३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

तेल चोरीमा निगम क्षेत्रीय प्रबन्धक पक्राउ

बुटवल– पेट्रोलियम पदार्थ चोरीमा संलग्न आशंकामा प्रहरीले बिहीबार नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका क्षेत्रीय प्रबन्धक नागेन्द्र कुर्मीलाई पक्राउ गरेको छ।
यसअघि पक्राउ परेका भलवारी डिपोका दुई कर्मचारीसहित अन्य व्यक्तिको बयानका आधारमा उनलाई भलवारीस्थित क्षेत्रीय कार्यालयबाट पक्राउ गरेको रुपन्देहीका एसपी विक्रमसिंह थापाले जानकारी दिए।
तेल चोरी प्रकरणमा कुर्मीसहित पक्राउ पर्नेको संख्या २५ पुगेको छ। पक्राउ परेकालाई बिहीबार तीन दिन म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ।
पाँच दिनअघि प्रहरीले भलवारी क्षेत्रीय कार्यालयका अधिकृत दीपेन्द्र बस्नेत र रविनकुमार राउतलाई पक्राउ गरेको थियो। वैशाख १६ गते प्रहरीले भैरहवा र भलवारीबीचका पडसरी र मधौलियामा छापा हानेर २२ जनालाई रंगेहात नियन्त्रणमा लिएको थियो। उनीहरूले आयल निगमले भारतबाट आयात गरेको तेल डिपोसम्म नपुर्‍याई बीचबाटोमै चोरी गरिरहेका थिए।
पक्राउ परेकाहरूले तेलचोरीमा आयल निगमका कर्मचारी र ट्यांकर मालिकको समेत संलग्नता रहेको बयान दिएपछि सोही आधारमा आयल निगम क्षेत्रीय कार्यालयका प्रमुखसहित तीन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए।
सिल तोडिएका ट्यांकर डिपोमा ल्याउनेलाई कारबाही गर्नुको साटो तेल अनलोड गर्न दिएर कुर्मीले चोरीलाई प्रश्रय दिएको प्रहरीको भनाइ छ। यसअघि नागरिकसँगको कुराकानीमा निगम भलवारीका प्रमुख कुर्मीले डिपोमा तोकिएको परिणाममा तेल नपुगे ट्यांकर साहुलाई दिने ढुवानी भाडाबाट निगमले पैसा असुल्ने बताएका थिए।
साहुले त्यो पैसा चालकबाट असुल्ने गरेको बताइन्छ। यो प्रक्रिया नियमित चलिरहेको छ। धेरै तेल चोरेर थोरैको भुक्तानी गर्न आयल निगमका कर्मचारी, व्यवसायी र चालकबीच मिलेमतो भेटिएको अनुसन्धान अधिकारीले जनाएका छन्। 'व्यवसायी, चालक र आयल निगमका कर्मचारीको मिलेमतोबिना चोरी सम्भव छैन,' एसपी थापाले भने।
तेल चोरी गर्दागर्दै पक्राउ परेका चालकको बयानका आधारमा प्रहरीले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठसहित १६ व्यवसायीका नाममा पक्राउपुर्जी जारी गरे पनि उनीहरू सबै फरार छन्।
व्यवसायी अगुवाकै ट्यांकर चोरीमा संलग्न पाइएपछि यसमा ठूलै गिरोह सक्रिय रहेको अनुमान अनुसन्धान टोलीले गरेको थियो।
अनुसन्धान फराकिलो बनाउँदै लगेपछि चोरीमा संलग्न अभियोगमा पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। राष्ट्रिय सर्तकता केन्द्र र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यो घटनाको छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्।
'तेलचोरीमा चालकलाई मात्रै दोष लगाएर पन्छिँदै आएका ट्यांकर व्यवसायी अब पन्छिन पाउँदैनन्, कर्मचारी, चालक र व्यवसायी सबै मिलेका छन्,' एसपी थापाले भने।
भलवारी डिपोमा भारतको बैतालपुर डिपोबाट तेल आउँछ। बैतालपुर डिपोबाट लोड भएपछि नै तेल चोर्ने काम सुरु हुने एक व्यवसायी बताउँछन्।
आयल निगम स्रोतका अनुसार एउटा ट्यांकरमा २ सय लिटरसम्म तेल कम हुने गरेको छ। भारतमा लोड गर्ने ठाउँमा भन्दा यहाँ अनलोड गर्ने बेला एक डिग्री तापक्रम कम हुने भएकाले निगमले १२ हजार लिटरको ट्यांकरमा ९ लिटर र २० हजार लिटरको ट्यांकरमा १५ लिटर छुट दिँदै आएको छ। यहीअनुसार ट्यांकरमा तेल घटबढ नभई सधैं योभन्दा धेरै परिमाणमा तेल घट्ने गरेको निगमका एक अधिकृतले बताए।
पश्चिमाञ्चल ट्यांकर व्यवसायी सघंले ट्यांकर मालिकलाई उन्मुक्ति दिन भारतबाट हुने ढुवानी बन्द गरेर पेट्रोलियम अभाव सिर्जना गरेको छ। भारतको बैतालपुरबाट हुने निगमको पेट्रोलियम ढुवानी शनिबारदेखि हुन सकेको छैन। निगमले भने सहज रूपमा उपलब्ध गराउन अमलेखगन्जबाट निजी ट्यांकरमार्फत ढुवानी गराई वितरण गर्न थालेको छ।
तेल चोरीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन चौतर्फी दबाब पर्न थालेको छ। नेकपा एमाले रुपन्देहीले तेलचोरीमा संलग्नलाई कारबाही माग गर्दै बिहीबार बुटवलमा दबाब र्‍याली प्रदर्शन गरेको छ।
यसबीच, आयल निगमले भने तेलचोरीको घटनामा आफ्ना कर्मचारीको संलग्नता नरहेको भन्दै बचाउ गरेको छ। घटनाबारे अध्ययन गर्न गठित निगमको समितिले कर्मचारीको संलग्नता नभएको जनाएको हो। ‘निगम हाताभन्दा बाहिर भएको घटनामा कर्मचारीलाई मुछ्न मिल्दैन,' समितिको प्रतिवेदनमा भनिएको छ, ‘पेट्रोलियम ढुवानी विनियमावली अनुसार यसमा ट्यांकर ठेकेदारको संलग्नता हुन्छ।'
निगमका निर्देशक विशाल ओझाको संयोजकत्वमा गठित अध्ययन समितिले बिहीबार बुझाएको प्रतिवेदनमा ढुवानी विनियमावली अनुसार ढुवानी ठेकेदार (ट्यांकरधनी) लाई कारबाही हुनुपर्ने उल्लेख छ। निगमको डिपोबाट चार किलोमिटर टाढा चोरी भएकाले कर्मचारीको संलग्नता नहुने जिकिर गर्दै बचाउ गर्न खोजिएको छ।
 
यो पनि

प्रकाशित: २५ वैशाख २०७१ १८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App