गरे। कतिले जिस्क्याए। तर, परिवारको सहयोग राम्रै थियो। मलाई फिल्ममा अभिनेत्री भएर हिरोसँग नाच्न मन लागेन। चाहँदै चाहिनँ।
 
चाँडै बिहे भएकाले गाह्रो भएको थियो कि ?
मेरो श्रीमान् पनि कलाकारै हुनुहुन्थ्यो। तर, सासू–ससुरा, जेठाजु कलाकार हुँदैन रैछन् ! ससुरा त साह्रै कडा हुनुहुन्थ्यो। उहाँकै डरले हामीले बिहेपछिका दुई वर्ष अभिनयबाट टाढिनुपर्‍यो। प्रज्ञा–प्रतिष्ठानले त्रिवर्षीय योजनाअनुरूप कलाकारिता तालिम दिएको थियो। जेठाजुले ससुरालाई सम्झाइदिनु भएकाले त्यो तालिम लिन पायौँ। तालिम सकिनासाथ ससुराज्यूले 'अब सबैथोक जानिहाल्यौ, अभिनय गरिरहनु पर्दैन, घरमै बस्नू' भन्नुभयो। दोहोरो कुरा गर्ने हिम्मत थिएन। दुई वर्ष चुपचाप बसेँ। पछि उहाँले नै नाचघरमा जागिर खाने अनुमति दिनुभयो। बिग्रिने मान्छे सात ताल्चा थुनेर राखे पनि बिग्रिन्छ, नबिग्रिनेलाई जतिसुकै खुल्ला छोडे पनि बिग्रिन्न भन्ने ज्ञान भएछ उहाँलाई। त्यसैले मेरो अभिनय यात्रा पुनः सुचारु भयो। चाँडो बिहे भएकाले मलाई गाह्रो/सजिलो दुवै भयो।
 
कति पढ्नुभएको छ ?
मैले २००९ सालदेखि रंगमञ्चमा पाइला टेकेकी हुँ। २०१० मा ६ वर्षकी भएपछि मात्रै स्कुलले भर्ना लियो। एकेडेमिक पढाइभन्दा रंगमञ्चको पढाइ पहिले सुरु गरेकाले होला, रंगमञ्चमै बढी रस बस्यो। एकेडेमिक पढाइमा एसएलसी पास गरेकी छु। पढाइभन्दा कलाकारितामा बढी ध्यान गयो। हिसाबका अंक केलाउनुभन्दा तबलाका ताल सिक्न रमाउथेँ। जता इच्छा, उतैतिर बढी लागियो। फेरि, मेरो बानी कस्तो छ भने, जुन चिजमा लागिपर्छु, त्यसमा तैरिनमात्रै सक्दिनँ, भित्र, गहिराइसम्म पुग्न मन लाग्छ। अभिनयमा पनि डुबेरै लागेँ। सक्दो गरेँ।
 
थोरै पढे पनि किताब लेख्दिनुभयो...
थप पढेको भए मेरो लेखाइ झनै राम्रो हुन्थ्यो होला। पढाइले लेखनशैली बलियो बनाउँछ। मेरो लेखाइ सपाट छ। शैली पनि सरल छ। तर, 'एकपांग्रे रथ' र 'जीवनगाथा' मेरा अनुभवका संग्रह हुन्। अनुभव पोख्नलाई साहित्य छाँटिरहनु पर्दैन। 'जब सूर्यको लालीले मेरो कोठाको झ्यालमा स्पर्श गर्‍यो र शीतका थोपा विलय भए, तब मात्रै मेरो निद्रा खुल्यो...' शैलीमा लेख्नुपर्दैन अनुभव। 'बिहान घाम लागिसकेपछिमात्रै म ब्युँझिएँ' लेखे भै'गो। मैले साधारण शैलीमा, एकदम इमानदार भएर लेखेकी छु। बढाइचढाइ गरेकी छैन।
 
अब लेखनतिरै लाग्ने सोच हो ?
अब लेख्दिनँ होला। आफ्नाबारे लेखिसकेँ। अब लेख्दा मैले झुट नै लेख्नुपर्छ। मेरो लेखाइ काल्पनिक हुन जान्छ। अचेल पठनमा बढी मन गइरहेको छ। जीवनीहरू पढ्दै छु। यी जीवनी पहिले नै पढ्नुपर्ने रहेछजस्तो लागिरहेको छ। पढेर लेखेको भए अझै राम्रो लेख्ने थिएँ भन्ने लाग्यो। तर, अर्को मनले भन्छ, पढेर लेखेको भए म स्वाभाविक हुँदिन थिएँ। पढाइको छाया मेरो लेखाइमा पर्थ्यो। अमिन पाण्डे, राजु खरेल, प्रकाश श्रेष्ठ, रचना लामा आदिले मेरो किताब तयार पार्न धेरै सघाए।
 
अहिले बनिरहेका फिल्म कत्तिको हेर्नुहुन्छ ?
असाध्यै कम। म आफ्नै फिल्म त खासै हेर्दिनँ। पछिल्लो पटक हलमा गएर हेरेको फिल्म 'मसान' हो, २०६८ सालमा। डबिङ गर्दा हेरिएकै हुन्छ। फेरि, किन दु–दुई घण्टा मेचमा बसेर हेरिहनुपर्‍यो? भन्ने लाग्छ। अर्को कुरा, म आफूलाई पर्दामा हेर्न सक्दिनँ। लाज लाग्छ। फिल्ममा आफूलाई साह्रै नमिलेको देख्छु। जताततै कमी महसुस हुन्छ। र, आफूलाई धमिलो देख्न थाल्छु। त्यसैले हलमा फिल्म हेर्नै जान्नँ।
 
अरूका फिल्म नि ?
अरूका फिल्म पनि हेर्दिनँ। फिल्म क्षेत्रका प्रायः सबैसँग काम गरिसकेकी छु। कसले कति गर्न सक्छ, थाहा छँदै छ। टीभीमा प्रोमो आइहाल्छ। त्यति हेरेपछि पुग्छ मलाई। कतिले प्रिमियर शोमा बोलाउँछन्। कुनै–कुनैमा मात्रै जान्छु।
 
रंगमञ्चमा बढी काम गर्नुभयो। अहिलेको रंगमञ्चलाई कसरी हेर्दै हुनुहुन्छ ?
बीचमा एकचोटि रंगमञ्च सेलायो। अहिले फेरि जुर्मुराएको छ। रंगमञ्चसँगै कलाकारिता पनि राम्रो हुँदै छ। यो अझै राम्रो हुनेछ भन्नेमा आशावादी छु।

प्रकाशित: २७ मंसिर २०७१ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App