ढोरपाटन उत्तरपट्टिका हिमशृंखला वर्षैभरि हिउँले ढाकिएका हुन्छन् भने दक्षिणतर्फका केही कम उचाइ भएका भू–भागमा हिउँदमा मात्र हिउँ पर्छ। आरक्षको धेरै भू–भाग घाँसे मैदान, भीर, पहराले भरिएका छन् भने बाँकी भू–भाग भीर, खर्क, बुट्यान, जंगल एवं खोलाले ओगटेको छ। आंशिक भाग खेतीयोग्य जमिनका रूपमा प्रयोग भएको छ। मुख्यतया यहाँ मगर, थकाली, गुरुङ एवं दलित समुदायलगायतका मानिस बसोबास गर्छन्।
करिब २,००० मिटरदेखि ७,२४६ चुरेन हिमालसम्मको उचाइमा फैलिएको हुनाले पनि यस आरक्षमा शितोष्ण, लेकाली एवं हिमाली हावापानी पाइन्छ। वर्षातको समय जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ भने कात्तिकदेखि बाक्लो तुषारो एवं माघ महिनादेखि लगातार हिउँ पर्छ।
आरक्षणको ठूलो क्षेत्रफल वनले ओगटेको हुँदा यहाँ अनेकन जातका वनस्पति खोटो सल्ला, गोब्रे सल्ला, धुपी, भोजपत्र, खर्सु्र, गुराँस पाइन्छन् भने दुर्लभ जडिबुटीको रूपमा प्रयोग हुने यार्सागुम्बा, पाँचऔंले, जटामसी, निरमसी, बाँझ, चिराइतोलगायत जडिबुटीका लागि पनि यस क्षेत्र महŒवपूर्ण मानिन्छ। त्यस्तै दुर्लभ एवं संरक्षित पंक्षी सूचीमा परेका डाँफे, मुनाल, हिउँकुखुरा, कोकलास, चिरलगायतका चरादेखि जनावरमा नाउर, घोरल, झारल, सिंह, रेडपान्डा, हिमाली कालो भालु, हरिणलगायतका जनावर अवलोकनका लागि पनि यस क्षेत्र प्रसिद्ध छ। सेंग र सुन्दह क्षेत्रमा वन्यजन्तुहरू बढी पाइन्छन्।
सोखका लागि सिकार गर्नेदेखि अन्तर्राष्ट्रिय सिकार प्रतियोगितासम्ममा भाग लिएका सिकारी यहाँ आउँछन्। राष्ट्रिय निकुञ्ज आरक्षण विभागले टेन्डर आह्वान गरी सिकारी पठाउँछ। आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइने सिकार आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताए।
उनका अनुसार एउटा नाउर सिकार गर्न सिकारीले तीन लाखसम्म खर्च गर्नुपर्छ। सिकारीलाई लाइसेन्सदेखि लिएर सिकार खेल्न लाग्ने सबै रकम लिने काम विभागको हो। सिकारका लागि मंसिर र वैशाख महिना उत्तम मानिन्छ।
ढोरपाटन धार्मिक गन्तव्य पनि बन्न सक्छ। आरक्ष कार्यालयबाट एक किलोमिटर दूरीमा देउराली नजिकै उत्तरगंगा र ढोरवराह थान छ। जहाँ धार्मिक पर्यटकको घुँइचो लाग्छ। वैशाख पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्छ। मेला भर्न बागलुङ, म्याग्दी, रोल्पा, रुकुम, गुल्मी, बुटवललगायतका जिल्लाबाट हजारौं श्रद्धालु भक्तजन आउँछन्। पूर्व, पश्चिम, उत्तर, दक्षिण विभिन्न दिशाबाट यस क्षेत्रको भ्रमण गर्न सकिने सम्भावना छ। बागलुङ–बुर्तिवाङ–ढोरपाटन, बेनी–दरवाङ–मुना–ढोरपाटन, बुटवल–गुल्मी–बुर्तिवाङ–ढोरपाटनलगायत रुकुम, डोल्पा र प्युठानबाट पनि पर्यटकीय मार्ग विस्तार गर्न सकिन्छ।
मध्यपहाडी लोकमार्ग पनि यसै आरक्ष भएर जाने र ढोरपाटन क्षेत्रमा सरकारले ३ सय मेगावाट क्षमताको जलविद्युत आयोजना अध्ययन गर्दै छ। यसबाहेक छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको वराहथान, चिसापानी भण्डारी गाउँको सिमवराह, पुख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुन दह, जाल्पाताल, रुद्रतालजस्ता अन्य धार्मिक स्थल पनि यहाँका पहिचान हुन्। जहाँ आ–आफ्ना समय परपम्पराअनुसार पूजाआजा तथा प्राकृतिक सौन्दर्यको रसपान गर्न सकिन्छ।
आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि बढ्दै जान थालेको छ। गुरिल्ला पदमार्गसँग पनि ढोरपाटन जोडिएको छ। आरक्षको पूर्वी सिमानाको जलजला क्षेत्र क्याम्पिङका लागि उपयुक्त छ। यहाँबाट यस क्षेत्रका विभिन्न भूप्राकृतिक दृश्यको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। हवाई मैदान भए पनि ०४४ देखि हवाई सेवा बन्द छ।
आरक्ष क्षेत्र भित्रका छ्यान्तुङ, गुर्जाखानी, लम्सुङलगायतका क्षेत्रलाई क्याम्पिङ साइटको रूपमा विकास गर्न स्थानीय आमा समूह सक्रिय छन्।
वनस्पति तथा वन्यजन्त अध्ययन गर्न आरक्ष उपयोगी छ। ठाउँ–ठाउँमा होटल, लजलगायत पर्यटन पूर्वाधार बनाउने काम भइरहेको छ। अब ढोरपाटनको प्रवर्द्धन जरुरी छ।
कसरी पुग्ने
काठमाडौं, पोखरा, बागलुङ, बुर्तिवाङ, बोवाङ मोटरबाटो हुँदै ढोरपाटन पुग्न सकिन्छ। रुकुम र म्याग्दीबाट ३ देखि ४ दिन हिँडेर पनि पुगिन्छ।
प्रकाशित: २४ जेष्ठ २०७१ ००:०७ शनिबार





