प्रहरीले यादवको हातमा लागेको चोट, रगत पुछ्न प्रयोग गरेको रुमाल, उनको कपडामा लागेको रगत, घटना देख्ने प्रत्यक्षदर्शी र अभियुक्तको बयानलाई उनी घटनामा संलग्न रहेको प्रमाणका रुपमा प्रस्तुत गरेको थियो।
छुरी हानेर ती युवक भागेपछि रितुसँगै रहेका अनुपा राजवंशी र कल्पना साहले स्थानीयलाई बोलाएर उनलाई उपचारका लागि काठमान्डु मेडिकल कलेज पुर्यााए पनि सो अस्पतालले उनलाई शिक्षण अस्पताल महाराजगन्ज रेफर गरेको थियो। उपचारकै क्रममा उनको त्यहीँ मृत्यु भएको थियो।
घटनाका प्रत्यक्षदर्शीले 'धोकेबाज' भन्दै छुरी हानेको जानकारीका आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले रितुसँगको सम्पर्क जालो केलाउँदै हत्या अभियोगमा यादवलाई पक्रेको थियो। रितु हत्या अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा रितुले सम्बन्ध तोडेपछि उनले हत्या गरेको देखिएको जानकारी दिए।
प्रहरीका अनुसार करिब ६ वर्ष अगाडिदेखि यी दुवैको चिनजान रहेको खुलेको छ। यादव धनुषा तुलसीयाहीजव्दीमा रितुको घरमा ट्र्याक्टर चलाउँथे। सोही समयदेखि नै दुवैबीच प्रेमसम्बन्ध रहेको यादवले प्रहरी बयानमा दाबी गरेका छन्।
एसएलसी परीक्षा उत्तीर्ण भएपछि रितु उच्च शिक्षाका लागि काठमाडौं आइन्। काठमाडौंको कान्तिपुर कलेज बानेश्वरमा भर्ना भएकी उनी मैतीदेवीको एफएनएफ गर्ल्स होस्टलमा बस्दै आएकी थिइन्। हाल उनी बिबिए पहिलो वर्षमा पढिरहेकी थिइन्। प्रहरीका अनुसार रितु काठमाडौं आएपछि यादवले पनि यतै आएर बालाजुको एक कारखानामा सवारी चालकका रुपमा काम सुरु गरे।
हत्याअगाडि पशुपति दर्शन
यी दुवैबीच काठमाडौंमा समेत भेट भएको र घटनाभन्दा २ महिना अगाडिसम्म राम्रै सम्बन्ध रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। अनुसन्धान अधिकारीका अनुसार करिब २ महिनाअगाडि रितुले यादवलाई आफूसँग भेट्न नआउन भनेपछि यादव उनीसँग रिसाएका थिए।
उनले रितुसँग पटकपटक भेट्ने प्रयास गर्दासमेत सफल नभएपछि गत बिहीबार होस्टलनजिक आएर उनको बाटो छेकेर आफूसँग भेट्न दबाब दिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान विवरण अनुसार उनले रितुलाई सम्बन्ध निरन्तर नभए जे पनि गर्नसक्ने भन्दै धम्क्याएका थिए।
धम्कीपछि पनि रितुले भेट्न नचाहेपछि यादवले शुक्रबार उनको हत्या योजना बुनेको थियो। एसएसपी कार्कीका अनुसार योजना अनुसार शनिबार काम गर्ने कारखानामा रहेको चक्कु लिएर बिहान पशुपति गए।
पशुपतिबाट करिब १० बजेतिर उनी रितु बस्ने होस्टल नजिकै आएर उनलाई कुरेर बसेका थिए। करिब ११ः१५ मा रितु दुई जना साथीहरुसँग बाहिर निस्केर मैतीदेवी सेतोपुलतिर हिँडेपछि उनले पिछा गर्दै अली सुनसान र झाडीनजिक पुगेपछि एक्कासि छुराले अन्धाधुन्ध प्रहार गरेका थिए।
आक्रमणबाट रितु ढलेपछि उनी घटनास्थलबाट भागेर कमलपोखरीको सिटी सेन्टरनजिकै आएर ट्याक्सी लिएर बालाजु गए। बालाजु पुगेका उनी नियमित काममै लागे। घटना प्रकृतिका आधारमा रितुसँग परिचित र निकटले नै उनको हत्या गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनको सम्पर्क जालो र परिचित व्यक्तिबाट अनुसन्धान अगाडि बढाएको थियो।
रितुको परिवारले छिमेकी पप्पु पूर्वे घटनामा संलग्न रहेको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनको संलग्नताबारे अनुसन्धान गरे पनि उनको परिवारको दाबीझैं उनको संलग्नताबारे केही नदेखिएपछि उनलाई निगरानीमा राखेको थियो।
सम्पर्क जालो केलाउने क्रममा करिब ५ जना खुलेपछि प्रहरीले उनीहरुको खोजी गर्ने क्रममा यादव पक्राउ परे। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार यादवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे सोध्दा 'रितुलाई देख्नासाथ रिस उठेकाले छुरी हानेको' कबुलेपछि प्रहरीले उनलाई बिहीबार रितु हत्याकाण्डको आरोपीका रुपमा सार्वजनिक गरेको थियो।
प्रकाशित: २५ मंसिर २०७१ २०:४६ बिहीबार





