मेरा बाल्यकाल मुम्बईको चेम्बुर इलाकामा बित्यो। घरमा आमा, बुवा, दिदी र ममात्रै थियौँ। सानो र सुखी परिवार थियो हाम्रो। सानैदेखि हट्टाकट्टा थिएँ। खानाको सोखिन थिएँ। टीभी असाध्यै हेर्थें। पढाइमा पनि राम्रै थिएँ।
सानोमा म शिक्षिका वा डान्सर बन्ने सपना देख्थेँ। तर, म सानैदेखि स्वाङ गर्न सिपालु थिएँ। मलाई सम्झना छ– हाम्रो गर्ल्स स्कुलमा बुनाइको कक्षामा स्विटर बुन्न सिकाइँदै थियो। मेरो टिचरको नाम थियो, मिस पर्ल। मेरो र बुनाइको जन्मदेखिको शत्रुता थियो। मैले आफ्नो बुन्ने काम पूरा गरिनँ। परीक्षा नजिकिएपछि मिल्ने साथीले मेरो बुन्ने काम पूरा गरिदिइन्। तर, टिचरले हाम्रो 'चिटिङ' थाहा पाइन् र सजायस्वरूप उनले हामीलाई फेल गर्ने धम्की दिइन्। त्यतिबेला मैले 'ड्रामा क्विन' बन्दै टिचरसामु रोएँ–कराएँ। तर, टिचरको मन पग्लिएन। त्यसपछि मैले अर्को 'ट्रिक' लगाएँ। आँशु निकाल्दै टिचरलाई भनेँ, 'तपाईंलाई फेल गर्ने मन भए मलाई गर्नुस्। तर, मेरो साथीलाई पास गरिदिनुस्। यसमा उसको गल्ती छैन।' मेरो गोहीको आँशुलाई टिचरले पत्याइन् र हामी दुवैलाई पास गरिदिइन्।मुम्बईको सेन्ट जेभियर्स कलेजमा हाम्रो एउटा ठूलो गु्रप थियो। हामी धेरै मस्ती गर्थ्याैं। एक दिन मैले कलेजमा एउटा पोस्टर टाँसिएको देखेँ। त्यसमा निर्माता–निर्देशक रमन कुमारले विज्ञापन गरेका थिए। सिरियलका लागि उनी केही नयाँ अनुहारको खोजीमा थिए। साथीहरूको लहैलहैमा लागेर म पनि अडिसन दिन पुगेँ। अचम्म, स्त्रि्कन टेस्टमा म सफल पनि भएँ। मेरो पहिलो सिरियल थियो– 'ला बेलाज'। त्यसपछि मैले 'हम पाँच' सिरियल गरेँ। तर, पछि टीभीबाट पाइने एउटै किसिमका अफरबाट म वाक्क भएँ। केही नयाँ गर्ने सोच बनाएर मैले अभिनेत्री बन्ने निधो गरेँ। र, दक्षिणतिर लागेँ।
पहिलो मलयालम फिल्म पाउँदा मेरो भुइँमा खुट्टा थिएन। पहिलो फिल्म त्यो पनि दक्षिणका सुपरस्टार मोहनलालसँग। एउटा विज्ञापनमा मेरो काम देखेर मलाई अभिनेत्रीका लागि छनोट गरिएको थियो। मोहनलालसँग काम मिल्नासाथ मलाई मलयालमका अरू १२ फिल्मको अफर आयो। त्यसपछि त के थियो र? म खुसीले हावामा उड्न थालेँ। तर, त्यतिबेला मलाई थाहा थिएन कि– अभिनेत्री बन्नु मेरा लागि काँडाको मुकुट धारण गर्नुसरह हुनेछ।
पहिलो फिल्मका लागि मेरो 'लुक टेस्ट' भयो। त्यसका लागि म आमाबुवा र दिदीसँग दक्षिणभारत गएँ। ५० प्रतिशत काम सकिएपछि फिल्म रोकियो। फिल्म बन्द हुनुको कारण मलाई मानियो। मलाई 'अलिच्छनी' भनियो। म भने छिट्टै आफ्ना अरू फिल्म सुरु हुनेमा आशावादी थिएँ। तर, लोदर लगाएको भन्दै मलाई अरू फिल्मबाट पनि निकालिएको कुरा मैले पत्रिकामार्फत थाहा पाएँ। म निराश हुन थालेँ। ठीक त्यही बेला दक्षिणका निर्माता–निर्देशक बालाचन्दरसँग मलाई न्युजिल्यान्ड आउटडोर सुटिङका लागि जानुछ भन्ने थाहा पाएपछि म आफ्नो पासपोर्ट र अरू कागजपत्र जुटाउनतिर लागेँ। तर, पछि त्यहाँबाट पनि 'नो' भन्ने जवाफ आयो। 'रिजेक्सन'को अनौठो अवधिबाट मैले गुजि्रनुपर्योन। एउटा फिल्मको त ठूलठूला पोस्टर टाँसिएको पनि थियो तर त्यस फिल्मबाट पनि मलाई हटाइयो र अर्कै अभिनेत्रीलाई राखियो। यो सुनेपछि म डाँको छोडेर रोएँ। मलाई 'ननडान्सर' र 'कुरूप' भन्दै रिजेक्ट गरियो। एउटा निर्माताले त फिल्म साइन गर्नुअघि मेरो 'चिना' समेत मागेका थिए। 'बरु मेरो छोरीले फिल्म नपाओस्। तर, उसको चिना हामी दिन्नौँ,' भन्दै बुवाले रिसाउँदै ती निर्मातालाई साफ झपारेका थिए।
मेरो निराशा दिनानुदिन बढ्दै गइरहेको थियो। मैले ८० वटा जति विज्ञापनमा काम गरिसकेकी थिएँ। तर, पछि विज्ञापनबाट पनि अफर आउन बन्द भयो। पहिले विज्ञापनको अडिसनमा मलाई देख्नासाथ अरू मोडलहरू आफूलाई असुरक्षित महसुस गर्थें। पछि मलाई त्यहाँ पनि अस्वीकृतिको सामना गर्नुपर्योत। एक दिन नरिमन प्वाइन्टमा यस्तै एक मिटिङबाट 'रिजेक्ट' हुँदा म यति 'हर्ट' भएँ कि बौलाहीजस्तै पैदल हिँड्नथालेँ। हिँड्दाहिँड्दा चेम्बुर पुगेपछि मलाई होश आयो। त्यहाँनिर मेरा अगाडि साईं मन्दिर थियो। मन्दिरभित्र पसेर साईंका मूर्तिअघि उभिएर रोएँ। मलाई लाग्यो– म ग्ल्यामर जगत्का लागि योग्य छैन।'
प्रकाशित: २० वैशाख २०७१ ११:३८ शनिबार





