बंगाली कला, साहित्यका आदर्श रविन्द्रनाथ टेगोरको शहर कोलकातामा उनकै अनुयायीले नेपाली कला र सुन्तला बोकेर पुगेको टोलीलाई रविन्द्र संगीत सुनाएर स्वागत गरे। पूर्वी नेपालको टोलीले पनि झ्याउरे, मारुनी नृत्यसँगै देउसीभैलो खेलेर नेपाली संस्कृति प्रदर्शन गरेर कार्यक्रमलाई नेपाली संस्कृतिमय बनाए।
कोलकातावासी रविन्द्रनाथ टेगोर बिरामी भएका बेला पहाडी क्षेत्रबाट उनकी शिष्या मैत्रीदेवीले बाँसको चोयाले बनाएको फुर्लुङमा सुन्तला ल्याइदिएको र त्यसले उनको स्वास्थ्यमा सुधार आएको विश्वास गर्छन्। उनै मैत्रीदेवीको शतवार्षिकीको अवसर पारेर एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एक्ट)ले पूर्वी नेपाल, भारत र भुटानका सुन्तला र कला प्रदर्शन गर्न आयोजना गरेको तीनदिने 'हिमालयन ओरेञ्ज फेस्टिभल'को अधिकांश समय नेपाली कला, संस्कृति प्रस्तुत गरेर सकियो। झापा धुलाबारीका आरजु श्रेष्ठ, शर्मिला राई, सुम्निमा राईको टोलीले मारुनी, झ्याउरे लोकभाका गीतमा नृत्य गर्दा महोत्सवमा सहभागीले गाउँदै ताली बजाउँदै साथ दिए। महोत्सवको अन्तिम दिन 'कलकते काइँयो केश मेरो बाङ्गो' गीतमा नृत्य प्रस्तुत गर्दा कोलकातावासी पनि नाचे। अर्जुन कार्कीले बाँसुरीमा 'यो नेपाली शिर उचाली संसारमा लम्किन्छ' लगायत नेपाली राष्ट्रिय गीतका धुन प्रस्तुत गर्दा महोत्सवका सहभागी मन्त्रमुग्ध भए। बाहुनडाँडीको प्रकृति संरक्षण समाजका अध्यक्षसमेत रहेका कार्कीले भने, 'आफ्नो कला र संस्कृति विदेशीसामु प्रस्तुत गर्न पाउँदा गौरव महसुस भयो।'
महोत्सव हेर्न स्थानीय बंगालीसँगै रोजगारी र अध्ययनका लागि कोलकातामा रहेका नेपाली युवा पनि आएका थिए। महोत्सवस्थल सिटी सेन्टर परिसरमा भेटिएका नेपाली युवा सुरज पुडासैनीले भने, 'नेपाली गीत र बाँसुरीको धुन सुनेर मन थाम्न सकिनँ। त्यसैले रेस्टुन्टको काम छाडेर आइपुगेँ। आफ्नो संस्कृतिको महत्त्व परदेशमा थाहा हुँदोरै'छ।'
कला संस्कृतिको प्रवर्द्धन गर्दै ग्रामीण पर्यटनको विकास गरी पहाड र तराईको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजित महोत्सवमा नेपालको इलामस्थित सलकपुर, भारतको दार्जिलिङ, खर्साङ, जलदापाडा, मिरिक, गोरुबथान, चुईखिम, नोवडा भ्याली र भूटानको थिम्पूका सुन्तला कोलकाता पुर्या इएका थिए। महोत्सवमा अलैँची, अकबरे, अदुवा, मह, एभोकाडो, सुनाखरी र नेपालीपन झल्कने भित्तेपात्रो र हस्तकलाका सामाग्री बिक्री र प्रदर्शन गरिएका थिए। दश हजार सुन्तला बेचेर फर्किएका इलाम सलकपुरका रोमश अधिकारी पूर्वका उत्पादन र कला संस्कृति प्रदर्शन गर्न पाएकोमा मक्ख छन्। 'हामीले आफ्ना उत्पादन राम्रोसँग बेच्न पायौँ तर त्योभन्दा महत्त्वपूर्ण आफ्ना कला, संस्कृति, पर्यटन र उत्पादनको प्रचार गर्न पायौँ,' उनले भने।
नेपाली, बंगाली र भुटानी नृत्य, संगीतसँगै भावनात्मक आदान–प्रदान भएको महोत्सवले पहाडसँग तराईको सम्बन्ध जोड्ने महत्त्वपूर्ण अवसर भएको महोत्सवको सहआयोजक हेल्प टुरिजमका निर्देशक सुप्रितमराज बसुले बताए। पूर्वी नेपालसँगै पश्चिम बंगाल र भुटानको पर्यटन प्रवर्द्धनमा पहिलादेखि नै सहयोग पुर्याबइरहेका बसुले भने, 'यो अवसर हामी सबैका लागि उपलब्धिपूर्ण छ।'
कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्र घिमिरे पूर्वी नेपालसँग रहनसहन र भाषा, संस्कति मिल्ने भारतको पश्चिम बंगाल र भुटानका टोलीको जमघटले उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको बताउँछन्। 'महोत्सवले कला र सुन्तलासँगै भावनात्मक सम्बन्ध र पर्यटनको प्रवर्द्धनमा सहयोग पुगेको छ,' उनले भने।
रविनले झुमाए
पुराना गायक रविन शर्माले आफ्ना चर्चित गीतसँगै बंगाली गीत गाएर नेपाली, बंगाली र भुटानी दर्शकलाई झुमाउन सफल भए।
झापामा जन्मिएर भारतको खर्साङमा अध्ययन गर्ने क्रममा सिकेका बंगाली भाषा र रविन्द्र संगीतको प्रस्तुतिले रविनतिर स्थानीय बंगालीभाषीको समेत ध्यान तानियो। उनले आफ्नो चर्चित गीत 'कुन मन्दिरमा जान्छौ यात्री' को बंगालीमा अर्थ लगाउँदै गाएर दर्शकलाई झुमाए। बंगाली भाषाकै 'आमी चिनी गो चिनी गो', 'माया बनो बिहारिनी हरिनी' गीत गाउँदा स्थानीय दर्शकले पनि सँगै गाए।
भारतको बंगालमा रविन्द्रनाथ ठाकुरले छाडेर गएका गीत, संगीतलाई संगीतको छुट्टै विद्याका रूपमा 'रविन्द्र संगीत' भनिन्छ। रविन्द्र संगीत नजान्नेलाई यहाँ राम्रो गायक मानिदैन। रविन्द्र संगीतको ज्ञान भएका गायक रविनलाई भने सबैले खुलेर साथ दिए।
देश विदेशका धेरै ठाउँमा गाएका रविनले कोलकातामा भने पहिलो पटक गाएका हुन्। रविन चालिसको दशकताका रेडियो नेपालका चर्चित गायक हुन्। ५ एल्बमसहित ३ सयको हाराहारीमा गीत रेकर्ड गराएका उनका 'कुन मन्दिरमा', 'तिमी यसै लजायौ', 'फूल झरे पनि काँडा झर्दैन' लगायत दर्जनौँ गीत चर्चित छन्।
गुञ्जियो देउसीभैलो

झापाका पत्रकार चन्द्र भण्डारीले 'भन भन भाइ हो' भन्दै भट्याउन सुरु गरेपछि अर्का पत्रकार पर्वत पोर्तेलले मादल बजाए। त्यसपछि सहभागीहरूले 'देउसी रे' भनेर महोत्सवलाई तिहारजस्तै बनाए।
नेपाली संस्कृतिमय बनेको महोत्सवको समापन नै देउसीभैलो खेलेर गरियो। देउसीमा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङसहित झापा, इलाम, दार्जिलिङ, मिरिकलगायत नेपाली भाषीसँगै भुटानी र बंगाली पनि सहभागी भए। भारतमा रहेका नेपाली देउसीभैलोमा रमाउँदै सहभागी भए। कोलकातावासीलाई आशीर्वाद दिँदै महोत्सव समापन गरियो। 'देउसी हाम्रो संस्कृति हो। अरूलाई पनि यो संस्कृति बुझाउन तिहारै पर्खिनुपर्छ भन्ने छैन। जहिले खेल्दा पनि हुन्छ,' पत्रकार भण्डारीले भने।
प्रकाशित: २६ मंसिर २०७१ ०६:०९ शुक्रबार





