हाम्रो प्रकृतीप्रेमी समूह पनि २०७० चैत अन्तिम हप्ता काभ्रेको कामीडाँडा पुगेको थियो। कामीडाँडा (२,१०० मिटर) पुगेको भोलिपल्ट चिसो हावामा उकालो चढ्यौं। डाँडाको टुप्पामा महाँकालथान रहेछ। कुमारीमाईको मन्दिर। खुल्ला आकाशमुनि मूर्ति र त्रिशूलहरू छन्।
चारैतिर हरिया डाँडा छन्। राति पानी परेकाले बिहान मौसम खुलेको थियो। सूर्यको प्रकाश बिस्तारै हामीसम्म आइपुग्यो। न्यानो भयो। एक समय थियो, कामीडाँडामा माओवादी परेड खेल्थे। यहाँ बसेर शक्ति सञ्चय गर्थे। उनीहरूले खनेको बंकर हेर्यौंा हामीले।
हामी १३ जना थियौं। हामीले पनि त्यहाँ परेड खेल्यौं। शोभियतराम राउत दाइले हाम्रो समूहलाई 'लेफ–राइट' गराउनुभयो। चिसोमा जिउ तताउन एक घन्टा योगा गराउनुभयो। पदयात्रासँगै योग अभ्यास। पदयात्रा गर्दा खुट्टाका जोर्नी बलियो हुन्छ भने योगाले शरीरका सबै अंग र जोर्नीको लचकता बढाउँछ।
योगा संसारभर प्रख्यात छ। बु‰नुपर्ने के छ भने, दस ठाउँमा जिउ बंगाएर गर्ने आसनमात्र योगा होइन। स्वस्थ शरीर, सफा मन लिएर आनन्दसँग जीवनयापन गर्न सिकाउने वैज्ञानिक प्रक्रिया नै योगा हो। हाम्रो समूहका संस्थापक डा. उमेश श्रेष्ठले शरीरलाई चाहिने आसन, प्राणायाम र ध्यान मिसाएर एक घन्टे योगा सेट बनाउनुभएको छ। हामीले बिहान त्यसै गर्यौं।
कामीडाँडा काभ्रेमा पर्छ। उहिल्यै डाँडामा कामीको घर भएकाले कामीडाँडा भनिएको रे। तामाङ बाहुल्य गाउँमा बाहुन, क्षत्री, नेवार, कामी, दमाई आदिको बसोबास छ। बाह्रै महिना चिसो हुने ठाउँ। त्यहाँ पुगेर काठमाडौंको गर्मी छल्न सकिन्छ। गाउँले जीवनशैली र आत्मीयता पाइन्छ। गाउँले मेहनती छन्। कृषि र पशुपालनमा रमेका। मकै, आलु, तोरी, गहुँ र फापर खेेती हुन्छ। रायो, काउली, मुला, बन्दा आदिको खेती गरिन्छ। तर, उचाइको गाउँ भएकाले धान खेती हुँदैन।
गाउँमा एउटामात्र होमस्टे छ, इलामे दाइ–भाउजूले चलाएको। बीस जना पाहुना बस्न सक्छन्। उनीहरू पाहुनालाई सेल, आलु र चियाले स्वागत गर्छन्। चिटिक्क घर, सफा आँगन। नजिकै करेसाबारी, अलिक तल चियाबारी। मैले टिभी, तस्बिर र फेसबुकमा इलामको चियाबारी देखेको थिएँ। कामीडाँडामा पहिलोपटक बोट देखेँ। बगान देखेँ। चियाको मुना छोएँ।
हामीले चियाबारीमा फोटा खिच्यौं। इलामे जोडीले ६ रोपनीमा चिया रोपेका रहेछन्। भिरालो डाँडामा चिया खेती। त्यहाँका तीस परिवारले पनि रोपेका छन्। चिया खेती बढ्दै गए कामीडाँडा अर्को इलाम बन्न सक्छ।
'हामीले चिया खेती गरेको ७ वर्ष भयो,' भाउजू मुना नेपालले भन्नुभयो, 'अहिले त यहाँ चिया खेतीको लहर चलेको छ।'
इलामे दाइ गोपाल नेपाल ५४ वर्षका हुनुभयो। भाउजू ३१ वर्षकी। प्रेमविवाह गरेका। दुई छोरा यतै पढ्छन्। 'पाहुना भनेका देवता समान हुन्,' निकै जाँगरिली र मिलनसार भाउजूले भन्नुभयो। डाँडाजस्तै स्वच्छ छ उहाँको मन।
गाउँमा प्रदूषण छैन। बिहान सूर्योदय र साँझ सूर्यास्तको मनोरम दृश्य देखिन्छ। आकाश उघि्रएका बेला उत्तरमा हिमाल हाँस्छन्। हरियालीमा आँखाले शीतलता पाउँछन्।
हामीले दुई रात कामीडाँडामा बितायौं। वरपरका गाउँ डुल्यौं। त्यहाँ गाई फार्म पनि रहेछ। हामी चैत २९ गते त्यहाँ पुगेका थियौं। निरोगधाम सातदोबाटोबाट खोपासीसम्म गाडीमा गयौं। त्यहाँबाट पदयात्रा। हामी कामीडाँडा पुग्दा दिउँसोको ४ बजिसकेको थियो।
खोपासीबाट ख्याकु भन्ज्याङ हुँदै गाउँको बाटो हिँड्नुपर्छ। एक घन्टा ठाडो उकालो चढेपछि डाँडागाउँ भन्ज्याङ (१,६०० मिटर) पुगिन्छ। त्यहाँबाट ओरालो झर्ने लड्केश्वर खोला (१,४०० मिटर) सम्म। खोला किनारमा बसेर खाना खायौं।
त्यहाँबाट जंगलको उकालो चढ्ने। उकालोमा पसिना छुट्छ। पसिनाबाट शरीरभित्रको विकार बाहिर निस्कन्छ। स्वच्छ हावामा शास फेर्दै हिँड्न पाइन्छ। बेलाबेला हामीले हाइकिङ गर्नुपर्छ। त्यसबाहेक हरेक बिहान एक घन्टा हिँड्नु लाभदायक हुन्छ। त्यसले शरीरमा स्फुर्ति र ताजापन बढ्छ। साथै उचित आहार र पानीको प्रयोग गर्नुपर्छ।
खोलाबाट दुई घन्टा ठाडो उकालो चढेपछि च्यासिङखर्क, छिर्केडाँडा हुँदै कामीडाँडा पुगिन्छ। जतिजति उचाइ चढ्दै गयो त्यतित्यति चिसो हावाको स्पर्शले ताजापन थपिदिन्छ। भिरालो बारीमा किसानले चर्को घाममा पसिना चुहाउँदै काम गरेको देख्दा हिँड्ने ऊर्जा थपिदिन्छ। चराको चिरबिर, हरियालीबीचमा लुकेर बसेका बस्तीको सौन्दर्यले मन भुलाउँछ। सिजनमा त बाटो छेउका झ्याङमा ऐँसेलु टिप्दै हिँड्न सकिन्छ।
हामी कामीडाँडा पुगेको तेस्रो बिहान खाना खाईवरी ओरालो झर्यौंब। वैशाख १ गते भएकालेे सबैतिर रौनक थियो। कोही पिकनिकमा निस्केका त कोही टोलछिमेकमै भोज गर्दै। रञ्जित तामाङ, पुष्प खड्का र पुरेन्द्र विक्रम लाखेका जोक्सले हिँड्न रमाइलो भयो भने डा. उमेशका स्वास्थ्यवर्द्धक कुराले ज्ञान थपियो।
खोपासीदेखि कामीडाँडासम्म हाइकिङ मार्ग साढे ८ किमि छ। उकालो भएकाले पदयात्रा समय धेरै लाग्छ, ५ घन्टा। कामीडाँडालाई आधार बनाएर धेरै ठाउँ घुम्न सकिन्छ। नारानथान छ, जहाँबाट तराईका फाँट देखिन्छ। त्यस्तै महाँकाल मन्दिर र धुमखर्क रमणीय छन्। कामीडाँडाबाट धुमखर्क हुँदै बेथानचोक भएर फर्कन सकिन्छ। बल्थली हुँदै नमोबुद्ध भएर फर्कन पनि मिल्छ। हामीचाहिँ मनभरि कामीडाँडालाई सजाएर बल्थली हुँदै खोपासी झर्यौं।
कामीडाँडाजस्ता सुन्दर गाउँ धेरै छन्, नेपालमा। समय–समयमा हामी त्यस्ता ठाउँ पुग्नुपर्छ। नेपाल चिन्नुपर्छ। जातजातिको जीवनशैली र संस्कृति बुझ्नुपर्छ। यात्रा गर्दा धेरै कुरा विचार पुर्यारउनुपर्छ। बर्खामा छाता/बर्सादी र टे्रकिङ लौरो चाहिन्छ। पानी, पछाडि भिर्ने ब्याग, सनग्लास, क्याप, टावल, ज्याकेट बोक्नुपर्छ। हिँड्न सजिलो जुत्ता लगाउनुपर्छ। कतिबेला के पर्छ, त्यसैले प्राथमिक उपचारका सामान सिटामोल, टेप, मलम, ब्यान्डेज र सियोधागो साथमै हुनुपर्छ।
कसरी पुग्ने
काठमाडौंबाट बनेपा र बनेपाबाट पनौती हुँदै खोपासीसम्म बसमा। खोपासीबाट पदयात्रा। पनौतीबाट कामीडाँडासम्म गाडी पनि चल्छन्। बिहान ७, १० र दिउँसो ३ बजे। गाडी भाडा ९० रुपैयाँ। तिनले दुई घन्टामा गन्तव्य पुर्यानउँछन्।
प्रकाशित: २३ जेष्ठ २०७१ २३:३४ शुक्रबार





