११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

सहरमा भित्रियो नयाँ ड्रग्स

काठमाडौं- प्रहरीले चरेस, गाँजा, हेरोइन, ब्राउन सुगर, कोकिन, अफिमजस्ता अवैध लागूऔषध दैनिकजसो बरामद गर्ने गरेकोमा नयाँ खालको लागूऔषधसमेत भित्रिने गरेको पाइएको छ।लागुऔषध नियन्त्रण ब्युरोले नेपालमा एलएसडी (लाइसेरजिक एसिड डाइथाइलमेड) नामक नयाँ लागुऔषध (ड्रग्स) बिक्रीवितरण हुने गरेको फेला पारेको हो। ब्युरोबाट खटिएको अप्रेसन टोलीले राजधानीबाट दुईजना विदेशी नागरिकसँग २ सय १३ पिस एलएसडी ड्रग्स फेला पारेको हो।
प्रहरीले केही दिनअघि पक्राउ गरी आइतबार सार्वजनिक गरेका विदेशी नागरिकमा जर्मनीका २८ वर्षे फ्लोरेन जोहानिस भ्यालेन र युक्रेनकी २४ वर्षे बालशोभा एनास्तासिया छन्। फ्लोरेनसँग एलएसडी १ सय २९ पिस र बालशोभासँग ८४ पिस फेला परेको ब्युरो प्रमुख डिआइजी प्रतापसिंह थापाले जानकारी दिए। उनका अनुसार दुवैजनासँग फेला परेको लागुऔषध नेपालमा भित्रिने अन्य ड्रग्सभन्दा नयाँ हुन्।
प्रहरीले फ्लोरेनलाई वसन्तपुर दरबार स्क्वायरबाट र बालशोभालाई लाजिम्पाटबाट ५ गते सोमबार पक्रेको हो। पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। जर्मन नागरिक फ्लोरेन इन्जिनियरिङ अध्ययन सकेर नेपाल आएका हुन् भने युक्रेनकी बालशोभा बिजनेस भिसामा नेपाल आएकी हुन्। प्रहरीका अनुसार फ्लोरेनले उक्त लागुऔषध सेवन गर्ने गरेको पाइएको छ। बालशोभाले भने सेवन नगरी अन्यलाई बिक्री गर्न औषधि राखेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
'पक्राउ परेका विदेशी नागरिकबाट नेपालमा नयाँखाले ड्रग्स कारोबार हुने गरेको तथ्य बाहिर आएको छ,' उनले भने, 'यो ड्रग्स अन्य कडाखालका ड्रग्सजस्तै हो।' उनका अनुसार एलएसडी ड्रग्स नेपालमा भित्रेको नयाँ ड्रग्स भएकाले यसलाई कडा ड्रग्सअन्तर्गत नै राखेर पक्राउ परेको परिमाणका आधारमा कानुनअनुसार कारबाही हुनेछ।
ब्युरोका अनुसार नयाँ ड्रग्स भएकाले ब्युरोबाट अनुसन्धानमा खटिने कुकुरमा समेत उक्त ड्रग्सको तालिम दिइएको छैन। 'वास्तवमा यो ड्रग्सबारे हामी नयाँ नै छौं,' थापाले भने, 'यो कडा समूहमा पर्ने ड्रग्स भएको र नेपालमा यसको कारोबार बढेको देखिएकाले हामी यतातिर चनाखो भइसकेका छौं।' उनका अनुसार हाल पक्राउ परेका ड्रग्स सुराकीका आधारमा पक्रन सफल भएको हो।
प्रहरीका अनुसार उक्त ड्रग्स सेवनपछि मानिसलाई भ्रम पैदा हुन्छ। हेलोजिनस क्लासमा पर्ने उक्त ड्रग्सको रंगसमेत हुँदैन। निकै सानो कागजको टुक्रा तथा टीकाजस्तो हुने उक्त ड्रग्स कारोबार गर्नसमेत सहज हुने देखिएको छ। अमेरिकामा उक्त ड्रग्स कारोबार गर्ने व्यक्तिबाट पहलोपटक एकदेखि ९ ग्रामसम्म फेला परे पाँच वर्षदेखि ४० वर्षसम्म कैद सजाय हुन्छ। यसका साथै जरिवाना २० करोडसम्म हुन्छ। नेपालमा उक्त ड्रग्सका लागि छुट्टै सजाय व्यवस्था नभएकाले कडा लागूऔषधअन्तर्गत नै फेला परेको परिणामका आधारमा सजाय हुने थापाले जानकारी दिए।
थापाका अनुसार प्रहरीले जर्मन नागरिकलाई उक्त ड्रग्स बिक्री गर्ने गोरखा पृथ्वीनारायण नगरपालिका– २ घर भई बालाजु बस्दै आएका २५ वर्षीय सरेश गान्धारीलाई समेत पक्राउ गरेको छ। गान्धारीलाई प्रहरीले १७ ग्राम चरेससहित पक्राउ गरेको हो। गान्धारीले दिएको बयानअनुसार नै प्रहरीले युक्रेनकी बालशोभालाई पक्राउ गरेको हो।
यसैगरी, ब्युरोको टोलीले मकवानपुर टिस्टुङ–५ का ३३ वर्षीय चन्द्रबहादुर स्याङ्तान र आग्रा–९ का २० वर्षीय वीरबहादुर थिङलाई साढे पाँच किलो चरेससहित पक्राउ गरेको छ। यस्तै मेडिकल औषधि बुप्रेनफिर्न १ सय ७३, डाइजेल्याब १ सय ७३ र फेनारगन १ सय ७३ एम्पुलससहित राजविराज–३ का २० वर्षीय रोहित मण्डल, ललितपुर उपमहानगरपालिका–९ का २५ वर्षीय गगनसिंह महर्जन, १० का १९ वर्षीय विजय खड्की र काठमाडौं महानगरपालिका–१० का २४ वर्षीय आशुतोष केसीसमेत पक्राउ परेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७१ १९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App