५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

तारा उदाउने आकाश

कास्कीकोट दरबारमा शाह राजाले यज्ञ लगाएका रहेछन्। राजाको यज्ञमा मानिसको घुइँचो नलाग्ने प्रश्नै भएन। टाढाटाढाबाट पनि पाहुना बोलाइएको थियो। घुम्दैफिर्दै पुग्नेहरू पनि उत्तिकै थिए। धुमधामसँग यज्ञ भइरहेको थियो। यज्ञ कर्म चलिरहेकै बेला एक हुल पाहुना ब्राह्मणका मुखबाट हाँसोको फोहोरा छुटेछ।

हाँस्नुपर्ने कुरो केही भएजस्तो कसैलाई नलागेपछि ती अतिथिसँग राजाले नै सोध्न अह्राएछन्। ब्राह्मणमाथि प्रश्न सोधियो, ‘हाँस्नुपर्ने कारण के थियो अतिथिज्यु? 
पाहुनाले आफूहरू हाँस्नुको कारण सजिलै भनिदिए, ‘यज्ञयज्ञादिमा त मन्त्रबाट पो अग्नि प्रज्वलित गरिन्छ तर, यहाँ त आगो सल्काइयो।’ 
जुम्लाबाट आएका ती अधिकारी ब्राह्मणले त्यसो भनेपछि मन्त्रबाट अग्नि सिर्जना गरेर देखाउन उनीहरूलाई चुनौती दिइएछ। उनीहरूले चुनौतीमात्रै स्वीकारेनन् अग्नि प्रज्वलितै गरिदिएछन्। त्यसबाट खुसी भएका राजाले उनीहरूलाई दिनभरि हिँडेर मन परेको ठाउँ रोज्न भनेछन्। उनीहरू ठाउँ चहार्दै जाँदा एउटा डाँडामा पुग्दा घाम अस्ताएछ। त्यस दिनको बासमात्रै होइन ती ब्राम्हणहरूलाई त्यही ठाउँमा सधैं बस्न मन भएछ। राजाले बिर्ता दिए अनि कास्की राज्यमा अधिकारीहरूको स्थायी बसोबास सुरु भयो। 
त्यो ठाउँ अहिले कास्की जिल्लाको धिताल गाविसमा पर्छ। ती ब्राह्मण पुग्दाको बखत घाम अस्ताएकाले अस्तामका नामबाट कहलिएको त्यो ठाउँबाट सूर्यास्त साँच्चिकै मनमोहक देखिन्छ। ती अधिकारी राति आइपुगेर बास बसेपछि भोलिपल्ट ब्युँझेर पहिलोपटक त्यो ठाउँ हेर्ने मन गरेको भए पहिला सूर्यको उदय देख्थे होलान्। र, ठाउँको नाम पनि अस्तामको सट्टा उदयपुर वा अरू केही हुन्थ्यो होला। ठाउँको नाम जे भए पनि यो ठाउँबाट देखिने सूर्याेदय र सूर्यास्त बिछट्टैको हुन्छ।
झुल्के घाम र अस्ताउँदो घाम नेपालका डाँडाकाँडा धेरैतिरबाट देखिन्छ। अस्तामबाटै बिछट्टै देखिनुको कारण यहाँ वरिपरिका डाँडापाखा र हिमाल र नदी हुन्। अस्तामको दक्षिणपश्चिममा ढिकुरपोखरीको नौडाँडा पर्छ। सूर्यास्त हुँदाको कलिलो घाममा नौडाँडाले आफ्नो असली रङ देखाउँछ र लठ्याउँछ। सूर्याेदय हुँदा कुमारी माछापुच्छ्रे हिमाललाई सिन्दूर हालेजस्तो लाग्छ र हेर्नेलाई भुतुक्क बनाउँछ। अस्तामका जुनसुकै कान्ला वा डिल र थुम्काथुम्कीबाट हेर्दा पनि सिधै आँखा जुधाउँछ माछापुच्छे्र। ठिंग उभिएर पाहुनासँग आँखा जुधाइ खेल्दा सबैलाई पछार्छ तर पनि भगाउँदैन उल्टै आकर्षित गरिरहन्छ, चुम्बकले फलामलाई जस्तै। 
‘प्रत्येक १० मिनेटपछि फरकफरक कोणमा दृश्य देखिँदै जानु अस्तामको विशेषता हो,’ दसैंताका अस्ताम घुमेका गणेश थापा भन्छन्, ‘अन्नपूर्ण टे्रकिङ रुटमै यो गज्जबको ठाउँ लाग्यो।’ दोहोर्‍याईदोहोर्‍याई पुग्न मन लागेका ठाउँको सूचीमा उनले अस्तामलाई अग्रपंक्तिमा लेखेका छन्। पोखरा आएका घुमन्तेलाई गाउँको स्वाद लिन अस्ताम उक्लन सुझाउँछन् उनी। 
पोखराबाट २३ किलोमिटरभन्दा टाढा पर्दैन अस्ताम। पोखरा—बाग्लुङ राजमार्गमा पर्ने हेम्जाको मिलनचोकबाट भित्र लागेपछि आउँछ मेलबोट। त्यहीँबाट उकालिएपछि दायाँबायाँ तलमाथि अन्त कतै पुगिन्न, पुगिन्छ अस्ताम। उकालो पैदल यात्राको रहर छ भने राजमार्गको हेम्जा खण्डमा पर्ने सुइँखेतमा गाडीबाट ओर्लिए ठाडो बाटो भेटिन्छ। मेलबोट निजी मोटरसाइकल वा जिपमा जान सजिलो छ साना र होचा कार वा पब्लिक गाडीमा गाह्रो। हिँडौं भने पनि वनको बाटो छ। 
वैशाख दोस्रो सातातिर अर्जुन गिरी, हिमाल लम्साल, महेश खाती र म धम्पुस हुँदै अस्तामको यात्रामा थियौं। जाँदा घट्टेखोलाबाट धम्पुस उकालिए पनि फर्कंदा अस्तामको बाटो झर्ने मन भयो। ‘उही बाटो फर्केको भए अस्ताम देख्न पाइने थिएन अनि धेरै कुरा मिस हुने रै’छ,’ तिनै साथीहरूले भनेका थिए। हरेक घुम्तीपिच्छे दृश्यहरू यसरी ठोक्किन आइपुग्थे कि हामी मोटरसाइकल नरोकी सुख पाउँदैनथ्यौं। मोटरसाइकल रोक्यो, एकछिन अडियो र आँखा नचायो अनि फेरि गुड्यो गर्दै आउँदा हामीले ४/५ किलोमिटर बाटो छिचोल्न पनि घन्टौं लगायौं। त्यो दिनको यात्राबाट धीत नमरेकाले अस्ताम जान अर्काे साइतको प्रतीक्षामा छन् तीन साथीहरू। 
उत्तरतिर मर्दीखोला बग्ने उपत्यका र दक्षिणतिर सुइँखेत खोलाछेउको सम्म फाँटको बीचमा ठिंग उभिएको अस्तामको उत्तरी मोहोडा छड्के भिरालो छ। त्यहीँ छ मानवीय बस्ती। सबै घर नेपाली शैलीका छन्, बजारिया चलनको दंश देख्नुपर्दैन। १६०० मिटरजतिको उचाइमा छ अस्ताम। हावापानी– न जाडो न गर्मी छ। त्यसैले पोखरामा नफुल्ने फूलका विभिन्न जातले पनि यहाँ आफ्नो बैंस फुलाउँछन्। 
पर्यटकलाई बास बस्न चाहेअनुसारका होटल छन् गाउँमा। नेपालीलाई सुहाउने होटलचाहिँ अन्नपूर्ण इको भिलेज हो। जहाँ एक रात कटाउँदा हजार १२ सय रुपैयाँभन्दा बढी लाग्दैन। भिआइपी विदेशीको रोजाइमा भने त्यही भिलेजमुन्तिरको हानानिय रिसोर्ट पर्छ। जहाँ दैनिक ३५० अमेरिकी डलरको प्याकेजमा पाहुना राखिन्छ। लामो सयदेखि पदयात्रा पर्यटनमा लागेका विश्व अधिकारी र उनका भाइहरू वेदनिधि र पूर्णले आफ्नो गाउँमा ४ वर्षअघि खोलेका हुन् अन्नपूर्ण इको भिलेज। तीन दाजुभाइले होटल सुरु गर्दा सोचेभन्दा धेरै पर्यटकले अहिले अस्तामको आनन्द लिइरहेका छन्। त्यसैले पहिला १० कोठाको होटलमा अहिले १५ पुर्‍याइएको छ। 
‘अफ सिजनमा पनि होटल रित्तो भएको छैन,’ विश्व भन्छन्, ‘एउटा कोठा बनाउन सुरु गर्दादेखि नै लाग्न थालेका पाहुना बढिरहेका छन्।’ गाउँमा पुगेका पर्यटकलाई स्थानीय स्वाद पस्कन अन्नपूर्ण इको भिलेजले पाहुनालाई कोदोको रोटी र उवाको लिटो चखाउँछ। रिसोर्टले सुख्खा मौसममा बाहेक बारीकै तरकारी पकाउँछ। गाउँकै चामलको भात खुवाउँछ। रिसोर्टकै गोठमा गाई छन्। तिनकै दूध खान पाइन्छ। इको भिलेजको आडैमा मिस्टिक माउन्टेन होटल पनि खुलिसकेको छ। पोखराको लेकसाइडका स्तरीय होटलको छनक दिने गरी बनेको छ मिस्टिक माउन्टेन। अस्ताम आफैंमा मिस्टिक माउन्टेन भएकाले पनि नयाँ होटलले त्यस्तो नाम जुराएको छ। 
एउटा दसैंको दिन धम्पुस हुँदै एक साथीसँग मैले अस्तामको बाटो पोखरा फर्कने यात्रा तय गरेको थिएँ। यात्रा रोमाञ्चक बन्यो कि चानचुन एक घन्टा अनुमान गरेको यात्राको आधा दिन अस्ताममै बितेको थियो। अकिञ्चन बनेको आकाश र माछापुच्छ्रे हिमाललाई पृष्ठभूमि मज्जाले पिङ खेल्नु त्यसको फोटो खिचेर फेसबुकको कभर फोटो बनाउँदा त्यही माछापुच्छ्रे हिमाल आरोहण गरेर सफलता पाएझैं पो भएको थियो। इको भिलेज र हानानिय होटलको वातावरणले पनि हामीलाई उत्तिकै लठ्याएको थियो। अचम्म हानानियमा आउने पाहुना कोठाभित्र पसेर फ्रेस हुनुअघि नै त्यहाँको दृश्यले चकित हुँदा रैछन्। हाम्रैअगाडि पनि थुप्रै पर्यटक हर्षले रोए, थुप्रै कराए र थुप्रै उफ्रिए। त्यति महँगो र सुविधा सम्पन्न होटलको वरिपरि कुनै बारबन्धन भने थिएन। किन त? व्यवस्थापक दुर्गा अधिकारीले चित्त बुझाइदिए, ‘गाउँ यति सुरक्षित छ कि कुनै पर्खाल र बार लगाउनु पर्दैन। एउटा र अर्को घर आउन जान नेपाली गाउँममा बार बन्देज हुँदैन भन्ने फिलिङ्स पनि यहाँ पर्यटकले पाएका छन्।’ 
प्राकृतिक छटाको अनौठो लीला देखेरै अस्ताममा फिल्म सुटिङ स्टुडियोको प्रस्ताव पनि आएको थियो। राजनीतिक पहुँच नहुनाले त्यो कार्यान्वयन भने भएको छैन। तर आफैंमा प्राकृतिक फिल्म स्टुडियोजस्तो यो ठाउँ धेरै क्यामेरामा कैद भएर देशदेशावरको यात्रामा निस्किसकेको छ। कवि भीमदर्शन रोकाले आफूलाई घाम डुबी तारा नउदाएको आकाश भनेका थिए। तर अस्तामबाट घाम डुब्दैन मात्रै आकाश छ्याङ्ग खुल्छ र तारा पनि उदाउँछ। १२ मध्ये धेरै महिना यहाँको आकाशसँग बादल र कुहिरो अनि हुस्सुको मित्रताभन्दा बढी दुस्मनी नै बढी हुन्छ।

प्रकाशित: २६ वैशाख २०७१ २२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App