कविता जबजब आकाशलाई कुम्ल्याएर गंगा सागरमा चोपलिदिन्छ, आकाश पखालिन्छन्। आकाश जबजब सागरमा हुँडुलिकन्छन् डुबुल्किन्छन् चुर्लुम्मै। आकाश कठै फर्कन्नन् अन्तरिक्षमा रित्तो निस्तो। ऊ फर्कन्छ, कणकण पानीलाई हुस्सु र कुइरो साथै अँगालेर। कुइरो र हुस्सु आकाशको सहवरण गरेका साथ संगतका साथी बन्छन् र भइदिन्छन्। आकाशले सहवरण गरेका हुस्सु र कुइरो रूपान्तरित भइदिन्छन् बादलमा। बादल अन्तरीक्षमा भ्रमण गर्दछन् ऊ फेरि फर्कन चाहन्छन् धर्तीमै। फर्कन्छन् जब माइतीघर, बर्साद बनी झर्छन्। मानो वर्षा त आकाशगंगाको आगमनका भरेङ हुन्। एस्केलेटर हुन्। पानी सागरदेखि आकाशसम्म कुइरो, हुस्सु र बादल मार्गबाट ओहोरदोहोर गर्छन्। मानो बादलहरू त आकाशको अभिसार भर्ने रज्जुमार्ग हुन् विज्ञानसम्मत। त्यसैले होला पूर्वीय दर्शन अम्बरलाई पुरुष अनि अवनीलाई अब्बल नारी!
यी हुन् यात्रामय जीवनका कविता यात्राका अलिकति अनुभूति, अलिकति अनुराग जीवन सुहाग। कविता जीवन यात्रा बन्छ। यात्रामय जीवनको यात्रा– जीवनमय। कविता त्यसैले जीवन समय बन्छ। समय जीवनसित सलबलाइदिन्छ। अनि समयलाइ छोइदिन्छ कविताले। कविता समय र समय कविता बन्न पुग्छ। कविता समकालीन बन्छ। समकालीनता कवितामा झल्किन्छ। मानो कविता पाठकका प्रतिनिधि भाग धाराका सांसद हुन्। कविता ओकल्न पुग्छन्। सिन्धुपाल्चोक मांखा भीर पहिरो बगेको जंगल फाँडेर भूक्षय निम्ताएको दुर्दशाहरू अलाप्छन् कविता। सुनकोसी जलविद्युत केन्द्र पुरिएको अध्याँराका बखान बोल्छन् कविता। कविता समयसापेक्ष आरोह–अवरोह र उत्तरचढावका भीरपाखा उक्लन्छन् वर्लन्छन्। कविता दर्दनाक दु:खका दारुण क्रन्दन चित्कार्छन्। दुत्कार्छन कविता दुष्कर्म काण्डका घृणित कुत्सितताहरूलाई सहज। कविता कर्म बनिदिन्छ। सत्कर्म वाचन गर्छन्। कविता सञ्चार गर्छन् यान्त्रिक जीवनका स्वार्थपरक कुटिलताहरूका पर्दा उघारी। यस्ता पर्दा उघ्राइ बन्छ चेतना दृष्टि दूर दिगन्तसम्मका सम्प्रेषण।
आक्रोशहरू बोक्छन् कविता तत्क्षण। उसलाई छेकछाक मन पर्दैन। छेकछाक कविता आक्रोशित भाषा बोल्छ। भूपिलाई एकपटक २०१९ सालतिर सायद सिंहदरबारमा मयलपोस सुरुवाल र टोपीविना छिर्नबाट रोकिएथे। विचरा शेरचनका सिंह भूपि गर्जेथे– ‘तेरो राष्ट्रियतालाई इँजारले बाँधिराख तेरो राष्ट्रियतालाई टोपीले छोपिराख।'
आक्रोशभित्र सांस्कृतिक परिदृश्य भूपिका कविताले ओकलिदियो। कविता हुँकारमय चेतावनी पनि बन्छ। कविताको हुँकार नारा घन्किन्न। कविता नारा होइन, हुन सकोइन पनि। नारावादी कविता राजनीतिक दंश बन्छ– आक्षेप, आक्रान्त, सीमाहिन खुलुताग्रष्टीका। केदारमानका स्वर्गीय ‘व्यथित' कविका ‐२०१३—२०१५) कालरात्रि कविताका केही हरफ :
दूर उता नेपथ्य बजाँउछ
डिम्डिम् डिम्डिम्— डिम्डिम् डिम्डिम्
अविछिन्न डमरु
घनननन—घननन
घन्किरहेको घन–घन्टाको
तुमुल शब्द उपहार लिएर!
डमरुवादनलाई क्रान्तिघोष ध्वनिमा उतारेर यहाँ कवि व्यथितले नाराबाजीलाई सांस्कृतिक विम्ब खडा गरेको छ। डमरुको डिमडिम धन्काइलाई क्रान्तिघोषको संकेत गरेको छ। यहाँ चरम विरोधका नाराविहीन आक्रोश पोखिएको छ। सांस्कृतिक साजवाज प्रयोग गरेर त्यसबाट घन्किएको डिमडिम ध्वनि विरोधपूर्ण नाराका स्वरमा ढालिएको छ। व्यथित समाजको अवस्था सुधार्न क्रान्तिको विगुलसरह नाराबाजी गर्नको बदला संस्कृतिलाई अँगालेर डमरुको बोल बजाइ नै विरोध हुने दुन्दुभिलाई प्रयुक्त गरिएको छ। काव्य साहित्यलाई संस्कार र संस्कृतिको परिवेशमा सम्प्रेषण गर्न व्यथितको काव्यसाधना बन्न पुगेको साहित्यिक गरिमा बन्न पुगेको छ। व्यथित आफैं पनि राजनीतिक पौरुष भएर यहाँ संयमित हुन पुगेका ‘कालरात्रि' कविताको सर्वांग बन्न पुगेको छ। राजनीतिक पहल र प्रहरमा कवि केदारमान व्यथित राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालासितकै सहकर्मी थिए। कोइराला पनि उत्तितकै शिखरवर्ती साहित्यका आख्यानकार हुन्। विपीका साहित्यिक सिर्जनामा पनि नाराबाजी अभिव्यक्ति र सम्प्रेषण भेटिन्न। शालीन र सौम्यपन वाचाल रहे भएका छन्। साहित्यमा अराजकतावादी स्रष्टा ऐलान गर्दो विपीका आख्यानकार कोइराला यौन मनोविज्ञानमा पुगेर नैतिकवान् चेष्टाधारी बन्नु सम्भवतः त्यो सर्जक समाजको शालीन परिवेश बनेको थियो।
काव्यसाधनाका शालीन परिवेश सर्जकभित्रकै शालीन विवेक ब्रह्मबाट सिर्जना हुन्छ। दृढ संकल्पित सर्जकीय क्षमताले यसलाई परिपाक पार्न सघाउँछ। जे जति भए गरिएका हुन्, संकल्पित दृढताकै द्योतक बनेका छन्। सर्जकीय क्षमताका कारक तत्व एकभन्दा बढी छन्, हुन सक्छन्। सचेत समय स्वाद ग्रहणशीलता एक। मौसमी परिवेशको प्रभाव दुई। प्रभावबाट उत्पन्न संवेदना तीन। संवेदित मर्मबोधी भाव चार। बोधिभाव सम्प्रेषणशील अभिनव कल्पना पाँच। कल्पनासाध्य प्रतीक र बिम्व बनाउँदो वस्तुभाव निर्माण छ। सशक्त कविताका रूप–चेतना तत्व भन्छु। भन्दाभन्दै यी सारगर्भित चर्चाहरू, गन्दागन्दै यी गुणवान् तत्वहरू बन्नका तीर्थराज कविका बुद्ध छ– मेरो देशमा बुद्ध छ, कविता फेला पर्छ। गन्ति गरिएका एकभन्दा बढी तत्वममाथि गुण गणनाहरू हार्दिक बन्न थाल्छन्। कविता संग्रहभित्रका संग्रहितहरूमा सर्जंकीय क्षमताका परिपाक पाउन पुग्छु। सर्जकीय क्षमताका परिपाक भेटिन थाल्छ। यी हरफहरू साक्ष बन्छन् :
सूर्य
तातो—तातो
न्यानो—न्यानो सूर्यलाई
म हत्केलाभरि थाप्छु,
यो न्यानो
मेरो सानो—सानो मुटुमा
राखेर नाप्छु,
बिहानीको सूर्य
मलाई मेरो नाति जस्तै लाग्छ,
दिनको सूर्य
मलाई मेरो छोरो जस्तै लाग्छ,
साँझको सूर्य
म आफैंजस्तो लाग्छ।
कवितामा कविता क्षमताकर भाका हाल्छ। भाकासित हद संकल्प वाचाल बन्छ। संकल्पित भावसित सचेत समय सुुसेल्छ। बिहानीको सूर्य नातिजस्तै, दिनको सूर्य छोराजस्तै, साँझको सूर्य आफैंजस्तो। समय चेत बोल्छ यहाँ सचेत भएर। बिहानी, दिउँसो र साँझ दिनका तीनै प्रहरलाई नाप्छन् कवि जीवनका पुुस्तैनी प्रहरसित। कवितामा कविचेत चस्कन्छ, लोकलाई चस्काउन। एकै दिनका तीन प्रहर आद्योपान्त उभिन्छ कवितामा जीवन मौसम। तातो–तातो, न्यानो–न्यानो सूर्यलाई हत्केलाभरि थाप्ने भाव कवित्व र कल्पनाशीलताका प्रसंग बन्छ। बोधिभाव सम्प्रेषणशील अभिनव कल्पना बन्छ। बिहानी नाति, दिवस छोरा। साँझ स्वयं आफू प्रतीकात्मक प्रस्तुतिका विम्ब बोक्छ। कविता सार्थक बन्छ, बन्नुछ। कविताले सार्थकता बोक्नु विषय वा प्रंसगले अर्थ नलगाएमा कविताको सार्थकताले कविलाई निसार्थक बनाउँछ नै कसरी...?
आफ्नै आस्थावान् जीवन जिउन चाहे कविहरूमा एक ज्ञान उदासका सर्जक पनि रहेका छन्। बाहिर जाँदा कतै टाढा नजाने संकेत गर्छन् उदास कवि। ‘टाढा नजानु कतै यो मनलाइ नाघेर, यो आँखालाई छाडेर' कविताको आग्रह इमानदारीपूर्ण अनुनय–विनय बनेको छ। ‘मन उडाउने आकाश चाहिन्छ हामीलाई, आँखा अड्याउने क्षितिज चाहिन्छ हामीलाई' उदासका ज्ञानी कवि सवेदनशील बन्छन् यहाँ। आत्मभरोसा आफ्नै गाँसबास बन्दो दृढता बोल्छ ज्ञान उदासका भरोसावादी कवि यसरी :
‘हामीलाई मायाको छहारीमा बास चाहिन्छ, त्यो तिमीसँग मात्र छ। हामीलाई ममताको टपरीमा गाँस चाहिन्छ त्यो तिमीसँग मात्र छ।' कतै, कठै आत्मविश्वास विरानएलाको पीरले उदासका कवि नउदासियून्। यो राग कविता अनुराग सदासयताको तानपुरा षदराग...! षदराग रागशास्त्रका अनुराग बनिरहून्...।
प्रकाशित: २७ मंसिर २०७१ ००:१० शनिबार





