२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्य

यस्तो छ पशुपति शर्माको विवादित गीतको कथा

गायक पशुपति शर्माको 'हामी नेपाली हौँ' बोलको गीतबारे मिश्रित प्रतिक्रिया आएपछि जागरण मिडिया सेन्टरले यो गीतप्रति विभिन्न व्यक्तिका धारणा संकलन गरेको थियो। शर्माले यो गीत बन्द गर्ने घोषणा गरिसकेका छन्। दलित आन्दोलनका अग्रणी व्यक्तित्व तथा साहित्यकार विश्वभक्त दुलाल 'आहुति'सँग सेन्टरका महावीर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ। आहुतिको 'नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष' नामक किताब प्रकाशित छ। उनी बहुचर्चित टेलिशृंखला 'दलन'का लेखक पनि हुन्।

aahutiजातप्रथालाई प्रहार गर्ने सबैभन्दा साहसी गीत : आहुति

पशुपति शर्माको गीत 'हामी नेपाली'बारे अनेका खाले प्रतिक्रिया आइरहेका छन्। तपाईंलाई यो गीत र यसको म्युजिक भिडियो हेर्दा कस्तो लाग्यो?
दलित आन्दोलन, जातप्रथा र उनीहरूको अस्तित्वबारे ठीक ढंगले कुरा नबुझेपछि यस्ता विरोध जन्मिन्छन्। कुरा नबुझीकन विरोध गर्दा उहाँहरू महामूर्ख ठहरिनुहुन्छ यो गीतका सन्दर्भमा। यो गीतले कसैको अपमान गर्दैन। सबैलाई सम्मान गर्छ र समावेशिताको सन्दर्भमा यसले एउटा आह्वान पनि गर्छ।
विरोध गर्नेहरूले दमार्इंलाई दमार्इं भन्यो, परियार भनेन, कामीलाई कामी भन्यो विश्वकर्मा भनेन भनेर विरोध गरेको भन्ने पनि मैले सुनेँ। त्यो त झन् अर्को अति भयो। किनभने, वास्तवमा परियार भनेको त दमाईंभित्रको एउटा थर मात्रै हो। तै पनि, फेरि दमार्इंहरूले आफूलाई परियार भनेर चिनाउन चाहन्छन् भने त्यसमा दमाईं शब्दको विरोध गरिराख्नुुपर्ने त केही पनि छैन। त्यो आफैँमा अपमानित शब्द होइन। दमाहा बजाउनेलाई दमाही भन्या हो त्यो। पेसा मिल्ने जातको नाम हो त्यो। विश्वकर्मा भन्नेबित्तिकै पनि हुने कुरा होइन त्यो। कर्मीबाट कामी शब्दको निर्माण भएको हो। त्यो कुनै अपमानित शब्द होइन। त्यसकारण जातका नामहरूसँग भेदभाव देख्ने जो अवधारणा छ, जो विकार छ, जो सोच छ, त्यो जातको गर्वलाई, जातको गर्विलोपनलाई ठीक ढंगले नबुझ्दाखेरि पैदा भएको समस्या हो। त्यसकारण यो गीतको विरोध गर्नुको कुनै तुक छैन। हास्यास्पद विरोध भन्छु म त्यसलाई।
अहिले फेसबुकमा पनि एकदमै मिश्रित किसिमका प्रतिक्रिया दलित समुदायबाटै आइरहेका छन्। विशेषगरी युवाहरूबाट। यो उनीहरूको अपरिपक्वता हो?
नेपालमा भर्खर केही युवा र केही पुराना पुस्ताका पनि साथीहरूलाई के परेको छ भने, दलितलाई दलित भन्या हुनाले चाहिँ दलित भएको हो। कामीलाई कामी भनेको हुनाले चाहिँ उत्पीडित हुनुपर्याद हो। दमार्इंलाई दमाईं भनेको हुनाले उत्पीडित हुनुपरेको हो, अपमानित हुनुपरेको हो भन्ने उनीहरूलाई परेको छ। त्यो बुझाइ नै ठीक छैन वास्तवमा। समग्र राजनीतिक व्यवस्था त्यस्तो भएको हुनाले हो। जस्तोः तराईमा पनि लोहार भनिन्छ, पहाडमा पनि लोहार भन्नेहरू छन्। लोहार भन्यो भने कामीलाई चिनिन्छ पहाडमा। तर, तराईमा लोहार भन्नेलाई छुवाछूत हुँदैन, त्यही काम गर्छ। पहाडमा लोहार भन्नेलाई छुवाछूत हुन्छ। वा, कामीलाई छुवाछुत हुन्छ। त्यसकारण त्यो पेसाको कारणले भएको पनि होइन, त्यो नामको कारणले भएको पनि होइन।
एउटै जात जस्तो कि, मानन्धर थर भएका नेवारहरूलाई जंगबहादुरको पालाभन्दा पहिला पनि उनीहरूलाई मानन्धर नै भनिन्थ्यो। त्यतिबेला उनीहरूलाई छुवाछूत हुन्थ्यो। जंगबहादुरले जात फुकाइसकेपछि अहिले पनि उनीहरू आफूलाई मानन्धर नै भन्छन् तर उनीहरूलाई अपमानित पनि गरिँदैन, छुवाछूत पनि गरिँदैन। त्यसकारण नाम के भयो भन्ने सन्दर्भको कुरा होइन यो। सन्दर्भ त समग्र राजनीतिक प्रणाली, समग्र सांस्कृतिक प्रणाली, समग्र सामाजिक व्यवस्था कस्तो छ भन्ने आधारमा यो निर्धारित हुन पुगेको हो।
दलित नभनेर दलितहरूको मुक्ति हुने पनि होइन। कामी नभनेर कामीहरूको नयाँ परिचय बन्ने पनि होइन। परियार भनेर दमाईंहरूमाथि भएको उत्पीडन कम हुने पनि होइन। यो समग्र व्यवस्थासँग सम्बन्धित कुरा हो। मेरो सन्दर्भमा भन्नुहुन्छ भने मलाई कसैले सार्की भन्यो भने मलाई कुनै अपमानबोध हुँदैन। किन हुनुपर्ने?
यो गीतले समाजमा विद्यमान दलित समुदायमाथिको विभेदलाई कस्तो प्रभाव पार्छ?
मेरो विचारमा रेडियो र इलेक्ट्रोनिक माध्यमबाट बज्ने गीतहरूमध्ये जातप्रथामाथि सबैभन्दा साहसपूर्वक प्रहार गरिएको गीत नै यही हो। यो भन्दा अगाडिका गीतहरू रुन्चे थिए। जस्तो कि, यशकुमारले दुईतीनवटा गीत गाए। 'मैले छोएको पानी चल्दैन' भन्ने गीत गाए। त्यो चर्चित भयो। तर, विषयवस्तुको हिसाबले त्यो ठीक थिएन। त्यसैगरी, 'म आफ्नै आँगनमा इनार बनाउँछु' भनेर गाए। 'अरूको इनार छुन नपाए छुन्नँ' भने। त्यो पनि अन्तरवस्तुका हिसाबले बेठीक थियो। प्रगतिशीलहरूले अरू–अरू गीत गाएका छन्, तिनीहरू महान् छन्। तर, रेडियो वा टेलिभिजनको माध्यमबाट हाकाहाकी, साहसपूर्वक, खुला रूपमा जातप्रथाको विरुद्धमा गाइएको यत्तिको सशक्त गीत नेपालमा आएकै थिएन। त्यसकारण यस्तो गीतलाई, यति साहसपूर्वक ल्याइएको गीतलाई त स्थापित गर्नुपर्थ्यो। जातप्रथा, छुवाछूतमाथि प्रहार गर्ने, अन्तरजातीय विवाहका विरोधीमाथि प्रहार गर्ने यस्तो सशक्त गीतको विरोध गर्नु भनेको महामूर्खता हो।
यो गीतको किन यति चर्काे विरोध भएको हो त?
उनीहरूले कुरा बुझेनन्। अमेरिकामा बस्ने एकाध मान्छेहरू छन्, जसले अनावश्यक रूपमा हल्ला फैलाइरहेका छन् कि दलित भनिसकेपछि हामी खत्तम भाका हौँ भनेर। दलित भनेर आन्दोलन नउठाएको भए आज चाहिँ दलितहरूको बारेमा यो व्यवस्था हुन्थ्यो? यो कुरा बुझ्नु छैन। देशबाटै पलायन भएका मान्छेहरूले चाहिँ फेसबुकमा अभियान चलाउने! देशभित्र आएर बाँच्ने आँट छैन। त्यस्ता मान्छेले हल्ला फिँजाइराख्या छन् र केही युवा साथीलाई हो क्यारे जस्तो परिराख्या छ। केही प्रौढ साथीहरूलाई पनि हो क्यारे जस्तो परिराख्या छ। कुरा त्यस्तो होइन। दलितका आन्दोलनकर्मीहरूले दर्जनौँ वर्ष यो आन्दोलनमा बिताएर यो आन्दोलनलाई स्थापित गरेका छन्, यो शब्दलाई स्थापित गरेका छन् र दक्षिण एसियामा नै पहिलोचोटि संविधानमा नै दलित शब्दलाई स्थापित गरेर सम्बोधन गर्नैपर्ने विषय बनाएका छन्। यी आन्दोलनका नेताहरूसँग छलफल चलाउनुपर्योर र आम साथीका बीचमा यो कुरा पुर्या उनुपर्योह।
जातीय विभेदलाई सशक्त ढंगले उठाउने उत्कृष्ट गीत यही हो त?
साहसपूर्वक उभिने सन्दर्भमा यसलाई उत्कृष्ट भनेको हुँ। यस गीतको कला पक्ष, त्यसको शब्द पक्ष भन्दा पनि यसले जुन साहसका साथ विषयलाई उठायो, त्यो साहस अरू गीतमा देखापरेको थिएन।
 

santoshशब्दप्रति हाम्रो आपत्ति : सन्तोष विश्वकर्मा, सचिव,दलित सेवा संघ

यो गीत प्रगतिशील छ। यसले दिने सन्देश पनि राम्रो छ। दलित समुदायप्रतिको विभेद र छुवाछूत प्रथाविरुद्धमा यसले आवाज उठाएको छ। यो असाध्यै राम्रो कुरा हो। तर, यसमा प्रयोग भएका केही शब्द, जस्तैः कमिनी, सर्किनी आदि प्रति हाम्रो आपत्ति छ। यी शब्दले दलित समुदायलाई 'डोमिनेट' गर्न खोजेको भान हुन्छ। हामीलाई होच्याएर, हेपेर भनिएको जस्तो सुनिन्छ। त्यसैले ती शब्द हटाइमागेका थियौँ हामीले।
केही शब्दप्रति मात्रै हाम्रो आपत्ति थियो। यही कुरा उल्लेख गरी विज्ञप्ति जारी गरेका थियौँ। तर, हाम्रो संघले 'पूरै गीतको विरोध गर्योय, गीत बन्द गराउन कर गर्योग' भन्ने खालका गलत प्रचार गरिए। हामीले त पशुपतिजीसँग भेटेरै 'गीतका केही शब्द संशोधन गर्नुभए हाम्रो चित्त बुझ्थ्यो' भनेका थियौँ। उहाँले हाम्रो कुरालाई स्विकार्नु पनि भएकोे थियो। तर, गीतै बन्द भएको थाहा पाउँदा दुःख लाग्यो।
हाम्रो वर्गलाई होच्याउने खालका केही शब्द खारेज गर्ने जमर्को गर्दै छौँ हामी। तर, यस गीतका केही शब्दले तिनै शब्दलाई प्रयोगमा ल्याएको छ। हामी कामी हौँ तर राज्यले नै हामीलाई विश्वकर्माको परिचय दिएको छ। त्यसैले विश्वकर्मा, परियार आदि नै भनेको रुचाउँछौँ। गीतमा कामीमात्रै भनेको भए पनि राम्रै हुन्थ्यो तर कमिनी भन्दा होच्याएको महसुस भयो। त्यसैले हामीले यसविरुद्ध आवाज उठाएका हौँ। तर, हाम्रो उद्देश्य गीत बन्द गराउने थिएन, यसका केही शब्द संशोधन गरेको भए उचित हुने थियो।
 

pasupati-sharma-2मेरो ध्येय कसैलाई चोट पुर्‍याउनु होइन : पशुपति शर्मा, गायक

मैले लेखेको तथा गायिका देविका केसीसँग गाएको गीत 'हामी नेपाली हौँ' सामाजिक विकृति, विसंगति, छुवाछूत र जातप्रथाविरुद्ध रहेको छ। गीत बजारमा आएपछि यसबारे सार्वजनिक बहस भए। विभिन्न सामाजिक सञ्जाल र केही संघसंस्थाले गीतको कडा विरोध गरे। अवस्था कतिसम्म गम्भीर भयो भने यसले सामाजिक सद्भाव नै बिथोल्ने हो कि भन्ने त्रास पनि सिर्जना गर्यो्।
मेरो ध्येय कसैको आत्मसम्मानमा ठेस पुर्या्उनु कदापि थिएन। कसैलाई चोट पुर्यानउनु थिएन। म त केबल जातप्रथा, छुवाछूतविरुद्ध एक नागरिकका हैसियतले प्रहार गर्न चाहन्थेँ। तर, केही समुदायले आपत्ति जनाएको र यसमा प्रयोग भएका शब्दहरू हटाउन मलाई आग्रह गरे। म यसलाई स–सम्मान ग्रहण गर्छु। म विशुद्ध कलाकार हुँ। हरेक क्षेत्रका स्रोताको माया चाहन्छु।
केही समुदायको भावनालाई कदर गर्दै यो गीत सम्पूर्ण सञ्चारमाध्यममा बन्द गरिएको छ। यसबारे मलाई थप भन्नु केही छैन।

प्रकाशित: १६ श्रावण २०७१ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App