२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

‘जीवन स्वयं एक अनुष्ठान : सर्वज्ञमान’

एक शताब्दी लामो जीवन जो कोहीलाई प्राप्त हुँदैन। सय वर्ष बाँच्नु र क्रियाशीलतापूर्वक बाँच्नु आफैंमा एक कीर्तिमान हो। पोखरेली सांस्कृतिक वाङ्मयका एक धरोहर सर्वज्ञमान प्रधानाङ्ग सय वर्ष लामो जीवन बाँचेर २०७१ मंसिर १३ गते देहमुक्त हुनुभयो। साायद जीवनलाई अवसरका रूपमा ग्रहण गर्दै प्रत्येक दिन क्रियाशीलतापूर्वक बाँच्नेहरूले नै लामो आयु पाउँछन्। सर्वज्ञमानले त्यस्तै लामो आयु पाउनुभयो। जीवनका नाममा पाएको सय वर्ष पनि उहाँलाई कम लाग्थ्यो र भन्नुहुन्थ्यो– म एक सय दस वर्ष बाँच्छु।मान्छे आफ्नो जन्म र मृत्यु रोज्न स्वतन्त्र छैन। त्यो स्वतन्त्रता उहाँलाई पनि प्राप्त भएन।
पोखराको प्रसिद्ध भैरव नृत्य सञ्चालनमा पोखरेली नेवार समुदाय झन्डै २४० वर्ष अघिदेखि संलग्न हुँदै आएको छ। साहित्यकार जगदीशसमशेर राणाले ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तकमा ‘भक्तपुरका अन्तिम राजा रत्न मल्ल (रणजीत मल्ल) ले आफ्ना मीत पृथ्वीनारायण शाहलाई पोखरामा भेट्न जाँदा कोसेलीस्वरूप भैरव नृत्य लगेको र त्यो अहिले पनि पोखरामा जीवित छ’ भनेर उल्लेख गरेका छन्। यसलाई पुष्टि गर्ने प्रमाण खासै नभए पनि भैरव नृत्यमा गाइने रागमा भक्तपुरका राजना रणजीत मल्लको नाम उल्लेख भएबाट राजा रणजीत मल्लकै पालमा यो नृत्य पोखरा पुगेको अनुमान गर्न सकिन्छ। 
सर्वज्ञमानका जिजु हजुरबुवा राजमान मल्ल विसं १८३५ मा भक्तपुरवाट लमजुङको धमिलीकुवा हुँदै पोखरा आएको भनी आफ्नो वंशवृक्षसम्बन्धी एक टिपोटमा सर्वज्ञमानले लेख्नुभएको छ। यसरी हेर्दा राजमान मल्लको पोखरा आगमन र भैरव नृत्यको पोखरा आगमन सँगसँगै जस्तो भएको देखिन्छ। राजमान मल्लको समयदेखि नै उहाँको पारिवारिक संलग्नता भैरव नृत्यमा भएको चर्चा उहाँले गर्नुहुन्थ्यो। भैरव नृत्यमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले बसाएको नेवार बस्ती (हालको बिन्ध्यवासिनीदेखि तेर्सापट्टिसम्म) छब्बीस कुरियाका सबै नेवारको कुनै न कुनै रूपमा सहभागिता रहेको सहजै अनुमान गर्न सकिन्छ। त्यसैले उहाँको पारिवारिक संलग्नताको उहाँको दाबी साँचो नै देखिन्छ।
सर्वज्ञमानले पिता चतुरमानकै औंला समातेर यो नृत्यमा आफ्नो संलग्नताको आरम्भ गर्नुभयो। उहाँका पिता चतुरमान प्रसिद्ध व्यक्तित्व हुनुहुन्थ्यो। तान्त्रिकका रूपमा समेत चतुरमानको प्रसिद्धि थियो। आफ्नो पिताकै जीवनकालबाट भैरव नृत्यमा संलग्न सर्वज्ञमानले अविचलित रूपमा यो जीवन्त सांस्कृतिक सम्पदाको संरक्षणमा जीवन समर्पण गर्नुभयो। यो नृत्य प्रदर्शनमा आजीवन योगदान पुर्याृउनेको संख्या ठूलै छ। तर, यसको नेतृत्व भने सर्वज्ञमानकै रह्यो। यस अर्थमा भैरव नृत्य भन्नासाथ सर्वज्ञमानको र सर्वज्ञमान भन्नासाथ भैरव नृत्यको सम्झना हुन्छ।
भक्तपुरको भैल प्याखं (भैरव नृत्य) को परिमार्जित रूप पोखराको भैरव नृत्य हो भन्न सकिन्छ। यो नृत्यमा १२ जना नर्तक, १२ जना नर्तकका सहयोगी वाद्यवादक, गायक र अन्य सहयोगी गरेर एक प्रदर्शनमा घटीमा पनि ५० जनाको सहभागिता चाहिन्छ। यी सबैको संयोजन गरेर अनुशासित र मर्यादित रूपमा झन्डै छ घन्टासम्म नृत्य प्रदर्शन गर्नु त्यति सहज विषय होइन। नृत्य प्रदर्शनपूर्व एक महिना लामो नृत्य प्रशिक्षण, वाद्यवादनको पूर्वाभ्यास र गायनको पूर्वाभ्यास सजिलो विषय पक्कै होइन। धार्मिक आस्था र सांस्कृतिक अभिरुचिका कारण यो नृत्य प्रदर्शनले कहिल्यै खासै ठूलो विवादको सामना गर्नुपरेको छैन। नेतृत्व क्षमताको अभावमा यसको व्यवस्थापन सम्भव छैन। सर्वज्ञमान प्रधानाङ्गले गुरु, वाद्यवादक, गायक र भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्षका रूपमा आफ्नो सामर्थ्य देखाउनुभयो। उहाँका सहयोगीहरूको निस्वार्थ सहयोगको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रह्यो।
भैरव सांस्कृतिक संरक्षण समितिको भवन निर्माणमा उहाँले आफ्नो परिचयको व्यापक उपयोगका साथै अथक परिश्रम गर्नुभयो। भैरव नृत्यसँग उहाँको अटुट सम्बन्ध रहे पनि समाजका अन्य क्षेत्रप्रति उहाँ कहिल्यै उदासीन हुनुभएन। तायमता नृत्य र बाघ जात्राको आयोजनामा समेत उहाँको महत्वपूर्ण योगदान छ। प्रजातन्त्र प्राप्तिको संघर्षमा होस् या पुनर्स्थापनाको संघर्षमा उहाँ सधंै प्रत्यक्ष र परोक्ष रूपमा संलग्न हुनुभयो। आजीवन प्रजातान्त्रिक मूल्य मान्यतामा अविचल दृढ सर्वज्ञमान पोखरेली प्रजातन्त्रवादीका लागि श्रद्धाको पात्र हुनुहुन्थ्यो। जीविकाका लागि व्यापारमा संलग्न उहाँ पोखरा उद्योग वाणिज्य संघ (तत्कालीन पोखरा व्यापार संघ) को संस्थापक कोषाध्यक्ष र २०१५–२०१७ एक कार्यकाल अध्यक्ष पनि हुनुभयो। 
शास्त्रीय र भक्ति संगीतमा उहाँको गहन अभिरुचि थियो। प्रसिद्ध संगीतज्ञ टिएन राणा जो पोखरामा हरिराजा नामले प्रसिद्ध हुनुहुन्थ्यो। उहाँले तिनै राणाबाट शास्त्रीय संगीत सिक्नुभयो। र, धेरैलाई शास्त्रीय संगीतको प्रारम्भिक ज्ञान प्रदान गर्नुभयो। परम्परागत भजनलाई जीवन्त राख्न उहाँले अत्यन्त परिश्रम गर्नुभयो। भैरव मन्दिरको सिरान तलामा नियमित भजन गर्न रुचाउने उहाँले आफ्ना सहयोगीका साथ बेनी, बागलुङ, गोर्खा, पाटनलगायतका स्थानमा भजन गायन कार्यक्रम पनि गर्नुभयो। नेवाः खलः कास्कीको संस्थापक अध्यक्षका रूपमा कस्केली नेवारलाई संगठित गर्ने र नेवारी संस्कृतिको संरक्षणमा जागरण पैदा गर्ने काम उहाँबाट भयो। नेवार कन्याहरूको बेल विवाह (इहिं यक्ष) को आयोजनामा समेत उहाँको नेतृत्वदायी भूमिका थियो।
संस्कृति र संगीत क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले उहाँले आफ्नो र आफ्नी दिवंगत पत्नीको नाममा ‘सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार’को स्थापना गर्नुभयो। स्थानीय स्तरबाट सुरुवात गरिएको यो पुरस्कार राष्ट्रिय स्तरको बनेको छ। राष्ट्रिय स्तरको बनाइएपछि यस पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशी, गायक फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधान सम्मानित भइसक्नुभएको छ।
सर्वज्ञमान प्रधानाङ्गले धेरै ठाउँमा आर्थिक सहयोग पनि गर्नुभएको छ। तर आफूले सहयोग गरेको कुराको चर्चा उहाँले कहिल्यै गर्नुभएन। बिन्ध्यवासिनी मन्दिरमा पित्तलको ढोका उहाँकै सहयोगमा निर्माण भएको हो। यस्ता धेरै सहयोग उहाँले गर्नुभयो। शिरोमणि पुरस्कार, कुमुदिनी कला साहित्य पुरस्कार जस्ता पुरस्कार, सम्मान र अभिनन्दन उहाँले प्राप्त गर्नुभयो। २०७० मा पोखराका १० संस्थाको संयुक्त आयोजनामा उहाँको शत्शुभ जन्मोत्सवमा विभिन्न सांस्कृतिक झाँकीसहितको रथारोहण र अभिनन्दन भएको थियो। पोखरेलीहरूले आफ्नो सांस्कृतिक नायकका प्रति अभूतपूर्व सम्मान प्रकट गरेका थिए।
प्राकृतिक रूपले सुन्दर पोखरालाई सांस्कृतिक रूपले सम्पन्न बनाउन दृढ निश्चयका साथ जीवन समर्पण गर्नेहरूको प्रथम पंक्तिमा आउँछ, सर्वज्ञमानको नाम। संस्कृति संरक्षणका लागि सहयोग गर्न जसको अगाडि पनि हात पसार्न र जोड्न उहाँले कहिल्यै हिचकिचाउनुभएन। कर्मले पहाड बनिसकेको व्यक्तित्वको यो विचित्रको विनम्रताका पछाडि संस्कृतिप्रतिको मोह नै प्रमुख कारक हुनुपर्छ। आफूलाई सही लागेको कुरामा अडान राख्ने उहाँको स्वभावलाई कतिले जिद्दीका रूपमा पनि लिए। सम्झाएपछि पग्लिने तरल व्यक्तित्व पनि थियो उहाँमा। त्यसैले उहाँको यो तरलता धेरैको दृष्टिमा परेन। दीर्घायु भएकै कारण पछिसम्म उहाँका समवयी मित्रहरूको साथ पाउन उहाँलाई सम्भव थिएन। तर आफ्ना अनुजहरूसँग मनको कुरा साट्न र सहयात्राका लागि नै उहाँको ज्येष्ठता कहिल्यै बाधक भएन। 
नेपालमा मल्लहरूकै शासन रहिरहेको भए राजा हुने रोलक्रममा उहाँ पर्नुहुन्थ्यो कि हुन्थेन थाहा छैन। तर शासक वर्गमा पाइने केही स्वभाव उहाँमा पनि थियो। आदेशात्मक र समन्वयात्मक दुवै चरित्रको एकसाथ निर्वाह सहज कुरा होइन। तर सर्वज्ञमानका हकमा सहज थियो। व्यापक सम्पर्क र सम्पर्कको आवश्यकताअनुरूपको उपयोग गर्ने कुरामा उहाँ दक्ष हुनुहुन्थ्यो। बेला–मौकामा घरमा खानपिनका लागि केही निश्चित मान्छेलाई उहाँले बोलाउने गर्नुहुन्थ्यो। ९० वर्ष नाघिसकेपछि पनि उहाँले यस्ता आत्मीय भेटघाटको आयोजना गर्नुभयो। यस्ता आयोजनामार्फत आफ्नो विचार अभिव्यक्त गर्ने उहाँको स्वभाव थियो। मधुपानको लत उहाँमा थिएन तर यस्ता आत्मीय आयोजनामा पिउनेहरूलाई पिलाएर मजा लिनुहुन्थ्यो। तर ह्विस्कीमा पानी मिलाएर खानेहरूलाई पानी मिलाएर पिउनेले रक्सीको वास्तविक स्वाद पाउन सक्दैन भनेर मधु व्यंग्य कस्नचाहिँ बाँकी राख्नुहुन्थेन। पूर्ण रूपले रसिक नभए पनि उहाँमा रसिक स्वभाव भने बेलाबेला देखिन्थ्यो।
सर्वज्ञमान पोखरेली सांस्कृतिक वाङ्मयका एक प्रेरणा पुरुष पनि हुनुहुन्थ्यो। सबैलाई घचघच्याउने र ब्युँझाउन सधैं प्रयत्नशील उहाँ स्वयं एउटा जागरण गीतझंै हुनुहुन्थ्यो। एक शताब्दी लामो जीवन बाँचेर हामीबाट बिदा हुनुभएका उहाँ कमजोरीसहित हुनुहुन्थ्यो। चन्द्रमामा धेरै खाल्टाखुल्टी छन् तर चन्द्रमाको परिचय शीतल प्रकाशद्वारा निर्मित छ। त्यसरी नै सर्वज्ञमानको परिचय संस्कृतिका लागि उहाँले जीवनभर गर्नुभएको सत्कर्मले बनेको छ। 
पोखरेली सांस्कृतिक वाङ्मयका शिखर पुरुष सर्वज्ञमान चीरकाल पर्यन्त आफ्ना सत्कर्मका कारण श्रद्धाका साथ स्मरण गरिने नाम बनेको छ। श्रद्धेय सर्वज्ञमानप्रति हार्दिक श्रद्धाञ्जली। 

(कवि श्रेष्ठ संस्कृतिकर्मी पनि हुन्।)

प्रकाशित: २७ मंसिर २०७१ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App