१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

दक्षिण एसियाली राष्ट्रबीच गहन एकतामा जोड

काठमाडौँ- दक्षिण एसियाली राष्ट्रबीच आपसी एकता कायम भएमात्र सार्क स्थापनाको लक्ष्य प्राप्त गर्न सकिने भएकाले त्यसतर्फ सदस्य राष्ट्र प्रमुखहरुको ध्यान जानुपर्नेमा जोड दिइएको छ। अठारौं सार्क शिखर सम्मेलका अवसरमा इन्डिया टुडेद्वारा आज यहाँ आयोजित अन्तर्क्रियामा सहभागी विशिष्ट व्यक्तिले दक्षिण एसियाका राष्ट्रबीचको आपसी एकतालाई मजबुद बनाउनुपर्ने धारणा राखेका हुन्।
सार्क सदस्य राष्ट्र कुनै न कुनै रुपमा आतङ्कवादी चपेटामा परेकाले त्यसविरुद्ध जुध्नका लागि समान धारणाको विकास गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन्। भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिँदै वक्ताहरुले आतङ्कवादविरुद्धका लागि साझा प्रतिबद्धतासहित क्षेत्रीयरुपमा सशस्त्र बलको निर्माण गर्न सकिने धारणा राखेका थिए।
सामाजिक न्यायसहितको समृद्ध दक्षिण एसिया निर्माणका लागि सार्क क्षेत्रमा विद्यमान विभेद् तथा लिङ्गीय अवरोधलाई अन्त्य हुनुपर्नेमा उहाँहरुले जोड दिएका छन्।
अन्तर्क्रियाका विशेष वक्ता अफगानी राष्ट्रपति असरफ घानीले आतङ्कवाद दक्षिण एसियाको साझा समस्या भएकाले यहाँका जनताबीचको आपसी एकता कायम गरेर त्यसबिरुद्ध लड्नुपर्ने बताए।
समृद्धिको बाटोमा अगाडि बढ्न पनि आपसी एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले विद्यमान गरिबी निवारणका लागि सहजरुपमा सेवा तथा वस्तुको निर्वाध प्रवाह हुने अवस्था सिर्जना गर्नुपर्ने बताए।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले दक्षिण एसियाली सदस्य राष्ट्रहरुले एकआपसमा आरोप–प्रत्यारोप गर्नेभन्दा पनि आपसी मेलमिलाप गरेर अगाडि बढ्नुपर्ने समय आएको बताए।
उनले यस क्षेत्रका गरिबी तथा बेरोजगारीका समस्याको चुनौतीको सामना गर्न आपसी एकता मुख्य भएको बताउँदै बहुदलीय प्रजातन्त्र तथा खुला अर्थतन्त्रको विकास गरेर मात्र समृद्ध सार्क हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा राखेका थिए।
तीन चरणमा गरिएको अन्तर्क्रियामा भारतीय जनता पार्टीका प्रवक्ता नलिन कोहली, भारतका पूर्व सूचना तथा प्रशारणमन्त्री मनिस तिवारी, पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी खारले विगतमा भएका भारत र पाकिस्तानबीचको तिक्तता मेटाउँदै आगामी दिनमा असल सम्बन्ध विकास गर्नसके दक्षिण एसियाकै लागि उत्तम हुने धारणा राखेका थिए।
कार्यक्रममा भारतको राज्यसभाका सदस्य मनिशङ्कर ऐयर र लोकसभाकी सदस्य मिनाक्षी लेखीले एकताबद्ध भएर आतङ्कवादसँग जुध्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
त्यसैगरी बङ्गलादेशका पूर्व परराष्ट्र सचिव फारुक सोभान, पाकिस्तान रक्षा बलका पूर्व सैनिक प्रवक्ता मेजर जनरल अथर अब्बास, साउथ वेल्स तथा क्विनल्याण्डका लागि श्रीलङ्काका काउन्सिल जनरल बन्दुला जयसेकरा र इन्डिया टुडेका अध्यक्ष तथा प्रधानसम्पादक अरुण पुरीले दक्षिण एसियाबीचमा गहन एकता हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सामाजिक कार्यकर्ता अनुराधा कोइराला, नायिका निशा अधिकारी, चौधरी समूहका अध्यक्ष विनोद चौधरी, पाकिस्तान चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पूर्व अध्यक्ष जुबहिर अहेमद मल्लिक, सार्क चेम्वर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष विक्रमजित सिंह पाण्डे र सोही संस्थाका पूर्व अध्यक्ष दासो उगेन स्योप दोर्जीले दक्षिण एसियामा स्वतन्त्ररुपमा सेवा तथा वस्तुको व्यापार बढाउनुपर्नेमा जोड दिएका थिए। रासस

प्रकाशित: ९ मंसिर २०७१ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App