उल्लेखित ठाउँमा पर्यटक चहलपहल हुन्छ। म्याग्दीमा अरू थुप्रै सुन्दर गन्तव्य छन्। त्यस्तै एउटा ठाउँ हो– मोहरे डाँडा।
पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनात्मक गतिविधिको पर्खाइमा छ राम्चे गाविसको मोहरे। एकै स्थानबाट हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिने मोहरेले मोहनी लगाउँछ।

मोहरे (३,००० मिटर) बाट सिस्नेदेखि मनास्लुसम्मका ३० हिमटाकुरा देखिन्छ। पश्चिममा देखिने सिस्ने हिमालमा परेको नजर पूर्वको मनास्लुमा नपुग्दासम्म आँखा झिम्क्याउन मन मान्दैन। सिस्ने, गुर्जा, धौलागिरि पहिलो, दोस्रो, तेस्रो, टुकुचे, निलगिरि, अन्नपूर्ण पहिलो, दोस्रो, माछापुच्छ्रे हुँदै मनास्लुसम्मका हिमशृंखलाको मोहरेडाडाँको पृष्ठभूमिमा देखिने दृश्यमा प्रकृतिले दन्तलहर खोलेको अनुभव हुन्छ।
यतिमा मात्रै मोहरेको सौन्दर्य सीमित छैन। आँखैअगाडि हिमालका चुचुरामा एकाबिहानै देखा पर्ने रातो लाली र झुल्कँदो सूर्योदयको दृश्य यहाँको थप आकर्षण हो। हिमालका टाकुरामा सूर्योदय हुँदा चौबीस क्यारेटको सुन टल्किएझैं देखिन्छ। पूर्वबाट उदाउँदो सूर्यको किरण हिमालमा टल्किएको दृश्यलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउने मात्र होइन मौसमले साथ दिए पश्चिमको सूर्यास्त देख्न सकिन्छ।
मोहरेले सिजनअनुसार फेर्ने रूपले पनि प्रकृति पारखीलाई आकर्षित गर्छ। चारैतिर पहाडका घाँस सुक्दा र बिरुवाको पात झर्दा हिउँदमा नांगिने मोहरेदेखि तलका पाखाहरू चैत, वैशाख महिनाको वसन्त ऋतुमा लालीगुरासँले रंगिन्छन् भने बर्खामा हरियाली छाउँछ। पुस र माघमा सेताम्मे हिमले ढाकिने मोहरेमा अन्य समयमा पनि चिसोले लुगलुग शरीर कमाए पनि प्रकृतिसँग रमाउन पाउँदा मन फुरुङ्ङ हुन्छ।

रातमा पर्यटकीय नगरी पोखराको झिलीमिली र पोखरा–बागलुङ राजमार्गको नाउडाँडा खण्डमा गुडिरहेका सवारी साधनको प्रकाशले एकान्त वातावरणको मोहरेले मोहित बनाएको भान हुन्छ। यहाँबाट म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला टाकुरा अवलोकन गर्न सकिन्छ।
पंक्षीहरूको चिरबिरमा रमाउँदै गुराँस, सल्ला, धुपी, खर्सुलगायत उच्च पहाडी भूगोलमा पाइने प्रायजसो वनस्पति र जडिबुटीका बोटबिरुवा हेर्न सकिन्छ। कात्तिक पहिलो साता मोहरेमा भेटिएका नेदरल्यान्डका एभेक न्यवरसिसीले यहाँको दृश्य र प्राकृतिक सौन्दर्यले मानसपटलमा कहिल्यै बिर्सन नसकिने छाप पारेको अनुभव सुनाउँदै थिए।
पेसाले इन्जिनियर एभेक श्रीमतीसँगै छुट्टी मनाउन अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको मुख्य आकर्षण मोहरे डाँडा आइपुगेका थिए। एभेककी श्रीमती मिजा लिजनहोरस्टले सूर्योदय, हिमशृंखला र पहाडी भूगोलको मनमोहक दृश्यावलोकन गर्न पाएकोमा प्रफुल्लित भएको प्रतिक्रिया दिइन्।

मानव बस्तीदेखि टाढाको मोहरेडाँडा आसपास रहेका पशुगोठ, जैवीक विविधताको अवलोकनसँगै चराको चिरबिर आवाज सुन्दै पदयात्रा गर्न पाउनु सौभाग्य भएको उनीहरूले बताए।
सामाजिक कार्यकर्ता महावीर पुनले म्याग्दी र आसपास बेतारे इन्टरनेट सञ्जाल फिजाउन मोहरेडाँडामा रिपिटर टावर राखेका छन्। उनले पोखराको टावरसँग मोहरेमा रहेको टावरमार्फत कनेक्सन गराएका छन्।
पहिले धुपीको टुप्पोमा राखिएका उपकरण अचेल फलामको आधुनिक टावर बनाएर राखिएको छ। सन् २००७ मा एसियाको नोबेल पुरस्कारसरह मानिने रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित पुनले बेतारे इन्टरनेट विस्तार गर्न मोहरेमा धेरै समय संघर्ष गरेका छन्।
एक दशकदेखि हजारौं रात मोहरेमा एक्लै कटाएर महावीरलाई सघाउँदै आएका राम्चेका गम पुनका अनुसार मोहरेमा प्रकृतिको अध्ययन गर्नमात्र नभई महावीरको काम अवलोकन गर्नेहरूका लागि पनि महत्वपूर्ण स्थल हुन सक्छ।
दुर्गम भए पनि मोहरेडाडाँमा सहरी क्षेत्रमा जस्तै तीव्र गतिको इन्टरनेट सुविधा निशुल्क उपलब्ध छ। अग्लो डाडाँमा अवस्थित भएका कारण मोहरेबाट मोबाइलमा पनि कुरा गर्न सकिन्छ। मोहरेलाई पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग सञ्चालन गरिएको छ।
म्याग्दी र पर्वतका ग्रामीण बस्तीलाई समेटेर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित लद्युउद्यम विकास कार्यक्रममार्फत सन् २०११ मा सञ्चालनमा ल्याइएको यस पदमार्गको मुख्य गन्तव्य मोहरेडाडाँ नै हो।
म्याग्दीको पिप्ले घुमाउनेताल, पर्वतको बाँसखर्क, डाडाँकटेरी, म्याग्दीको नांगी, लेकफाँटको हप्पालडाँडा, मोहरेडाँडा, हिस्तानको फूलबारी, टिकोट, खिवाङ र भुरुङ तातोपानीलाई समेटिएको यो पदमार्ग घुम्न बढीमा सात दिन लाग्छ।
यो पदमार्ग भएर मोहरे पुग्न तीन दिन हिँड्नुपर्छ। स्थानीयले प्रयोग गर्ने पुरानो छोटो बाटो प्रयोग गरेर बेनी, पर्वतको लेकफाँट र कास्कीको उल्लेरी हुँदै एकै दिनमा पुग्न सकिने मोहरेडाडाँमा अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोरेपानीबाट चार घन्टा तेर्सो बाटो हिँडेर पनि जान सकिन्छ।
मोहरेमा कार्यक्रमको सहयोगमा भवन निर्माण गरी २० बेड क्षमताको सामुदायिक लज सञ्चालन गरिएको छ। पदमार्गका सबै ठाउँमा सामुदायिक लज, होमस्टे, चिया पसल र विश्राम स्थलको सुविधा छ। एक दिनमा एक ठाउँमा २० जनामात्र बास बस्न सक्ने क्षमता छ।
समुदायले सञ्चालन गरेको पदमार्गको आम्दानी पनि विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण तथा प्रवर्द्धनात्मक त्रियाकलापमा खर्च गरिन्छ।
पदमार्गमा स्थानीय खानाका परिकारको स्वाद पाइन्छ। त्यहाँका लज र होमस्टेमा प्रयोग गरिने तरकारी स्थानीय स्तरमै जैविक प्रविधिबाट उत्पादित हुन्छन्।
प्रशस्त आकर्षण र सम्भावना भए पनि हाल वर्षमा मुस्किलले दुई सयको हाराहारीमा पर्यटक मोहरेडाँडा भ्रमणमा आउने गरेको मोहरे सामुदायिक लजका व्यवस्थापक गम पुनले बताए। प्रचारप्रसार, व्यवस्थित पदमार्ग र पर्याप्त पूर्वाधारको अभावका कारण सम्भावना भएर पनि मोहरेडाँडामा पुग्ने पर्यटकको संख्या कम भएको हो।
यस क्षेत्रको सौन्दर्य, पर्यटकीय महत्व र आकर्षणबारे प्रचारप्रसार गर्न आवश्यक रहेको रोयल माउन्टेन ट्राभलका पथ प्रर्दशक सञ्जय लामा बताउँछन्। व्यवस्थित पदमार्ग निर्माण र जंगल क्षेत्र भएकाले पदचिह्न बनाउने कामलाई पनि प्राथमिकता दिनुपर्ने उनले सुझाए।
नेपालमै नमुनाको रूपमा समुदायद्वारा सञ्चालित अन्नपूर्ण धौलागिरि पर्यावरणीय सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाडाँको पर्यटन विकासका लागि सक्रिय भएका स्थानीयवासी सरकारी निकायबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्छन्।
प्रकाशित: २७ मंसिर २०७१ ००:१९ शनिबार





