५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

सोफिया र शिरीष उत्कृष्ट

काठमाडौं– शिरीष गुरुङ र सोफिया शाह प्रथम लुम्बिनी राष्ट्रिय राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १७औं राष्ट्रिय पौडी प्रतियोगितामा उत्कृष्ट खेलाडी भएका छन्।सेनाको टोलीले टिम च्याम्पियनको ट्रफी जित्यो। सेनाले ६७ अंक बटुल्यो। पुलिसले ६५ र मध्यमाञ्चलले ४३ अंक बटुल्दै दोस्रो र तेस्रो स्थान हात पारे।
सोमबार सम्पन्न प्रतियोगितामा शिरीषले ७ र सोफियाले ६ स्वर्ण पदक जितेका छन्। सोफियाले भाग लिएका सबै ६ इभेन्टमा स्वर्ण जितिन्। सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार शिरीषले तीन स्वर्ण थपे। पुलिस खेलाडीका उनले २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाइ र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेका हुन्। 
आइतबार उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर व्यक्तिगत मिड्ले, २ सय मिटर बटरफ्लाइ र १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए। 
नेपाली पौडीमा कीर्तिमानी छवि बनाएका शिरीषले १७औं राष्ट्रिय पौडीमा भने कीर्तिमान बनाउन सकेनन्। उनले अभ्यास समय कम भएकाले कीर्तिमान बनाउन नसकेको बताए। शिरीषले भने, ‘११ कक्षाको परीक्षाका कारण मैले यसपल्ट प्रतियोगितालाई राम्रो तयार गर्न पाइनँ। मैले सक्दो राम्रो नतिजा निकाल्ने प्रयास गरें। प्रतियोगिताले इन्चोन एसियाडको तयारीलाई सहयोग गर्नेछ।' 
अब इन्चोन एसियाडको तयारीलाई केन्द्रित हुने शिरीषले बताए। उनले भने, ‘एसियन खेलकुदमा विश्वकै पदक जित्ने खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ। अनुभव बटुल्दै हामीले दक्षिण एसियामा प्रतिस्पर्धा गर्ने कोशिस गर्नुपर्छ। एसियन खेलकुदको अनुभवले दक्षिण एसियामा पदक जित्न सहयोग पुग्ने विश्वास छ।'
प्रतियोगितामा भाग लिएका ८ मध्ये शिरीषले ७ इभेन्टमा स्वर्ण जित्न सफल भए। उनको टिमले ४ गुणा १ सय मिटर फ्रिस्टाइलको स्वर्ण भने जित्न सकेन। सोमबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दा २ मिनेट १८ दशमलब ९७ सेकेन्ड लगाए। पुलिसकै दिवस मानन्धरले रजत र सेनाका रुद्र कटुवालले कांस्य जिते।
१ सय मिटर बटरफ्लाइमा शिरीष (१ मिनेट ०९ दशमलब ०९ सेकेन्ड) ले स्वर्ण जित्दा पुलिसकै मनिष चित्रकारले रजत र सेनाका जनक राईले कांस्य जिते। २ सय मिटर ब्याकस्ट्रोकको स्वर्ण जित्दा शिरीषले २ मिनेट ४१ सेकेन्ड लगाए। दिवसले रजत र नितेश मानन्धरले कांस्यमा कब्जा जमाए। सबै पुलिसकै खेलाडी हुन्। 
१७औं राष्ट्रिय पौडीमा कीर्तिमान बनाउने एक्लो खेलाडी सोफियाले सोमबार तीन स्वर्ण थपिन्। मध्यपश्चिमबाट खेलेकी सोफियाले २ सय मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइमा स्वर्ण जितिन्। उनले ३ मिनेट ०१ दशमलब ३४ सेकेन्डमा मिड्ले, १ मिनेट ०७ दशमलब २२ सेकेन्डमा फ्रिस्टायल र ३६.१६ सेकेन्डमा बटरफ्लाइको दूरी पार गरेकी थिइन्।
पहिलो दिन तीन स्वर्ण जित्दा सोफियाले दुई कीर्तिमान बनाएकी हुन्। उनले २ सय र ५० मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेकी हुन्। 
सोफियाले कीर्तिमान बनाउन परिवार र प्रशिक्षकको भूमिका महत्वपूर्ण भएको बताइन्। उनले भनिन्, ‘कीर्तिमान बन्छ भन्ने सोचेको थिइनँ। प्रतियोगितामा राम्रो गर्ने लक्ष्यसहित तयारी गरेको थिएँ। कीर्तिमान बन्दा खुसी छु। यसले मलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत प्रदर्शन सुधार्न सहयोग गर्नेछ।' मिड्लेमा सोफियाले स्वर्ण जित्दा पुलिसकी ओसिना भारतीले रजत र मध्यमाञ्चलकी श्रृष्टिका सिंहले कांस्य जितेका थिए।
१ सय मिटर फ्रिस्टाइलमा सोफियालाई पछ्याएका पुलिसकी ओसिनाले रजत र मध्यमाञ्चलकी अदिती धितालले कास्य जितेका थिए। ५० मिटर बटरफ्लाइमा सोफियाले स्वर्ण जित्दा ओसिनाले रजत र श्रृष्टिकाले कांस्य जितेका हुन्। 
पुरुषतर्फ सेनाका दिलीप थापाले ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जिते। ब्याकस्ट्रोकमा पुलिसका जयन्तप्रकाश गुरुङले रजत र सेनाका मिराज प्रजापतिले कांस्य जिते। फ्रिस्टाइलमा सेनाका मिराजले नै रजत र पुलिसका मनिष चित्रकारले कांस्य हात पारे। १ सय मिटर ब्रेस्टस्ट्रोकको शीर्ष तीनमा स्थान सेनाकै खेलाडी रहे। किरण कार्कीले स्वर्ण, टीका थापाले रजत र रुपेश चौधरीले कांस्य जिते। ४ गुणा १ सय मिटर रिलको स्वर्ण सेनाले जित्दा पुलिसले रजत र मध्यमाञ्चलले कास्य जिते।
४ सय मिटर फ्रिस्टाइलमा मध्यमाञ्चलकी अदिती धितालले स्वर्ण जितिन्। २ सय मिटर ब्रेस्टस्ट्रोकको स्वर्ण सेनाकी सोनिरा विष्ट र १ सय मिटर ब्याकस्ट्रोकको स्वर्ण पुलिसकी ओशिना भारतीले जितेका थिए। मध्यमाञ्चलकी निहारिका तुलाधरले ५० मिटर ब्रेस्टस्ट्रोकको स्वर्ण जितिन्। 
विजयी खेलाडीलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरे।

प्रकाशित: २९ वैशाख २०७१ २०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App