८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

पिकनिक डेस्टिनेसन

नेपालीमाझ वनभोज खाने चलन पुरानै हो। धरानेहरू त वनभोजका गुरु नै हुन्। अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष वा ल्होसार, चासोक, माघी, माघे संक्रान्ति, शनिबार, आइतबार सधीं वनभोज।पिकनिकका लागि धरान र भेडेटार चर्चित छन्। हजारौं पिकनिक पर्यटक आउँछन्। कति आउँछन्, तथ्यांक कसैले राखेको छैन। नीति निर्माण तहमा बस्नेहरू तथ्यांकबेगर कसरी योजना बनाइरहेछन्? 
अन्य धेरै पर्यटकीय प्रोडक्टजस्तै पिकनिक पनि हाम्रो सन्दर्भमा राम्रो प्रोडक्ट हुन सक्छ। हामीले पिकनिक पर्यटनबाट लाभ लिन सकेका छैनौं। यतिमात्र होइन, अन्य पर्यटकीय प्रोडक्टबाट समुचित लाभ लिन सकेका छैनौं। यसमा स्थानीय निकायको असक्षमता भन्न अप्ठ्यारो मानेर हुँदैन। 
हामीसँग भएका वनभोज स्थलबारे चर्चा गरौं। 
सर्वाधिक रुचाइएको भेडेटारबाहेक अरू केही ठाउँ छन्। यलम्बर सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित यलम्बर पार्कमा हत्तपत्त ठाउँ नै पाइन्न, पहिल्यै बुक गर्नुपर्छ। त्यस्तै सामुदायिक वनहरूले विकास गरेका हरियाली पार्क, लांघाली, उदय, बाँझगरा पनि छन्। धरान नगरपालिकाको सप्तरंगी पार्क, पञ्चकन्या पार्क, किरात राई यायोख्खाको साकेला पार्क पनि रमाइला ठाउँ हुन्। अरू ठाउँमा पनि स्वतःस्फूर्त वनभोज खाने चलन छँदैछ। अन्यत्रका पिकनिक स्थलभन्दा धेरै व्यवस्थित भए पनि यी ठाउँमा पनि गर्नुपर्ने धेरै काम छन्। 
अलिकति सम्भावनाका कुरा गरौं। 
पिकनिक पर्यटन प्रवर्द्धन गर्ने हो भने धरानमा अझ २० भन्दा धेरै पिकनिक स्पट जरुरी छ। पर्यटकीय स्थल विकास गर्न केही तत्त्व हुनुपर्छ। तीमध्ये सुन्दरता पहिलो हो। चाहे त्यो प्राकृतिक होस् वा कृत्रिम। पर्यटकीय प्रोडक्ट बनाउन प्राकृतिकमात्र भएर पुग्ने जमाना अलिपछाडि छोडियो। त्यसैले प्राकृतिक सुन्दरताका साथमा मानवीय सिर्जना परेको सौन्दर्य पनि चाहिन्छ। 
हामीसँग भएका स्थल स्तरोन्नति गर्ने र नयाँ ठाउँ विकास गर्नुपर्छ। हामी धरान क्षेत्रका शिवजट्टा, भालुखोला, सेनगढी, वसन्तटार, शेराखोला, गुरुछाप, सुलिकोट, कोकाहा, फुस्रे, कालीखोला, माछामारा, छाताचोक, देवीगाउँ, एकलधारा, दुईधारे, तीनधारे, कुवा, तुर्के, शिवधारा आदिमा पिकनिक प्रवर्द्धन गर्न सकिन्छ। यी ठाउँमा फरकफरक ‘थिम'मा आधारित पार्क बनाउन सकिन्छ। 
शिवजट्टा, भालुखोला, शेराखोला, कोकाहा, फुस्रे, कालीखोला, माछामारामा पानीमा आधारित पार्क तथा पिकनिक स्थल बनाउन सकिन्छ। सेनगढी, सुलिकोट आदिमा ऐतिहासिक पृष्ठभूमि र वीरतामा आधारित। वसन्तटार तथा अन्य सामुदायिक वनद्वारा सञ्चालित पार्कलाई जैविक विविधता पार्कका रूपमा विकास गर्न सकिन्छ। जसले पिकनिकका साथै जैविक विविधता अध्ययन केन्द्र बन्न सक्छ। त्यस्तै विजयपुरका ढुंगेधारा जीर्णोद्वार गरी आकर्षक बनाउन सकिन्छ। ती ढुंगेधारा धरानका ‘युनिक' प्रोडक्ट हुन्, जुन पूर्वभरि कतै छैन। अहिलेसम्म ‘भिल्लका देशमा मणि'जस्तै भएका छन्। 
यो सबै गर्न स्थानीय सरकारको मात्र स्रोतले पुग्दैन। त्यसैले निजी क्षेत्र आकर्षित गर्ने नीति तथा योजना ल्याउनुपर्छ। नयाँ योजना आफैंले मात्र गर्ने पुरातन सोच धरान नगरपालिकाले त्याग्नुपर्छ। निजी क्षेत्रलाई साझेदारका रूपमा बुझ्न ढिलो नगरेको राम्रो। नगरपालिकाले आफैं क्रियाकलाप गर्ने होइन, नगरभित्रका संघसंस्था, निजी क्षेत्र र व्यवसायीलाई लगानी गर्ने वातावरण बनाइदिनुपर्छ। 
हाम्रोमा अत्यन्तै चुनौती भनेको सुरक्षा हो। जबसम्म पर्यटकलाई सुरक्षा प्रत्याभूति हुन सक्दैन तबसम्म माथिका कुरा ‘आकाशको फल आँखा तरी मर' भनेजस्तै हुन्छन्। सुरक्षा भन्नेबित्तिकै प्रहरी सम्झन्छौं, तर त्यो क्षणिक हुन्छ। स्थानीय समुदायले नै सुरक्षा जिम्मा लिए दिगो हुन्छ। 
पर्यटन अर्थसँग जोडिनैपर्छ। नत्र यो कर्म दिगो हुन सक्दैन। पर्यटन समाजसेवा होइन, शिष्ट व्यवसाय हो। यसलाई देउसी खेल्ने क्लबको कार्यक्रमजस्तो सतही ढंगबाट होइन, कर्पोरेट हाउसको प्रोजेक्टजस्तो चुस्त, दुरदृष्टिसहित नतिजामुखी, लक्ष्यकेन्द्रित, सामूहिक हित हुने खालको परिपक्व योजना जरुरी हुन्छ। त्यसका लागि लगानी हुनुपर्छ, प्रतिफलको आँकलन हुनुपर्छ, लाभको बाँडफाँटबारे स्पष्ट हुनुपर्छ। र, महत्त्वपूर्ण कुरा सबैको अपनत्व हुनुपर्छ।
उपरोक्त स्थल चयन गरिसकेपछि आवश्यक सुविधा पनि उपलब्ध गराउन सकिन्छ। पानी, बत्ती, सुरक्षा, सञ्चारजस्ता आधारभूत सुविधाका साथै पिकनिकका सामग्री। घरबाट खाली आए पनि खाद्य सामग्री तथा आवश्यक सबै चिज त्यहीँ उपलब्ध गराउन सके नेपालमै नभएको नौलो सुविधा हुन सक्छ। त्यसले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्छ। व्यापार पनि बढाउँछ। गृहिणीको खेर जाने समय सदुपयोग हुन्छ। यसले कम्तीमा ४–५ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिलाउनेछ। खाद्यसामग्री, माछामासु, यातायात आदिको व्यवसाय वृद्धि हुन्छ। 
यतिमात्र गरेर पुग्दैन, प्रवर्द्धन जरुरी हुन्छ। प्रवर्द्धन नगरी केही बिक्दैन। प्रवर्द्धन जिम्मा सिद्धहस्त व्यावसायिक टिमलाई दिनुपर्छ। देख्दा सजिलो लाग्छ प्रवर्द्धन काम र हामी आफैं गर्न तम्सिन्छौं। तर, प्रवर्द्धन गाह्रो र कलात्मक काम हो, जो सबैको बसको कुरा होइन। 
आउनोस्, एउटा सपना निर्माण गरौं, त्यसलाई साकार पार्ने योजना बुनौं। कार्यान्यवन गर्न विज्ञ र अनुभवी युवा समूह तयार गरौं। कुरा होइन कामै गरौं। सपना पूरा हुन समय लाग्दैन। त्यतिबेला प्राप्त हुने आनन्दको सीमा नै हुँदैन।

प्रकाशित: ९ जेष्ठ २०७१ २३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App