४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

पर्यटक भेषमा लागुऔषध कारोबार

पोखरा- स्पेनी नागरिक डेभिड गारसियालाई प्रहरीले बिहीबार बिहान पोखराको खहरेबाट पक्राउ गर्योस। प्रहरी देखेर भाग्न खोजेका उनको व्यवहार शंकास्पद लागेपछि शरीर खानतलासी गरियो। उनका साथबाट हाफपाइन्टभित्र लुकाएर राखिएको ५ सय ग्राम चरेस र डिजिटल तराजु बरामद भयो।प्रहरी बयानमा उनले सराङकोट–७ सेतीबगरकी इन्द्रदेवी परियारसँग ४५ हजारमा चरेस किनेको र २७ हजार भुक्तानी गरिसकेको बताए। प्रहरीले अर्नाउसहित इन्द्रदेवी र उनका पतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 
पोखरा आउने विदेशी पर्यटकबाट लागुऔषध बरामद भएको यो पहिलो घटना होइन। यस्ता थुप्रै प्रसंग छन्, जसले यहाँ पर्यटक भेषमा लागुऔषध कारोबारी पनि आउने गरेकोे पुष्टि गर्छन्। २०६९ जेठ ११ गते रोमानियाका अलेक्जान्ड्रो घिओरघिउ ३ सय ५० ग्राम चरेससहित पक्राउ परेको डेढ महिनापछि अस्ट्रियन नागरिक रेन्डल हर्बट साढे ३ किलो चरेससहित समातिए। 
२०७० वैशाखमा रसियन नागरिक निकोले कोजारेन्टसेभका साथमा १० ग्राम तथा २० दिनपछि फ्रान्सेली नागरिक डेनियलज्याक फ्याब्रिकका साथमा १ किलो बढी चरेस फेला पर्यो२। गत पुसमा एक बुल्गेरियाली पनि चरेससँगै समातिए। 
पर्यटकका साथबाट लगातार लागुऔषध फेला परेपछि प्रहरी नै अचम्मित छन्। कास्की प्रहरीका अनुसन्धान अधिकृत नरहरि अधिकारी लागुऔषध प्रयोगकर्ता विदेशीले पोखरामा यसको कारोबार गरिरहेको बताउँछन्। 'विदेशीले विदेशीलाई नै बेच्ने गरेको पाइएको छ। उनीहरू नेपालीसँग किनेर विदेशीलाई बेच्छन्,' उनले भने, 'तस्करहरू पर्यटकको भेषमा कारोबार गरिरहेछन्।' खैरो कपाल देख्दैमा भर पर्न नहुने अधिकारी बताउँछन्। 'खैरो कपाल भएका विदेशी भन्दैमा सबै पर्यटक हुन्नन्। कतिपय लागुऔषध कारोबारी हुन सक्छन्। होटलमा राख्दा पनि ख्याल गर्नुपर्छ,' उनले भने। घुम्न आउने निहुँमा लागुऔषध कारोबार गर्दा अरूले झट्ट थाहा नपाउने र यस्तो नियतले आउने विदेशी यहाँ लामो समय बस्ने गरेको अधिकारी बताउँछन्। 
कास्की प्रहरीका अनुसार अहिले यहाँको कारागारमा १२ जना विदेशी नागरिक छन्। ती मध्ये १० कैदी र दुई थुनुवा हुन्। तीमध्ये ६ जना लागुऔषध कारोबारमा पक्राउ परेका हुन्। 
कास्की प्रहरीप्रमुख एसपी वसन्तकुमार लामा लागुऔषधसाथ पक्राउ परेका अधिकांश विदेशी प्रयोगकर्ताका रूपमा मात्र संलग्न रहेको बताउँछन्। 'अधिकांश विदेशी प्रयोगकर्ताका रूपमा मात्र छन्, ओसारपसार गर्ने नियत कमैमा हुन्छ,' लामा भन्छन्, 'बाहिर लैजान गाह्रो भएकाले होला, यहीँ किनबेच गर्छन्, बढीले आफैं प्रयोग गर्छन्।' 
भारतसँग खुला सिमाना र आवागमनमा कडाइ नहुँदा नेपालमा लागुऔषध सजिलै भित्रिने लामाको भनाइ छ। 'हवाई मार्गबाट गाह्रो हुने भएपछि कतिपय विदेशी भारतको बाटो चरेस भिœयाएर नेपालमा बेच्छन्,' उनले भने, 'यसबाहेक नेपालमै किनेर अन्य विदेशीलाई बेच्ने पनि छन्।' 
प्रहरीका अनुसार लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले कारोबारीलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिवाना तथा प्रयोगकर्तालाई एक महिनादेखि एक वर्षसम्म कैद र एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना तोकेको छ।

प्रकाशित: २४ जेष्ठ २०७१ २३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App