१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
शिक्षा

पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव

बाँसगढी नगरपालिका–८ लक्ष्मणाको पूर्णहिरा माध्यमिक विद्यालयको वार्षिक उत्सव भव्य रुपमा मनाईएको छ । पूर्णहिरा माविको ३८औं वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरुले सचेतनामुलक नाटक र नृत्य प्रस्तुत गरेका थिए ।  

लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्‍याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।  

विभिन्न बाधा अवरोध र समस्याको समाना गर्दै आज ३८औं वार्षिक उत्सव मनाईरहेकोमा विद्यालय परिवार हर्षित भएको विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदीले बताए । ‘अझै पनि धेरै चुनौती छन्,’ प्रधानाध्यापक सुवेदीले भने, ‘प्राविधिक शिक्षाको आकर्षण घट्दै गईरहेको छ, त्यसलाई कसरी बढाउने हामी माँझ चुनौती छ ।’  

विद्यालयमा शिक्षक व्यवस्थापनको अर्को समस्या रहेको उनले सुनाए । विद्यालय स्रोतबाट राखेका ६ जना शिक्षकलाई तलव दिन समस्या भईरहेको र अभावकै कारण प्रविधिमैत्री कक्षा संचालन गर्न नसकेको प्रधानाध्यापक सुवेदीले दुखेसो सुनाए ।

हाल साधारण धारतर्फ ६ सय १९ जना र प्राविधिक धार तर्फ १९ जना विद्यार्थी अध्ययनरत छन् ।  

विद्यालयको संस्थापक स्व.हेमराज ज्ञवालीको आमाको नाम पूर्णा कुमारी र दिनानाथ ज्ञवालीको आमाको नाम हिरा रहेकोले २०४४ माघ ९ गते बसन्त पञ्चमीका दिन पूर्णहिरा प्राथमिक विद्यालय स्थापना भएको थियो । स्व.हेमराज ज्ञवालीको पहलमा ककौरामा पनि पुस्तकालय स्थापना भएको थियो ।  

यो विद्यालयलाई पालिकाको नमुना विद्यालय बनाउन लागिरहेको बाँसगढी नगरपालिका–८ का वडा अध्यक्ष तुल प्रसाद गौतमले बताए ।

झुपडीबाट सुरु गरेरको विद्यालय आज पालिकामा उत्कृष्टको रुपमा गानिदाँ आत्म सन्तुष्टि मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ज्ञवालीले बताए । ‘पहिला गाउँमा विद्यालय थिएन र यहाँका साना बच्चाहरु ठुलो नाला पार गरेर ककौरा पढ्न जान बाध्य थिए,’अध्यक्ष ज्ञवालीले भने,‘त्यसपछि हामी दुई भाई मिलेर आमाहरुको नामबाट विद्यालयमै विद्यालय स्थापना गरी गाउँका बच्चाहरु पढ्ने वातावारण मिलाएका थियौं ।’

विद्यालयद्वारा आयोजित वार्षिक उत्सव समारोहमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का,उप–प्रमुख इन्दिरा चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ज्ञवाली, विनोदराज ज्ञवाली, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायत, विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।

 

प्रकाशित: ९ माघ २०८२ १९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App