भन्छन्, कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुरबाट २६ घर नेवारलाई पोखरामा ल्याएर हालको भीमसेन टोलवरिपरि बसाए। यसरी पोखरालाई बजारको रूपमा स्थापित गर्ने प्रयत्नको आरम्भ भयो। अढाइ शताब्दीअघिको त्यो कथासँग जोडिन्छ वर्तमान पोखराको इतिहास। सम्भवतः हाटबजार हुँदै नगर सभ्यता उन्मुख यात्राको प्रथम पाइला थियो त्यो। तिनै सिद्धिनारायणलाई विन्ध्यवासिनी भगवतीले सपनामा दर्शन दिएर विन्ध्याञ्चल गई आफ्नो प्रस्तर प्रतिमा ल्याएर मन्दिर बनाउने आज्ञा भयो र राजा सिद्धिनारायण विन्ध्याञ्चल गई विन्ध्यवासिनीको प्रस्तर प्रतिमा भरियालाई बोकाएर ल्याए। कास्कीकोट लैजाने क्रममा हालको विन्ध्यवासिनी भएका ठाउँमा बास भयो। भोलिपल्ट बिहान भरियाहरूले विन्ध्यवासिनीको प्रतिमा बोक्न खोज्दा बोक्नै सकेनन्। त्यो दिन पनि राजासमेतको त्यहीँ बास भयो। राति सपनामा विन्ध्यवासिनीले आफूलाई त्यहीँ मन्दिर बनाई स्थापना गर्ने आदेश दिइन्, राजालाई। राजाले भगवतीको त्यो आदेश पालना गरे र विन्ध्यवासिनी स्थापना गरे। यो र भीमसेन मन्दिरको स्थापना पोखराको सहरीकरण सुरुवाती बिन्दु थिए।
प्राकृतिक सौन्दर्यले आच्छादित पोखराले राष्ट्र एकीकरणपश्चात्को लामो समय राज्यको उपेक्षाबाहेक केही पाएन। कास्की र लमजुङको राजाको पगरी गुथेर श्री ३ भएका जंगबहादुरले बेलायती इन्जिनियरहरू बोलाएर लिफ्ट प्रविधिबाट फेवातालको पानीले पोखरा सिँच्ने योजना बनाएका थिए भन्ने सुनिन्छ। म्लेच्छहरूलाई भित्र्याएर त्यस्तो काम गर्दा अनिष्ट हुन्छ भन्ने पण्डितहरूको तर्कको तरबारले त्यो योजनाको घाँटी सेरियो। त्यसले पोखराको तीव्र विकासको सम्भावनालाई पछाडि धकेलिदियो। जंगबहादुरको त्यो प्रयत्न साकार हुन नसकेपछि कुनै श्री ३ हरूले कास्कीको विकासमा खासै चासो राखेको पाइँदैन। श्री ३ हरूको चुरीफुरीको समय श्री ३ हरूको पेवाका रूपमा रहेको कास्की र लमजुङमा राणाहरूले आफ्नै सुख सयलका निमित्त भए पनि दरबारसम्म नबनाउनुले १०४ वर्षसम्म कास्की राणा शासकहरूको उपेक्षाको सिकार भएको प्रमाणित हुन्छ।
जापानी भिक्षु इकाइ कावागुची पोखराकै बाटो तिब्बत जाँदा आफ्नो दैनिकीमा पोखराको सौन्दर्यको बखान गरे। हिमालको छाया तालमा देखिने संसारकै सुन्दर ठाउँ भनेर उनले लेखेको दैनिकी सार्वजनिक भएपछि पोखराले प्रचार पायो। ब्रिटिस कवि बिलफ्रेड नोयस र जिमी रोबर्टले माछापुच्छे्र आरोहणको प्रयास गरेर असफल भए। आफूहरू दुर्घटनाबाट बचेको हुँदा उनीहरूले त्यो यो हिमाल चढ्नु हुँदैन भने। तर ‘फिसटेल' भनेर तिनीहरूले लेखेको किताबले पोखराकै प्रचार गर्योा। सगरमाथाभन्दा अघि आरोहण भएको ८ हजार मिटरभन्दा अग्ला हिमालमध्येको पहिलो अन्नपूर्णमार्फत पनि पोखराले अन्तर्राष्ट्रिय प्रचार पाएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेपछि दि अन्नपूर्ण भन्ने किताब लेखे। त्यसले पोखराको पहिचान बढायो। यसरी प्रचार हुनुअघिसम्म पोखरा नुन खेप्न भोट जाने र मुक्तिनाथ दर्शन गर्न जाने प्रवेशमार्गमात्रै थियो।
खेतीपातीका दृष्टिले उर्वर थिएन पोखरा। आजभन्दा ३०/४० वर्षअघि हामी केटाकेटी हुँदा औलो लाग्छ भनेर दक्षिण पोखरातिर जान दिइँदैनथ्यो। अहिलेको एयरपोर्ट भएको ठाउँ, बिरौटा, अहिले सरकारी कार्यालय भएको पार्दी र छोरेपाटनतिर औलोको डर थियो। त्यतातिर फाट्टफुट्टमात्रै घर थिए। ३०/३२ सालतिर छोरेपाटनको तिब्बती शरणार्थी क्याम्पमा २५/३० जना औलो लागेर मरेका पनि थिए।
राजाको जन्मोत्सव हो या केको अवसरमा हामी केटाकेटीलाई स्कुलबाट जुलुसमा लगिएको थियो। जुलुसबाट छुटेर म एक्लै एयरपोर्ट पुगेँछु। त्यहाँ ढोकाबाट चियाएर हेरेको त बडेमानको जहाज उड्यो। त्यो देखेर म डराएर रुँदै भागेको मलाई धमिलो सम्झना छ। त्यति बेला मलाई खोज्न काका र छिमेकी दाइले साइकल लिएर हिँड्नुभएको थियो। त्यो त्यही एयरपोर्ट हो जहाँबाट हाम्रो घरको पसलमा सामान ल्याइन्थ्यो। भैरहवाबाट जहाज हुँदै ल्याइएका सामान गोरुगाडामा चढाएर ल्याउने चलन थियो। पोखराका बाटाभरि ढुंगा छापेका थिए। त्यही ढुंगा छापेको बाटोमा गोरुगाडा चल्थे। जीप चल्थे। २०/२२ सालतिर एउटा जीप चल्थ्यो पोखरामा। त्यो सेनाको जीप थियो। मेरो पुस्ताले देखेको त्यो नै पहिलो गाडी हो। पोखरामा पहिलोपटक खुलेको उद्योग पोखरा म्याच फ्याक्ट्रीसँग काठहरू बोक्ने लरी थियो। त्यो पोखरामा चलेको पहिलो पुस्ताको मोटरगाडी थियो। पोखरा म्याच फ्याक्ट्रीपछि नालाको मुखमा अमृतप्रसाद शेरचन र प्रेमराज मुल्मीले हिमालय उड वर्क्स खोलेका थिए। जेनेरेटरबाट बिजुली निकालेर काठ चिरिन्थ्यो त्यहाँ। विभिन्न मेला महोत्सव त्यही वर्क्सभित्र आयोजना हुन्थे। राम्रो कम्पाउन्ड भएको व्यवस्थित ठाउँ अन्त नभएकाले त्यहाँ मेला आयोजना गरिन्थ्यो।
अहिले मल्टीप्लेक्स सिनेमा हल बन्दै छ पोखरामा। हाम्रा पालामा फिल्म र डकुमेन्ट्री हेर्न पृथ्वीनारायण क्याम्पसले देखाउने अवसर पर्खनुपर्थ्यो। राजाको जन्मोत्सव, पञ्चायत स्थापना दिवस पुस १ वा क्याम्पसकै स्थापना दिवसका अवसरमा प्रिन्सिपल जर्ज जोनले फिल्म देखाउनुहुन्थ्यो र डकुमेन्ट्री देखाउँदै माइकबाट त्यसबारे बताउनुहुन्थ्यो। निल आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेको डकुमेन्ट्री मैले त्यही क्याम्पसमा हेरेको थिएँ।
विभिन्न विदेशी यात्रीहरूले पोखराको प्राकृतिक सौन्दर्यको गान गाएको थाहा पाएका र आफैं प्रकृतिप्रेमी भएका राजा महेन्द्रले आफ्नो रानीका नाममा रत्न मन्दिर बनाएपछि भने पोखराको दिन फेरिन थाल्यो भन्ने मलाई लाग्छ। हुन त त्यसअघि नै २००५ सालमा धनशमशेर बडाहाकिम भएर पोखरा आएपछि सेतो दरबारको निर्माण, त्यहाँ नाटकहरुको प्रदर्शन, तन्त्र, जादु र संगीत महफिल जम्न थालेपछि पोखरामा केही तरंग फैलिएको थियो। २००६ सालको अग्निकाण्डले पोखरा ध्वस्त भएपछि पोखराको सहरीकरणको गतिमा ठूलो बाधा पुग्यो। तैपनि पोखरेलीहरू पीडाबाट मुक्त भएर देशभर चलेको प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिमा समाहित भए। क्रान्तिले देशभर फिँजाएको चेतनाको लहरले पोखरालाई पनि ब्युँझायो। १९५८ सालमा देव शमशेरको कृपास्वरूप स्थापना भएको राजकीय संस्कृत प्रधान पाठशाला र २००४ सालमा स्थापित बाटुलेचौरको आधार स्कुलपछि २००५ मा बडाहाकिमकै अध्यक्षतामा स्थापित पब्लिक मिडिल स्कुलको स्थापनाले ल्याएको जागरणसँगै २००८ मा पोखराका व्यापारीबीच एक संगठनको आवश्यकताबारे छलफल प्रारम्भ भयो। २०११ मा पोखरा व्यापार संघका रूपमा त्यो छलफलले साकार रूप प्राप्त गर्योा।
२०१४ सालमा राजा महेन्द्रले आफ्नी रानीको नाममा रत्न मन्दिर निर्माण सुरु गरेर पोखराको आधुनिकीकरणको वास्तविक शिलान्यास गरे। उनकै पहलमा काठमाडौंसँग पोखरा जोड्ने पृथ्वी राजमार्ग बन्यो। त्यसपछि पोखरा अन्तर्राष्ट्रिय जगत्सँग सजिलो गरी जोडिन सक्यो। पर्यटक आउन थाले। अहिले पोखराको मुख्य परिचय पर्यटकीय गन्तव्य भएको छ। तर, यो अझै गन्तव्य बन्न नसकेको अनुभूत म गर्छु। पोखरामा पर्यटकको बसाइ दुई दिनमात्रै हुन्छ। पर्यटकजति टे्रकिङका लागि आउँछन्। पोखरा ट्रान्जिटमात्र बनिरहेको छ। पर्यटकको बसाइ लम्ब्याउन हामीले गर्नुपर्ने चिज धेरै छन्। खै हामीले नेपाली वनस्पति रोपेर पार्क बनाएको? खै हामीले हाम्रो सांस्कृतिक र ऐतिहासिक महत्र्व बुझाउन सकेको? पर्यटनमै लाग्नेहरूले हिमाल चिनेका छैनौं भने पर्यटकलाई कसरी चिनाउने? गोरुगाडाभन्दा अघि मोटर र त्यसअघि जहाज आएको पोखरामा अब अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ। विमानस्थल बनेर मात्रै पोखराको कायापलट हुने होइन। त्यससँगै पोखराका सडकलाई चौडा पार्नुछ हामीले। वैकल्पिक मार्ग प्रशस्त खोल्नुछ। पोखराको भूगर्भको वास्तविकताअनुसारका भवन निर्माणको विधिविधान बनाउनुछ। प्रकृतिले सिँगारेको यो ठाउँलाई अझै सिँगार्नुछ हामीले।
प्रकाशित: ६ असार २०७१ २३:५२ शुक्रबार





