नेपाली महिलाहरुले अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेको अवस्थालाई उनले सराहना समेत गरिन्। ‘महिलाहरुको रुपान्तरणको अभ्यास ग्रामीण भेगदेखि सुरु हुनुपर्छ। त्यसका लागि सबैले हातेमालो गर्न जरुरी छ,' उनले भनिन्।
नेपाली महिला आन्दोलनको विमर्शका रुपमा पुस्तकलाई प्रकाशन गरेको मीना आचार्यले बताइन्। ‘पुस्तकलाई एक कार्यपत्रको रुपमा बुझ्न सकिन्छ। देशमा भएको बहुआयामिक रुपान्तरणमा अग्रसर भूमिका खेलेका महिलाहरुमाथि केन्द्रित रहेको छ,' उनले भनिन्। पुस्तकमा मीना आचार्य, रेशा तामाङ, प्रतिभा सुवेदी, जगत देउजा, दुर्गा घिमिरे, निर्मला शर्मा ढुंगाना, राजेन मानन्धर, सुधा त्रिपाठी, अरुणा उप्रेती, विधान आचार्य, इन्दु तुलाधर, मञ्जु थापा र दीप्ति खकुरेल लगायतका १९ वटा लेख समावेश छन्।
कार्यक्रममा अस्मिता नाम दिएकोमा साहित्यकार पारिजातलाई समेत स्मरण गरेर कविता वाचनको आयोजना गरिएको थियो। ‘नेपाली समाजमा रहेको पुरुषवादी वर्चश्वविरुद्ध पुस्तक सार्वजनिक भएको छ। यसमा महिलाहरुको विभिन्न मुद्दालाई प्राथमिकताका साथ समावेश गरिएको छ,' समीक्षक राजेन्द्र महर्जनले भने।
त्यस्तै चित्रकार अस्मिना रञ्जितले महिला सशक्तिकरणमा केन्द्रित रहेको अस्मिता महिला प्रकाशनबारे बोलिन्। ‘२०४५ सालमा स्थापित प्रकाशन गृहले महिलामाथि केन्द्रित पुस्तकलाई महत्व दिएर प्रकाशन गरिरहेको छ,' उनले भनिन्। कार्यक्रममा इन्दु तुलाधर, नम्रता शर्मा र मोना शेर्पा लगायतले बोलेका थिए।
प्रकाशित: २३ वैशाख २०७१ २०:५९ मंगलबार





