बिपी राजमार्गको ट्र्याक खोल्न सुरु गरेदेखिनै मोटरसाइकल गुड्न थालेका हुन्। राजमार्गको स्तरोन्नति भएको र अधिकांश खण्ड पिच भइसकेकाले पनि हलेसी यात्रा सजिलो भएको छ। काठमाडौंको कोटेश्वरबाट दैनिक गाडी (टाटा सुमो) हलेसीका लागि छुट्छन्। गाडीमा एकजना ओहोरोदोहोर गर्न तीन हजार खर्च लाग्छ। त्यही खर्चको पेट्रोलले मोटरसाइकलमा २ जना हुँइकिन सस्तो र सजिलो हुन्छ। आफूलाई मन लागेका ठाउँमा रोक्दै, मन लागेका कुरा खाँदै हिँड्न पाइन्छ।
तामाकोसी बगरमा फोटो खिच्दै र खोलाको चिसो हावा खाँदै हिँड्दा थकान हराउँछ। खोलाको कलकलसँगै गीत गाएर अघि बढ्दा प्रकृतिको काखमा नाचेझैं लाग्छ। तामाकोसीको माछा खान होस् या खुर्कोटको लोकल कुखुरा। दूधकोसीमा डुबुल्की मार्न होस् या सुनकोसीको छालसँग खेल्न। मोटरसाइकल यात्राले सबै रहर पूरा गरिदिन्छ।
काठमाडौंबाट बिहान ६ः३० मा फुल ट्यांकी पेट्रोल हालेर धुलिखेल, भकुन्डेबेँसी घुमेर नेपालथोक। त्यसपछि आफ्नो ट्यांकीमा पनि नास्ता हालेपछि यात्राले गति लिन्छ। कतै ३६० डिग्रीझैं घुमेको बाटो, कतै ठाडो उकालो त कतै बनाउँदै गरेका सडक। धुलोमा अलिअलि चिप्लिँदै सिन्धुली झाँगाझोलीको रातोमाटे डाँडो उक्लिनु र भोकले घन्टी बजाउँदै गर्दा ‘अब खुर्कोट आउन कति छ?' भन्दै सोध्दै हिँड्नुमा रमाइलो छ।
झाँगाझोलीतिर कच्ची सडकको उकालोमा बाइक चढाउन धौधौ पर्योद। तर, हामी चढ्यौं। मोटरसाइकलमा जाँदा बेग्लै आनन्द। रमाइला डाँडा, खोला, झरना, भीर, हेर्दै फोटो खिच्दै आफ्नै तालमा।
गाडीमा हिँड्दा आफू न बाहिरको दृश्यावलोकन गर्न पाइन्छ न खुल्ला हावामा सास फेर्न। बाइकमा जाँदा त चिया खान मन लागे खान पाइने, जहाँ पुगिन्छ त्यहीँ बास बस्न मिल्ने। कच्ची सडकको धुलो र हिलोमा बाइक चिप्लिँदा भने साहसिक काम गरेको अनुभूति मिल्छ। काठमाडौंबाट हिँडेको दिन धुलिखेलमुनि सल्लेरीमा चिया, नेपालथोकमा नास्ता गर्न सकिन्छ। खुर्कोटमा खाना पकाउन लगाएर झोलुंगे पुलबाट बाइक तार्दै २५ मिनेट दुरीको मन्थली बजार जाँदा पनि हुन्छ। हामीले त्यसै गर्यौं ।
मन्थलीबाट फर्केर लोकल कुखुराको मासुभात खाएपछि करिब ३ किलोमिटर हुइँकियौं। सिन्धुली जाने बाटो छाडेर उदयपुरको घुर्मीतिर बाइक मोडेपछि ग्राबेल सडक सुरु हुन्छ। घुर्मीमा हल्का खाजा खाएर पहिलो रात दूधकोसी किनार जयरामघाटका टहरे होटलमा लोकल रक्सी, खोटाङे तोङ्बा र माछा खाँदै खुत्रुक्क पल्टेपछि बिहान हलेसीतिर छुट्ने गाडीले हर्न नथिचेसम्म आँखा खुल्दैनन्।
साँझ हामी पनि रम्यौं लोकल माछा र तोङ्बाको स्वादमा। गोलभेडाको अचार र असला माछा कति स्वादिलो! बिहान चिया तानेर हलेसी यात्राका लागि निस्कँदा उपयुक्त। न गाडी छुट्ने डर न सिट नपाउला भन्ने पीर। न मन्दिरमा पुगेर नुहाउन नपाइएला भन्ने चिन्ता। आनन्दको यात्रा हुन्छ मोटरसाइकलमा। जयरामघाटबाट तीन घन्टामा आरामले मन्दिर पुगिन्छ।
हलेसी त्रिधार्मिक संगम। त्यही गुफालाई हिन्दु, बौद्धमार्गी र किरातले आ–आफ्नै विधिअनुसार पाठपूजा गर्छन्। हामी गुफामा पुग्यौं। त्यहाँका देवदेवीका मूर्ति हेर्यौंय। मुख्य हलेसी गुफामा द्वार छन्। पापद्वार, गर्भद्वार, धर्मद्वार र जन्मद्वारबाट हामी भित्र पस्यौं। यसरी पस्दा पाप पखालिन्छ रे।
हामी त्यहाँको मारातिका गुम्बा र बसाहा गुफा पनि घुम्यौं। हलेसीमा साना–ठूला होटल रहेछन्। त्यहाँ एकरात बस्नु राम्रो। तर, हामी त्यही दिन फर्कियौं ओखलढुंगा बजार घुम्न। हलेसीमा खाना खाएर हिँडेका हामी युगकवि सिद्धिचरण श्रेष्ठको प्यारो ओखलढुंगा बजार पुग्दा दिउँसोको ३ बजेको थियो। बाटो धुलाम्मे भए पनि सोलुखुम्बुतिरका हिमाली दृश्य हेर्दै रमायौं।
बसमा हलेसी यात्रा सधैं सजिलो हुँदैन। झन्झटिलो हुन्छ। सुनकोसी र दूधकोसीको बेली ब्रिज बर्खामा निकालिन्छ। त्यस्तो बेला गाडी फेर्दै झोला बोकेर अर्को गाडी खोज्नुपर्छ। मोटरसाइकल त झोलुङे पुलबाटै तार्न सकिन्छ। गाडी खोज्ने झन्झट, सिटका लागि झगडा, भाडाको किचकिच, वान्ता गर्नेहरूको फोहोरबाट मुक्त हुन मोटरसाइकल अर्को विकल्प हुन सक्छ। हिमाल, पहाड, खोला, गाउँबस्तीको फोटो खिच्दै मोटरसाइकल बिसाएर लोकल भातको स्वाद चाख्दा घरै पुगेको सम्झना आउँछ।
मोटरसाइकलमा सधैं सजिलो भने हुँदैन। बिग्रेमा सास्ती हुन्छ। बीचमै पेट्रोल सकियो भने दुःख। त्यसैले अधिकांश बाटो पहाडी र कच्ची छ भन्ने मनन् गरेर ट्युबलेस टायर भएको बाइकमा जानु बेस। एउटा हातेपम्प बोक्न बिर्सिनु हुँदैन। पूरा ट्यांकी (१६ लिटर) पेट्रोल हालेको छ भने लगभग पुग्छ नभए फर्किंदा या जाँदै घुर्मीमा बोतलमा पाइने पेट्रोल हाल्न सकिन्छ। त्योभन्दा उता पेट्रोल पाउन मुस्किल पर्छ। मोटरसाइकल बिग्रेमा नेपालथोक, खुर्कोट र घुर्मीमा सामान्य वर्कशप भए पनि अन्यत्र मेकानिक नपाउन सकिन्छ। त्यसैले हिँड्नुअघि एकपटक राम्रोसँग सर्भिसिङ गराउन भुल्नु हुँदैन।
फर्किन घुर्मीसम्म त्यही बाटो भएर आए हुन्छ, समय भए कटारी उदयपुर हुदै मिर्चैया निस्केर महेन्द्र राजमार्ग छिर्न सकिन्छ। हेटौंडा हुँदै कुलेखानीको बाटो आउँदा अर्को रमाइलो हुन्छ। भीमफेदी हुँदै चिसापानी गढी निस्केर कुलेखानीको माछा कोसेलीको रूपमा बोक्न सकिन्छ।
हलेसीबाट हिँडेको दिन आरामले बर्दिबास आउन सकिन्छ। दोस्रो दिन काठमाडौं आइपुग्न सजिलो छ। सिन्धुलीबाट नेपालथोक आएर त्यहीँ आराम गरेर बिहान काठमाडौं फर्किन पनि सकिन्छ।
हामी भने ओखलढुंगाबाट अर्को बिहान फर्केर घुर्मी आयौं। त्यहाँबाट खुर्कोट जाने सडक छाडेर कटारीतिर लाग्यौं। पथलैया, हेटौंडा, कुलेखानी हुँदै काठमाडौं आइपुग्न ७९७ किमि यात्रा गर्यौंर। पेट्रोल २१ लिटर।
प्रकाशित: ९ जेष्ठ २०७१ २३:२९ शुक्रबार





