एकपल्ट भक्तपुरमा हेरेको नवीन निश्चल–अभिनित (‘नादान’जस्तो लाग्छ) सिनेमाका विषयमा धेरै लामो समय कुरा गरियो । सात कक्षा पुगेपछि कहिलेकाहीँ आफैं सिनेमा हेर्न जान थालियो । एक नजिकका नातेदार दिलु दाइ र मेरो भाइ प्रतिबोधसँग अशोक हलमा सुनील दत्त र रिना रायको ‘नागिन’ हेरेर सात बजे साँझतिर शंखमुलको बाटोबाट बानेश्वर आउँदा साह्रै डर लागेको थियो, जुन अहिलेसम्म बिर्सेको छुइनँ । झाडी नै झाडी र घाट छिचोलेर बागमती नदीमाथिको भत्केको काठको पुल तरेर बानेश्वर आउँदा ‘भूत’ले खान्छ कि जस्तो लाग्दै आत्तिँदै आएका थियौं । अहिले त्यो ठाउँमा बनेका घर र भिड देख्दा बेलाबेला त्यही साँझको याद आउँछ ।
तीस सालको पूवाद्र्धतिरै अमिताभ बच्चनको ‘त्रिशूल’ हेरेपछि उनको फ्यान नै बनियो, जुन कायमै छ । त्यसबेला पाटनको एउटा रेस्टुराँमा दुई फुच्चे दाजुभाइ मात्र छिरेर चाउमिन खाँदा निकै ठूलो पराक्रम गरेझैं लागेको थियो । अलिपछि रञ्जना हलमा सञ्जीवकुमारको ‘अर्जुन पण्डित’, विश्वज्योतिमा अमिताभ र शशि कपुरको ‘सुहाग’ र जयनेपालमा नेपाली सिनेमा ‘सिन्दुर’ हेरेको पनि राम्रैसँग याद छ ।
हामी किशोर अवस्थामा पुग्दै गर्दा नेपालमा बिस्तारै भिडियोमा सिनेमा हेर्ने चलन आयो । प्रसिद्ध कथाकार दौलतविक्रम विष्टका एक ज्वाइँ नेपाल वायुसेवा निगमका पाइलट थिए । उनले २०३६ सालतिर आफ्नो ग्यारेजमै भिडियोमार्फत सिनेमा देखाउन थालेका थिए । पाँच रुपैयाँ शुल्क तिरेर हेर्न पाइन्थ्यो । सुरुवाततिरै शत्रुघन सिन्हाको ‘विश्वनाथ’ हेरेपछि केही समय त उनकै फ्यान भइयो । साथीहरूको अटोमा बेस्ट हिरोको ठाउँमा उनकै नाम कुँदियो पनि । पछि कतिपयले यो कुरा उठाएर गिल्ला गरे । युवा अवस्थामा पुग्दै गर्दा काठमाडौंमा जताततै भिडियो हल खुल्न थाले । मखन, प्युखा, लगनटोल सबैतिरका गल्लीगल्लीमा सिनेमाका रंगीचंगी पोस्टरै टाँसेर खुल्लमखुल्ला सिनेमा चल्थ्यो भने कहिले प्रशासनले कारबाही गर्दा लुकीलुकी हेर्नुपथ्र्याे ।
२०३९ सालसम्म मध्य काठमाडौंमा छ्याप्छ्याप्ती खुलेका भिडियो बिस्तारै बौद्ध, ठिमी, भक्तपुर र पाटनतिर स¥यो । भिडियो सँगसँगै त्यसबेला प्रोजेक्टरमा सिनेमा हेर्ने चलन पनि निकै थियो । ‘सेभेन ब्राइड्स फर सेभेन ब्रदर्स’ भन्ने अंग्रेजी सिनेमा त्यसबेला एक हङकङ व्यापारी छिमेकीको घरमा हेरिएको थियो । पछि त्यसैको हिन्दी रिमेक ‘सत्ते पे सत्ता’ हेर्दा अंग्रेजी सिनेमाको प्रभाव हिन्दी सिनेमामा कस्तो पर्दो रहेछ भन्ने थाहा भयो, जुन अहिले पनि उत्तिकै देखिन्छ । अनि त भिडियो र डेक भाडामा ल्याउने चलन चलिहाल्यो । कुन साथीको घरमा भाडामा ल्याएको छ उसकोमा पुग्यो, लुकीलुकी रातभरि दुई–तीन वटासम्म सिनेमा हे¥यो । तर पढाइको दबाबले रातभर धेरैचाहिँ हेर्न पाइन्न थियो । त्यस्तै दुई महिनाजतिमा एकपटक रातभर बिताइन्थ्यो होला !
करिब २०३७ सालतिर अमिताभ बच्चन ‘महान’को सुटिङका लागि काठमाडौं आएका थिए । होटल एभरेस्टमा बसेका उनलाई हेर्न म पनि साइकल दौडाएर होटलको ढोकामा पुगँे । बच्चन साहेब त भक्तपुरतिर निस्किसकेका रहेछन् । मोटरमा जीनत अमान र परविन बाबी निस्केको देखियो । अझै याद छ– दुवैले पहेँलो गाउन लगाएका थिए, अत्यन्त सुन्दर । साह्रै लोभलाग्दो । तिनलाई ‘लाइभ’ देखेपछि त अमिताभ बच्चन नहेरी भएन । सुटिङ सल्लाघारीमा छ भने कसैले । त्यत्तिकै साइकलमा कुदियो सल्लाघारीतिर । त्यहाँ दुई मोटर ठोक्किँदै कुद्दै गर्ने सुटिङ हुँदै रहेछ । अमिताभ त नौतले मन्दिरमा सुटिङ गर्दैछन् भने कसैले । त्यतै कुदियो । त्यस दिन दिनभर यस्तो सुटिङ हेरियो कि आजसम्म पनि कहीँको सुटिङ हेर्ने भन्नेबित्तिकै दिक्क लाग्छ । एउटै गीत, एउटै डायलग दर्जनांैपटक दोहोरिने । सानो सिनका लागि घन्टौं लाग्ने । त्यसबेला भने धीत मर्ने गरी हेरियो । खल्तीमा पैसा पनि थिएन, भोक पनि लागेन । साइकल चढेर बानेश्वरसम्म फर्कंदा भने मरिएला जस्तो भइसकेको थियो ।
२०३९ सालमा १० कक्षाको टेस्ट सकेपछि एसएलसी आउन करिब दुई महिना बाँकी थियो । त्यसबेला हरेक दिनजस्तो सिनेमा हेर्न गइन्थ्यो । भिडियोमा नयाँनयाँ सिनेमा चलिरहेका हुन्थे । क्लिन्ट इस्टवुड, चाल्र्स ब्रोन्सनका वाइल्ड वेस्टका सिनेमा हेरिन्थ्यो । ब्रुस ली र अरू कुङफुका सिनेमा, जेम्स बन्ड, एक्सन र हरर सिनेमा हेर्दा जति दंग भइन्थ्यो, एसएलसीको तयारी नगरेकोमा उत्ति नै गल्ती महसुस हुन्थ्यो ।
एउटा चाइनिज साइकल चढेर चुच्चेपाटी बस्ने साथीको घरमा जाने र त्यहाँबाट कालीप्रसाद रिजालको घरछेउको गल्लीबाट बौद्ध निस्केर त्यहीँका गल्लीगल्लीमा छानीछानी सिनेमा हेरिन्थ्यो । कहिले ती साथी साइकल चढेर बानेश्वर आउँथे र दुवै ट्रली बस चढेर ठिमी र भक्तपुरतिर लाग्थ्यौं– सिनेमा नै हेर्न ।
एसएलसी सकिएपछि त फुक्का साँढे भइहालियो । घरमा सिनेमा हेर्न गएको छ भन्ने थाहा भए पनि केही डर भएन । आमालाई फकाएर र बुवाले दिने नियमित केही खर्च सिनेमामै सिद्धिन्थ्यो । ट्रली बसमा दुईतर्फी टिकटको एक रुपैयाँ र भिडियोको पाँच रुपैयाँ भए भक्तपुर दौडिने आँट आइहाल्थ्यो । अमिताभ बच्चनका दर्जनौं सिनेमा हेरियो । त्यसबेला जितेन्द्र–श्री देवी र जितेन्द्र–जयाप्रदाका लट्का झट्का नाचका सिनेमा यति हेरियो कि, कुन बेला के डायलग आउँछ, हिरोइनको बाउले हिरोलाई के भन्छ, कुन बेला हिरो आउँछ, कुन बेला पुलिस आउँछ, कुन बेला गीत आउँछ– सब कण्ठस्थ भयो ।
एकातिर धेरैजसो सिनेमामा अब के हुन्छ अनुमान गर्न सकिने भएका कारण दिक्क लाग्न थालेको थियो भने अर्कातिर एसएलसीको नतिजामा आफूसँग सधंै सिनेमा हेर्न जाने साथी अनुत्तीर्ण भएकाले साह्रै ग्लानि महसुुस भयो । परीक्षाअघि सधैं सिनेमा हेराएर मैले उसलाई बिगारेको आरोप पनि आयो । तर म आफूचाहिँ बिहान–बेलुकीको पढाइका कारण होला प्रथम डिभिजनमै पास भएँ । त्यसपछि भविष्यप्रतिको चिन्ताले पनि हुन सक्छ, विज्ञान पढ्न थालेपछि सिनेमाबाट बिस्तारै टाढा हुन थालेँ । जति सजिलै सिनेमा उपलब्ध हुन थाल्यो, त्यति नै पट्यार लाग्न थाल्यो, उस्तै कथा, उही डायलग र अनुमान गर्न सकिने सुस्त चालका सिनेमा ।
पत्रकारितामा प्रवेश गरेपश्चात करिबकरिब सिनेमा हेर्न बन्दजस्तै भयो । अहिले वर्षमा दुई–तीनटा सिनेमा पनि हेरिँदैन । नेपाली सिनेमा करिबकरिब हेरिएको छैन भन्दा हुन्छ । पहिलो नेपाली रंगीन सिनेमा ‘कुमारी’ मैले हेरेको पनि पहिलो नेपाली सिनेमा नै हो । ‘सिन्दुर’पछि ‘जीवनरेखा’, ‘हामी एक हौं’ र ‘सन्तान’ हेरियो । त्यसपछि कुनै सिनेमा हेरेको याद छैन । एक–दुई सिनेमा हेरेको छु, कतिमा बीचैमा उठेर हिँडिन्छ ।
अहिले नेपाली सिनेमाले पाँचौं दशक मनाइरहँदा हेर्नैपर्ने नेपाली सिनेमा पनि बन्न थालेका छन् । युवावस्थामा जुन जोसले सिनेमा हेरिन्थ्यो अब चालीसको उत्तराद्र्धमा त्यही जोसले एकपल्ट नेपाली सिनेमा हेरूँ कि भन्ने लागेको छ । सँगै जाने कि ?
प्रकाशित: २ जेष्ठ २०७१ २३:०८ शुक्रबार





