कसैले मैत्रेयको उछित्तो काढे, कसैले तारिफ। मैत्रेयले पनि आफ्नो बचाउमा फेसबुकबाट प्रतिवाद गरिरहे। केही दिनपछि यो प्रकरण सेलायो। ओशोधाराबाट अलग्गिएका शर्मा र नेपालले 'जीवन विज्ञान' नामक अर्काे आध्यात्मिक संस्था खोले। तथागत ओशो तपोवनमा आबद्ध भए।
अनुयायी मित्रहरुलाई गद्दार घोषित गर्ने मैत्रेय सुरुमा ओशो तपोवनसँग आबद्ध थिए। त्यहाँ मनमुटाव भएपछि उनी ओशोधारामा लागे। ओशोको शिक्षालाई आफूहरूले वास्तविक रूपमा बुझेर ग्रहण गरेकोे मान्छन्, ओशोधाराका संन्यासीहरू।
अध्यात्मचिन्तकबीच मुटाव स्वदेशमा मात्र होइन, ओशो तपोवन र ओशो आश्रम भारत पुनाबीचको सम्बन्धत झन् पानी बाराबरकै रुपको छ।
डेढ दशकयता योग–ध्यानबारे केही सिक्ने हुटहुटी पलाएपछि यो पंक्तिकारले जति आश्रम चहार्योम, त्यहाँका गुरुहरू अहंकारबाट कोही अछूत भेटिएनन्। जो आफूले आत्मसाक्षात्कार गरेको दाबी गर्छन्, एकाध छाडेर सबै दम्भी, मुडी र अहंकारी
दुरुस्तै राजनीतिमा जस्तो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई आफ्नै नेताहरूले गद्दार घोषणा गरेका थिए। सत्ता महŒवाकांक्षाका लागि लड्ने नेताहरूले एकअर्कालाई सिध्याउन यस्ता तिकडम इतिहासमा कैयन पटक गरेका छन्, गर्दै आएका छन्। व्यावहारिक दुनियाँका मानिसले अहंकार देखाउनुलाई अस्वाभाविक भन्न पनि सकिन्न, तर, जीवन जिउने कला सिकाउने 'आत्मज्ञानी' भइसकेको दाबी गर्नेहरु नै आफ्नै संस्थाका सदस्य अनुयायीलाई किन यति तल्लो स्तरमा गाली गर्छन्? सामान्य विवादलाई किन 'पहाड' बनाउँछन्? जो काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्नुपर्छ भन्दै जगतसामु प्रवचन दिन्छन्, व्यवहारमा भने त्यही दोहोर्याबउँछन्?
जवाफ सोझो आउँछ – अहंकार।
अहंकार (इगो ) मानिसभित्र भित्री रूपमा गढिएर रहेको तŒव हो। त्यही इगोे नष्ट गरेर दिव्य जीवन जिउने लालसासहित कुनै पनि व्यक्तिले आध्यात्मिक यात्रा थालेको हुन्छ। तर, साधना सिकाउने व्यक्ति नै अहंकारी भयो भने यात्राले सही बाटो लिन सक्दैन। अहंकारीे मानिसले आफू जहाँ छ, त्यहाँ द्वन्द्व सिर्जना गर्छ। मन्दिरमा भए त्यहीँ द्वन्द्व, मस्जिदमा भए त्यहीँ झगडा। आश्रम, ध्यान केन्द्र जताततै तनाव र विवाद यसैको परिणाम हो।
आफूलाई रुपान्तरण नगरी बाहिर अध्यात्मको लोगो भिर्दैमा कोही साधक बन्न सक्दैन न त्यो व्यक्ति शान्त र आनन्दित रहन सक्छ। त्यस्ता व्यक्ति जुनसुकै पदवी प्राप्त गरे पनि 'कन्डिसनिङ' मनबाट निर्देशित हुने भएकाले परिस्थिति पाउनासाथ अहंकार देखाइहाल्छ।
'अहंकार भएको मानिसले विवेक प्रयोग गर्दैन, उसले ठिक/ बेठिक छुट्याउन सक्दैन। आफू मनगढन्ते तर्क गर्छ र अरु मानिसलाई पनि त्यही बाटो अँगाल्न बाध्य पार्छ,' स्वधर्मका व्याख्याता शिवपुरी बाबाले भनेका छन्।
आचार्य मैत्रेय होस् या ओशो तपोवन र ओशो विचारधाराबीचको कटुता, शिवपुरी बाबाकै अनुसार आफूभित्रकै अहंकारका सिकार भएका हुन्।
अहंकारलाई मनोविज्ञानले सटिक रूपमा विश्लेषण गर्छ। बाहिरी रूपमा आफूलाई विशिष्ट देखाए पनि 'इगो' लिएर बाँचेकाहरुमा त्यसको असर तुरुन्त देखिइहाल्छ। मनोवैज्ञानिकहरू भन्छन्– मानिसमा अहंकार पनि तीन तहको हुन्छ– 'इड', 'इगो' र 'सुपर इगो'।
एउटा सामान्य मानिसको 'इगो' जनावरको जस्तो हुन्छ, एक समूहद्वारा अर्काे समूहमाथि आक्रमण तथा यौन, बासस्थान र खानाका लागि लडाइँ। जुन 'इड' हो।
अर्को प्रकारको 'इगो' भएकाले म ठूलो नेता, मेरो पद ठूलो, मेरो धर्म विशिष्ट, मेरो राष्ट्र महान, मेरो संस्कृति मात्र गतिलोजस्ता कुरासँग तादात्म्य राख्छ। मनले जब कुनै चिजसँग तादात्म्य गर्छ, त्यसभित्र 'इगो' जन्मिन्छ। जति धेरै कुरासँग मनको तादात्म्य हुन्छ, त्यति धेरै 'इगो' हुन्छ। धनी मानिस छ भने धनको 'इगो' हुन्छ। कोही मन्त्री, प्रधानमन्त्री जस्तो पदमा छ भने उसले म जे पनि गर्न सक्छु भन्ने अहंकार पाल्छ। कोही मान्छे गुरु भयो भने उसले म त गुरु, सामान्य मान्छे कहाँ हुँ र, मन्त्री, सभासद र ठुल्ठूला मान्छे मेरा चेला–चपेटा छन् भनेर दम्भ गर्छ। मनको बेहोस तादात्म्यले उसको मनभित्र 'इगो' जन्माउँछ र गुरुले आफ्ना शिष्यहरुलाई आध्यात्मिक अनुभूतिको सही बाटो देखाउन सक्दैन।
भौतिक संसारसँगको तादात्म्यबाट निस्कने 'इगो' ले युद्ध, अपराध, लडाइँ, भ्रष्टाचार, व्याभिचार र दुराचार जन्माउँछ।
मनोविज्ञानकै अनुसार 'इगो'भन्दा माथिल्लो 'सुपर इगो' को अवस्थामा भने मानिस तटस्थ बन्छ, उसमा अहंकारभन्दा पनि प्रेम, आनन्द र चैतन्यको अनुभव हुन्छ। यो अवस्थामा मानिस वास्तवमै आध्यात्मिक बन्न सक्छ, उसले आध्यात्मिक हुँ भनेर 'विज्ञापन' गरिरहनुपर्दैन। मानिसको मनको चेतन, अर्द्धचेतन, अवचेतन, संग्रहीत अवचेतन हुँदै उच्चचेतन, संग्रहीत उच्चचेतन र कस्मिक उच्चचेतनको अवस्था हुन्छ।
मानिसले चेतन हुँदै कस्मिक उच्चचेतन अवस्थामा यात्रा गर्नेबित्तिकै उसको 'इगो' हराएर 'सुपर इगो' मा परिणत हुन्छ, जसलाई 'इगोलेस इगो' पनि भनिन्छ। तर, मानिस संग्रहित अवचेतनको स्थितिमा रहयो भने उसले साधनाबाट अलिकति शक्ति पाउनेबित्तिकै अरुलाई कन्ट्रोल गर्ने, प्रभावमा पर्ने, कमान्ड गर्ने जस्ता काम गर्छ। त्यसको आधारमा उसले 'शक्तिशाली व्यक्ति' हुँ भन्ने हुँकार गर्छ। अध्यात्ममा राम्रोसँग प्राणायाम, ध्यान अनि राम्रोसँग अनुभूति गरेन भने उसले तटस्थ भावमा रहेर शरीर, मन, बुद्धि, भावना, अहंकारभन्दा माथि उठेर जीवनको सत्यलाई अनूभूत गर्न सक्दैन। उसले त अलिकति शक्ति पाउनेबित्तिकै अहंकार प्रस्तुत गर्छ। गलत गुरुहरूको संगतले आध्यात्मिक खोजमा लागेका मानिसहरुको जीवन बर्बाद भएको देखिन्छ।
अध्यात्मका लागि बाहिरी प्रदर्शनभन्दा पनि स्वदर्शन नितान्त आवश्यक रहेको र यसका लागि व्यक्तिको अहंकार नै सबैभन्दा बाधक रहेको देखिन्छ। गेरु वस्त्र, माला त साधनालाई सहज बनाउने माध्यम मात्र हुन्, साध्य होइनन्। कुनै सम्प्रदायको ट्याग लगाएर मात्र मानिस आध्यात्मिक हुन सक्दैन। जुनसुकै पेसा–व्यवसाय गरेको मानिस पनि आध्यात्मिक हुनसक्छ, जो तटस्थ हुन्छ, सम्भावमा हुन्छ, इगो होइन, सुपरइगोमा हुन्छ अनि सन्तुलित हुन्छ। आध्यात्मिक सन्तहरु आफू निसर्त प्रेम, करुणा, शान्तिको अवस्थामा जिउँछन् र अरुलाई पनि त्यही बाँड्छन्। जब अध्यात्ममा पनि अहंकारी व्यक्तिहरुको प्रवेश हुन्छ र उनीहरूले आश्रम सञ्चालन गर्छन्, त्यहाँ अहंकारले काम गर्छ। अध्यात्ममा पनि उनीहरुले शक्ति ,पैसा, यौन आदिकै पछाडि दौडन्छन्। आशाराम बापुजस्ता यौनदुराचारीहरूले अध्यात्मको आवरणमा फस्टाउने मौका पाउँछन्।
साधकहरूले आध्यात्मिक अनुभूतिलाई 'सुपर इगो' वा 'इगोलेस इगो' मान्दै आएका छन्।
'इगो' निमिट्यान्न बनाएर मात्र 'सुपर इगो' मा पुग्न सकिन्छ। त्यसका लागि सही प्राणायाम, ध्यान एउटा सोपान बन्न सक्छ। काम, क्रोध, लोभ, मोह र अहंकारको रुपान्तरण भएर जीवन आनन्दमय बन्नसक्छ। रामकृष्ण परमहंस, रमण महर्षि, शिवपुरी बाबा, परमहंस योगानन्द, खप्तड बाबा लगायत सन्तहरूले सरलतालाई नै अध्यात्मको कडी बताएका छन्। आत्माअनुभूतिको झल्को पाएका उनीहरुले कसैलाई प्रभावमा पार्ने काम गरेनन्। सन्त कर्म गर्छन्, श्रेय लिँदैनन् भन्ने भनाइलाई उनीहरुले आत्मसात गरे, पद, शक्ति र पैसाको पछि लागेर समाज र शक्तिलाई नियन्त्रणमा लिने बबन्डर कहिल्यै गरेनन्।
प्रकाशित: २४ जेष्ठ २०७१ ००:२१ शनिबार





