३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

इलामको नखुलेको पाटो

‘म दुईपल्ट इलाम पुग्या छु,' भरखरै राजधानीमा भेटिएका एक परिचितले भने, ‘जति सुन्या थिएँ, त्यति राम्रो लागेन।' उनको कुराले अनौठो लाग्यो। चित्त नबुझेर सोधेँ, ‘कहाँ–कहाँ घुम्नुभयो?'ठूलै ओहोदाका सरकारी कर्मचारी उनले भने, ‘फिक्कल हुँदै पशुपतिनगर पुगेँ।' बल्ल कुरा बुझियो! ‘दुईपल्ट इलाम घुम्या' मान्छे त फिक्कल–पशुपतिनगर हुँदै दार्जिलिङ पो गएका रहेछन्। त्यो पनि घुम्ने उद्देश्यले होइन, दार्जिलिङ पढ्ने छोरालाई घर ल्याउन र लैजान। इलाम त बाटोमा परेको मात्रै रहेछ!
देशका ७५ जिल्लामध्ये धेरैजसो गाउ“ बस्ती छिचोलेर घुम्ने थोरै भेटिन्छन्। काँकडभिट्टादेखि महेन्द्रनगरसम्म फैलिएको पूर्व–पश्चिम राजमार्ग यात्रा गरेकै भरमा ‘यति जिल्ला घुमेको' भन्दै औंला भाँच्नेहरू निकै हुन्छन्। हेलिकोप्टर र हवाईजहाजबाट कुनै सदरमुकाम पुग्ने र फर्किहाल्ने तर ‘पूरै जिल्ला चहारेको' ध्वाँस दिनेहरू पनि नभेटिने होइनन्। इलामका सन्दर्भमा पनि यस्ता थुप्रै व्यक्ति भेटिन्छन्, जसले सानो पाथिभरा, फिक्कल, पशुपतिनगर मात्रै टेकेको किन नहोस्, ‘पूरै इलाम घुमेको' गफ दिन्छन्। 
१ लाख ७० हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको इलाममा घुम्नलायक थुप्रै ठाउँ छन्, जसको वर्षौदेखि चर्चा हुँदै आएको छ। कन्याम, श्रीअन्तु, सन्दकपुर, माइपोखरी, गजुरमुखी, माङ्मालुङ, सदरमुकाम आदि गन्तव्यको सौन्दर्य बखान गरिरहनु पर्दैन। त्यहाँ एकपल्ट आउँदा मन नबुझेर दोहोर्‍याई– तेहेर्‍याई आइपुग्ने मानिस अनगिन्ती छन्। ३ सयदेखि ३६ सय ३६ मिटर उचाइसम्म फैलिएको इलाममा त्यस्ता गन्तव्य र जाति पनि छन्, जसको संस्कृति र जीवनशैलीविना इलामको परिचय पूर्ण हुँदैन। 

०००
लारुम्बालाई तपाईंले याद गर्नुभएको छ? यो ठाउ“को नाम रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनहरूमा आइरहन्छ। कहिले प्रधानमन्त्रीले भाषण गरेको सन्दर्भमा, कहिले कुन मन्त्रीले उद्घाटन गरेको अवसरमा त कहिले कुन नेताले किरात धर्मगुरु आत्मानन्द लिङ्देनबाट आर्शीवचन लिएको बारेमा। मिडियामा जतिपल्ट लारुम्बाको नाम आउ“छ प्रायः त्यति नै पल्ट राजनीतिक सन्दर्भमात्रै जोडिन्छ। बा“झो गाविसमा पर्ने लारुम्बा नेता, मन्त्री र हरेक प्रधानमन्त्रीले एकपल्ट आइपुग्ने ‘शक्तिकेन्द्र' मात्रै होइन, किरा“त धर्मावलम्वीको आस्थाकेन्द्र पनि हो। 
२०३५ मा लिङ्देन इलामकै इभाङबाट लारुम्बा बसाइँ सरेपछि यो ठाउ“को महत्व बढेको हो। सदरमुकामबाट दक्षिणमा अवस्थित लारुम्बा पुग्न दमकबाट सजिलो छ। रतुवा खोला किनारैकिनार कच्ची बाटो यात्रा गर्नुपर्छ। लारुम्बामा स्वेच्छाले र अन्य कारणले बसोबास गर्नेको संख्या ठूलो छ। पूर्वका १२ जिल्लाका मानिस यहा“ भेटिन्छन्। सीमापारि दार्जिलिङ, सिक्किमका केही नरनारी पनि लारुम्बामा घर बनाएर बस्दैछन्। चुरे पहाडमा फैलिएको लारुम्बा किरात समुदायको धार्मिक ग्रन्थ ‘मुन्धुम' अध्ययन स्थलका रूपमा पनि चिनिँदैछ। 
लारुम्बामा माछामासु, मदिरा, धूमपान निषेध छ। पशुपंक्षी काटमार गर्नुहुँदैन। साकाहारी बस्तीका रूपमा परिचित लारुम्बामा गुट्खा, पराग, मधुजस्ता स्वास्थ्यलाई हानिकारक वस्तु सेवन गर्न पाइँदैन। स्थानीयस्तरमा तयार पारिएको धार्मिक आचारसंहिताले समाजमा नराम्रा मानिएका वस्तुको प्रयोगमा रोक लगाएको छ। ‘हानिकारक र उत्तेजना फैलाउने बवतु प्रयोगमा रोक लगाएपछि लारुम्बाको वातावरण सधैं शान्त हुन्छ,' स्थानीय अमृत सुब्बा भन्छन्, ‘चोरी, ठगी, हत्या, हिंसाजस्ता समाज भाँड्ने क्रियाकलाप हुँदैनन्, बसूँबसूँ लाग्दो माहोल छ।' 
समाजसुधारकै कारण केही वर्षअघि ‘राष्ट्रिय विभूति' घोषणा गरिएका फाल्गुनन्दस“ग लारुम्बाको सम्बन्ध जोडिएको छ। लारुम्बामा बस्ने आत्मानन्द फाल्गुनन्दका नाति पर्छन्। फाल्गुनन्दले ‘सत्यहाङ्मा'अन्तर्गत उहिल्यै आफू अधीनस्थ बस्तीलाई साकाहारी बनाएका थिए। लारुम्बामा त्यसैको अनुशरण गरिएको हो। इभाङमै जन्मिएका फाल्गुनन्दले किरात समुदायलाई सत्मार्गमा ल्याउन ‘सत्यहाङ्मा' नीति लिएको मानिन्छ। साढे ५ किलोमिटर क्षेत्रफलमा फैलिएको लारुम्बामा बर्सेनि उत्सव, चाड र पर्वहरू मनाइन्छन्, जहाँ हजारौ भक्तजनको घुइँचो लाग्छ। 

०००
इलामको सन्दर्भ उठ्नासाथ सूर्योदय सम्भि्कइन्छ। बंगालको खाडी नजिकै हुँदा यहाँबाट सूर्योदयको दृश्य नियाल्न आकर्षक मानिन्छ। त्यसका निम्ति श्रीअन्तु, सन्दकपुर, सिद्धिथुम्का चर्चित छन्। उत्तिकै सम्भावना बोके पनि पूर्वाधार अभावले पछि परेको अर्को गन्तव्य हो– छिन्टापु। आँखैअघि मकालु, सगरमाथा, कञ्चनजंघा र कुम्भकर्ण हिमशृंखला देख्न सकिने छिन्टापुको महिमा यत्तिमै सीमित छैन। इलामको माइमझुवा र पाँचथरको लुङ्रुप्पाबीचमा पर्ने छिन्टापु पोखरी नै पोखरीले घेरिएको गन्तव्य पनि हो। छिन्टापुछेउमा आधा दर्जन पोखरी छन्।
घुम्न आउने पर्यटक लोभ्याउन माइमझुवाका बासिन्दाले ३२ सय मिटर उचाइ आसपासका ८ पोखरी संरक्षण गर्दैछन्। पोखरी संरक्षणले पानीको स्रोत जोगिने बुझेपछि सुक्न लागेका पोखरी संरक्षण गरिएको हो। फोहोर, जालो, रूखपात हटाएर पोखरीवरिपरि बारिएको छ। लालीगुराँस सामुदायिक वनका अध्यक्ष चित्रवीर गुरुङ भन्छन्, ‘पोखरीमा वर्षैभरि पानी रहे त्यस क्षेत्रका जंगली जनावरसँगै जैविक विविधतालाई त फाइदा पुग्छ नै, इलामको पर्यटनमै टेवा पुग्नेछ।' सदरमुकामबाट ३ घन्टामा पुगिने माइमझुवामा जम्मा ११ पोखरी छन्। 
ओसिलो पहाडको फेदीमा अवस्थित माइमझुवा गुरुङ जातिको बाहुल्य रहेको गन्तव्य हो। यहा“ लाहुरेहरूको बसोबास छ। ब्रिटिस र भारतीय सेनामा लामो समय नोकरी गरेका लाहुरे माइमझुवामा भेटिन्छन्। उनीहरूकै अगुवाईमा गाउँले रूप फेर्दैछ। ‘कादुरी' नामको संस्थाले खोलानालामा पुल बनाइदिएको छ। खेर गइरहेको पानीबाट निकालिएको बिजुलीले सबैजसो घर झिलिमिली छन्। खानेपानीका धारा घरैपिच्छे देखिन्छन्। सिंगो गाउँ खुला दिसामुक्त भएको महिनौं बितेको छ। दार्जिलिङबाट बंगाली पर्यटक ल्याउन गाउँमा ‘होमस्टे' थालिँदैछ। 
‘इलाम घुम्न आउनेहरू खालि सन्दकपुर र श्रीअन्तुको नाम लिन्छन्, मौलिकता बोकेका गाउँ चिन्दैनन्,' माइमझुवामा पर्यटकलक्षित होटल खोलिरहेका कमल मुखिया भन्छन्, ‘परम्परागत संस्कृति र जीवनशैली नियाल्दै घुमफिरको मज्जा लिने हो भने माइमझुवा राम्रो गन्तव्य बन्न सक्छ।' माइपोखरीबाट नजिकैको माइमझुवा जाँदा इलामकै अग्लो टोड्के झरना हेर्न छुटाउनु हुँदैन। लोपोन्मुख रेडपान्डाका लागि पनि माइमझुवा प्रख्यात छ। मौसमअनुसार फुल्ने सुनाखरी, लालीगुरा“स र बेगुनिया फूलले माइमझुवाको सौन्दर्यमा झनै निखार ल्याउँछ।

०००
२००९ मा कवि भूपि शेरचनले इलाम आएका बेला हिँडेका हरिया पाखापखेरा र नागबेली बाटाघाटा नियाल्दा कविता रचेका थिए। ‘हरियो भरिलो इलाम देख्दा मलाई, नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो' भन्ने त्यो कविता इलामका डाँडापाखा डुल्दा अहिले झनै सान्दर्भिक लाग्छ। इलाम सौन्दर्यले मात्र खारिएको छैन, यहाँका कुना कन्दरासम्म लुकेका कला, संस्कृतिले पनि उत्तिकै धनी छ। अल्पसंख्यक लेप्चा जातिको बसोबास रहेको जिल्ला इलाम नै हो। झापाका केही गाविसबाहेक इलामका १५ गाविसमा लेप्चा जातिको बसोबास छ। 
‘रोङ' भनिने लेप्चाहरू पहाड र नदीका खोँचमा बसोबास गर्ने जातिका रूपमा परिचित छन्। भोटे भाषामा पहाडलाई ‘ला' र नदीलाई ‘चु' भनिन्छ। ‘ला–चु' भन्दाभन्दै अपभंरश भई यो जाति लेप्चा भएको मानिन्छ। इतिहासका कालखण्डमा भएका थुप्रै अतिक्रमण र आक्रमणबाट जोगिँदै यो जातिले आफ्नो पहिचानलाई कायमै राखेको पाइन्छ। लोकतन्त्र बहालीपछि जातीय पहिचानको मुद्दा दह्रो हुँदा लेप्चाहरू संगठित हुँदैछन्। उनीहरूको भाषा, धर्म, लिपि, संस्कृति र जीवनशैली हरेक मानिसलाई नौलो लाग्छ। इलाम घुम्नेले त्यो नजिकबाट नियाल्न सक्छन्। 
माईपूर्वका गाउँमा ३ हजार २ सय हाराहारी संख्यामा लेप्चाको बसोबास छ। खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको माध्यम बनाउने उनीहरू अचेल शिक्षाप्रति आकर्षित छन्। उच्च शिक्षा अध्ययन गरी जागिरे जीवन बिताउने युवायुवती पनि निकै छन्। लेप्चाको मूलथलो कञ्चनजंघा हिमालको काख हो। त्यसैले उनीहरू कञ्चनजंघालाई देवता मान्छन् र पूजा गर्छन्। पुरानो आदिवासी मानिने यो समुदायका नरनारी जातीय पहिरनमा सजिएर उत्सव, मेला र पर्वमा निस्कि“दा रमाइलो मान्दै ध्यानपूर्वक हेर्ने धेरै हुन्छन्। इलाममा अचेल लेप्चाको प्रस्तुति भइरहन्छ। 
सिक्किम, भुटान र दार्जिलिङमा बाक्लै रहेका लेप्चा इलाममा सीमित छन्। इतिहासमा यिनीहरूलाई कुनै बेला ‘कन्काई नदीदेखि भुटानको हा जिल्लासम्म' र ‘कञ्चनजंघादेखि दक्षिणमा महानदीसम्मका' शासक रहेको मानिन्छ। यिनीहरूले लगाउने दम्फ्रा, दम्वोन, ओज्यो, लोहमो अरूका लागि अनौठा हुन्छन्। उत्सवमा बजाउने तुङ्ती, डमू, छदुङ्, ग्यालिङ पनि भिन्नै हुन्छन्। ‘पुस १५ देखि नयाँ बर्ष मनाउने हामी अरू जातिभन्दा भिन्नै संस्कारमा छौं,' श्रीअन्तुका बुद्धवीर लेप्चा भन्छन्, ‘इलामको पर्यटन विकासमा लेप्चाको भूमिका महत्वपूर्ण हुन्छ।'

०००
‘इलाम नकु“दिएको हिरा हो, यसलाई कु“द्ने शिल्पीको खा“चो छ,' इतिहासविद् युद्धप्रसाद वैद्यले उहिल्यैदेखि भन्ने ‘थेगो' हो यो। जिल्लावासीको सक्रियता र सरोकारवाला निकायको सहयोगमा इलामले पर्यटनमा निकै उपलब्धि हासिल गरिसकेको छ। भौतिक पूर्वाधार बन्दैछन्, प्रचार प्रसार हुँदैछ, पर्यटकहरू हल्काफुल्का आइरहेकै छन्। ‘कुँद्ने' काम थोरबहुत भइरहेकै छ। समग्र जिल्लाको पर्यटन प्रवर्द्धन गर्दै यसलाई उद्योगका रूपमा विकास गर्न भने सकिएको छैन। त्यसनिम्ति, आकर्षक गन्तव्य, लोपोन्मुख संस्कृति र मौलिक जीवनशैली देखाउने गरी प्याकेजका रूपमा इलामलाई बेच्नुपर्ने खाँचो छ।

प्रकाशित: २६ वैशाख २०७१ २२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App