पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ । टाईगर ग्रुप अफ नेपालको आयोजनामा ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । छैटौं संस्करणको यो प्रतियोगिताको गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव तथा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लवले विजयी सुरूआत गरे । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लव विजयी भयो । एपीएफले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको हो । एपीएफले गण्डकीलाई २५–२३, २५–२७, २५–१९ र २५–१९ ले ले पछाडि पार्दै विजयी भयो । सो खेलमा विजयी एपीएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।
यस्तै पुरुषतर्फकै दोस्रो खेलमा विभागिय टोली त्रिभूवन आर्मी क्लबले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । आर्मीले मालदिभ्सलाई २५–१५, २५–२२ र २५–१० को सोझो सेटमा जित्दै विजयी शुरुआत गरेको हो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने ।
महिलातर्फको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब विजयी भयो । न्यू डायमण्डले त्रिभूवन आर्मी क्लवलाई सोझो सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको हो । न्यू डायमण्डले आर्मीलाई २५–१३, २५–१६ र २५–०८ को सोझो सेटमा पराजित गर्न सफल भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिता अन्तर्गत शनिबार महिला र पुरुषतर्फ दुई/दुई खेल हुने आयोजक टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार शनिबार महिलातर्फ विभागिय टोलीहरु नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी क्लव तथा एपीएफ क्लब र पाहुना टोली थाइल्याण्ड क्विन्स आमनेसामने हुनेछन् ।
त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र पाहुना टोली मालदिभ्स भलिबल क्लब तथा विभागिय टोली नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबल संघ आमनेसामने हुने अध्यक्ष शर्माले बताए ।
प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फको उपाधि बिजेता टिमले जनहि नगद ६ लाख ६६ हजार ६६६, उप–बिजेताले नगद ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी महिला तथा पुरुषतर्फ दुबैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनहि नगद २६ हजार ६६६ तथा अन्य महिला तथा पुरुष दुबैतर्फ विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
प्रकाशित: ९ माघ २०८२ १९:११ शुक्रबार





