अर्नाका अलावा हरिण, बँदेल, बाँदर, जंगली हात्ती, स्यालजस्ता जनावर पनि देख्न सकिन्छ छोटो समयमै। डुंगा यात्रा अर्को महत्त्वपूर्ण गतिविधि। कोसी नदीछेउबाट बीचमा बनेका बालुवाका स–साना अस्थायी आइल्यान्डसम्म नौका विहार गर्दा अर्नाका बथान र चराका झुन्ड देखिन्छ।
बिहानको सूर्योदय वा साँझको सूर्यास्तको सूनौलो परिदृश्यमा यस्तो गतिविधि गर्दा पर्यटक निकै रमाउँछन्। करिब ३ देखि ५ घन्टासम्म यो गतिविधि बिहान वा बेलुका गरिन्छ।
अग्ला घाँस र झार, हरिया सालका रूख, बलौटे माटोबीच प्राकृतिक बोटबिरुवा, वन्यजन्तु र चराचुरुंगी अवलोकन गर्दै नेचरवाक पनि गरिन्छ। चरा अवलोकनका लागि पर्यटन गतिविधि बढिरहेको छ। यस आरक्षमा पाइने चराचुरुंगी, वनस्पति र वन्यजन्तुसम्बन्धी स्थानीय नेचर गाइडको विशेषज्ञता विशिष्ट छ।
आरक्षछेउका कुशहवा, मधुवनी र प्रकाशपुरमा आरामदायी बसोबास व्यवस्था छ। प्राकृतिक वातावरणमा चराको मिठो चिरबिर सुन्दै रमाउन सकिन्छ। प्रायः टेन्टेड क्याम्पमा आवास व्यवस्था गराइन्छ, यसले फरक अनुभूति गराउँछ। फरक अनुभवमा रमाउनु नै पर्यटन गतिविधि हो।
यी रिसोर्टहरूमा बस्नुको अर्को महत्त्वपूर्ण पक्ष स्वच्छ खानपिन हो। प्रायःले जैविक खाना पस्किन्छन्। कोसीका ताजा माछाको स्वाद त झन् बिर्सिनसक्नु हुन्छ।
चरा र अर्नाको राजधानीकै रूपमा चिनिने कोसीटप्पुमा पाइने चरामध्ये १२ प्रजातिका त विश्वमै चुनौतीपूर्ण अवस्थामा रहेकामध्ये पर्छन्। फेब्रुअरीदेखि मध्य मार्चसम्म ५० हजारभन्दा बढी बाहिरका फिरन्ते चरा (माइग्रेटरी बर्डस्) आउँछन्। विज्ञका अनुसार साइबेरिया, मंगोलियादेखि अफ्रिकासम्मका चरा आइपुग्छन्।
विदेशी पर्यटकमात्रै होइन, विदेशी चराको पनि उत्कृष्ट गन्तव्य हो, कोसीटप्पु। आरक्षमा पाइने करिब ३१ प्रजातिका स्तनधारी, ४५ प्रजातिका घस्रेर र हिँड्ने जीवजन्तु, २ सय प्रजातिका माछा, डल्पि्कन, गोही आदिले सुनमा सुगन्ध छर्छन्। मौसम सफा रहेका दिन मकालु (८,४६३ मिटर) लगायत हिमशुंखलाको मनमोहक दृश्य हेर्न सकिन्छ।
६ वर्षपहिले आएको बाढीले ध्वस्त पारेको यहाँको विशिष्ट सीमसार क्षेत्र अहिले पुनः सम्वर्द्धित र संरक्षित भइसकेको छ। वन्यजन्तु र वनस्पतिमात्र होइन, आरक्षछेउका गाउँले संस्कृति, चालचलन, जीवनशैलीको अवलोकन पनि महत्त्वपूर्ण पाटो हुन सक्छ। स्थानीय समुदायले सञ्चालन गरेका सामुदायिक वन, बायोग्यास, माछापालन, इको क्लब आदिले घुमाइको रोमान्चकतामात्रै होइन ज्ञान पनि बाँड्छन्, आगन्तुकलाई।
विश्वको सर्वोच्च शिखर सगरमाथा र हिन्दु संस्कृतिकी आदर्श नारी सीताको जन्मथलो जनकपुर मध्य पूर्वमा पर्छ। तर, आकर्षण, सेवा सुविधा र पूर्वाधारका हिसाबले बलियो स्थितिमा रहेका थुप्रै गन्तव्य भए पनि प्रवर्द्धनका कमीले ओझेल परेझैं लाग्छ। कोसीटप्पु त एकपल्ट नपुगी नहुने गन्तव्य हो।
वास्तवमा दुई रात बसाइमा कोसीटप्पुका मुख्यमुख्य क्षेत्र घुम्न सकिन्छ। टप्पु क्षेत्रको रिसोर्टको टेन्टेड क्याम्पमा बस्न नचाहनेले विराटनगर, धरान, वा इटहरीका गुणस्तरीय होटलमा बसेर टप्पुको दिवा भ्रमण गर्न सक्छन्।
केके गर्ने
जंगल डाइभ, नेचर वाक, नौका विहार, भिलेज वाक, टेन्टेड क्याम्पमा बसाइ, स्थानीय जैविक खानपनि, फिसिङ, प्राकृतिक वातावरणमा आराम।
केके हेर्ने
अर्ना, चरा, कोसी नदीको सूर्यास्त, सूर्योदय, माछी दाइहरूले जाल हानेको, कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको प्राकृतिक संग्रहालय, गाउँलेको जीवनशैली, डल्पि्कनको डुबुल्की।
केके लाने
चरा र वन्यजन्तुको अवलोकन मुख्य गतिविधि भएकाले एउटा बाइनाकुलर, क्यामेरा, प्राथमिक उपचारका थोरै सामग्री, गर्मीयाममा लामखुट्टेले सताउने हुँदा मस्किटो रेपिलियन्ट, टर्च लाइट, पानी पिउने बोटल, हलुका लुगा।
कसरी पुग्ने
काठमाडौंबाट विराटनगरसम्म हवाई यात्रा र त्यसपछि मोटरबाटो वा विराटनगर, इटहरी, धरानबाट गाडी रिजभबाट पनि जान सकिन्छ।
(लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन्।)
प्रकाशित: ९ जेष्ठ २०७१ २३:२६ शुक्रबार





