चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाई–कास्टिङ मेसिन जडित कम्पोनेन्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । १६ हजार टनको उक्त डाइ–कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादनका रुपमा ब्याट्री केसिङ उत्पादन गरेको छ ।
यस मेसिनको साहयताले केवल दुई मिनेटमा, गाडीको ब्याट्री ट्रे र ब्याट्री केसिङहरूलाई आवश्यकता अनुसारको आकारमा डाइ–कास्ट गर्न सकिने कम्पनीले जनाएको छ । कारखानामा विश्वको सबैभन्दा ठूलो १६ हजार र १० हजार टनको डाइ–कास्टिङ डुअल उत्पादन लाइन छन् ।
चीनमा डिजाइन र निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको उक्त प्लान्ट विश्वमा हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखाना बनेको छ ।
आगामी अप्रिलदेखि ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको उक्त प्लान्टबाट उत्पादित कम्पोनेन्टलाई कम्पनीले डोङफेङ ००७, ००८ र भोयाह ड्रीमर जस्ता मोडेलमा पहिलोपटक प्रयोग गरिने अनुमान गरिएको छ ।
कारखानाले मुख्यतया ब्याट्री केसिङ सहित न्यू ईनर्जी भेइकलका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट स्ट्रक्चरल कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन र बिक्रीमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।
परम्परागत उत्पादन विधिहरूको तुलनामा, डाइ–कास्ट ब्याट्री केसिङले ब्याट्री प्रणालीको सुरक्षा सुधार गर्न, गाडीको तौल र ऊर्जा खपत घटाउन र न्यू इनर्जी भेइकलको ड्राइभिङ रेन्ज विस्तार गर्न मद्धत पुर्याउने अपेक्षा गरिएको छ ।
४७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको यो कारखानालाई कम्पनीले नोभेम्बर २०२४ मा निर्माण सुरु गरेको थियो । यसको मुख्य कारखाना भवन अगस्ट २०२५ मा १ अर्ब युआन (१४३.६ मिलियन अमेरिकी डलर) को कुल लगानीमा सम्पन्न भएको थियो ।
हालका लागि यस प्लान्टले वार्षिक २ लाख अटोमोटिभ कम्पोनेन्ट उत्पादन गर्ने क्षमता राख्ने भएपनि दोस्रो चरणमा विस्तार गरी चार उत्पादन लाइनहरू निर्माण गर्ने योजना बनाएको छ । त्यसपछि भने वार्षिक ६ लाख कम्पोनेन्ट उत्पादन गर्न सकिन्छ ।
प्रकाशित: ९ माघ २०८२ १९:३६ शुक्रबार





