६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

आइबी सरका अनेक चेहरा

दार्जिलिङ बसपार्क छेउबाट चौरस्तातिर उकालो चढ्न बाटो काट्तै थियौं। म पछि थिएँ। मुलबाटोमा हुलका हुल मोटरगाडी कुदिरहेका थिए। कुनै मोटर आँखै नभएजस्ता, कुनै कता पुग्ने थाहै नपाई कुदेजस्ता र कुनै भने हतारिएर कुदेजस्ता। बाटो काट्न खोज्नेहरूलाई छोइहाल्छन् कि भनेझैं गरी ती कुद्थे।अघिअघि हिँडेका उनले भने, ‘यस्तैलाई काइँलाले आज मृत्यु मेरो जीवनको छेवैबाट गयो भनेर लेखे।' 
प्रत्युतरमा मैले केही भनिनँ। 
हामी सानो तर उकालो बाटो चढ्न लाग्यौं।
कति सूक्ष्म हेराइ थियो त्यो काइँलाको। आयाममा सम्पूर्णता हेर्न खोज्दा त्यस्तो भयो, यता लीलामा झन् सूक्ष्म हेराइ पहिल्याएका छौं।
म स्याँस्याँ गर्दै उकालो चढ्दै थिएँ। उनी कतै पनि थाकेका थिएनन्। सकेको सुन्दै लुरुलुरु हिडिरहेँ म। 
चौरस्ता छेउ पुग्दा मेरो मुटु जोडजोडले चलिरहेको थियो। उनले देब्रे हातको चोर औंलो नाकको छेउमा राख्तै भने, ‘सूक्ष्म तरिकाले, केलाएर हेर्यौंो भने यो चौरस्ता पनि हल्लिरहेको छ, यो चौरस्ता यसरी चुपो लागेर बसेको कहाँ छ र?'
उनको कुरा सुनेर मेरो मनमा चिसो पस्यो। कतै चौरस्ता हल्लिएर म पछारिने त होइन!
त्यो यात्राका अगुवा थिए, इन्द्रबहादुर राई अर्थात् आइबी सर। नेपाली भाषा साहित्यमा विचारका प्रतिपादक र व्याख्याता। पहिले गुरुप्रसाद मैनालीको शैलीको लोकप्रियताबाट प्रभावित भए। पछि तेस्रो आयामको वैचारिक साहित्य लेखनबाट नेपाली साहित्यलाई नै प्रभावित गरे। अझ पछि समाज विज्ञान र भौतिक विज्ञानको पाराडाइम सिफ्टलाई नेपाली साहित्य लागू गरे। तेस्रो आयामबाट लीला लेखनमा सरेर।
पश्चिम सिक्किम साहित्य प्रकाशनले २०६२ मंसिरमा दुई दिने लीला लेखन संगोष्ठी आयोजना गरेको थियो। प्रमुख वक्ता थिए, इन्द्रबहादुर राई। बोल्ने क्रममा उनले भने, ‘मान्छेलाई बुद्धि एकैचोटि आउँदो रहेनछ।' कसरी तेस्रो आयामबाट लीला लेखनतिर लाग्नुपर्योल भन्ने बुझाउन खोज्दै थिए उनी, ‘यो बुद्धि चोइलीका चोइली नआउँदो रहेछ। पाथीका पाथी नआउँदो रहेछ बुद्धि। अलि अलि गरेर, चम्चा चम्चा गरेर आउँदो रहेछ यो।'
ध्यानस्थ भएर मन्तव्य सुनिरहेका स्रोताको गडगडाहट ताली बज्यो। कतिले उठेर ताली बजाए। उनले थपे, ‘तेस्रो आयामको कुरा गर्दाखेरी बस्तु जस्तो छ त्यस्तै लेख्नुपर्छ भन्थ्यौं, सम्पूर्ण बस्तु लेख्नुपर्छ भन्थ्यौं। तर पछि हामीलाई बुद्धि पलायो बस्तु त आफू जस्तो छ त्यस्तै पो देखिँदो रहेछ, अलिअलि छेउकुनामात्र देखिँदो रहेछ सम्पूर्ण देखिँदो रहेनछ।'
उनका अनुसार बस्तुलाई झ्वाप्प हेर्दा जे देखिन्छ, त्यो लेख्ने भन्ने तेस्रो आयामको विचार थियो। लीला लेखनमा आइपुगेपछि ‘जे देखिन्छ त्यो लेखिँदैन, जे लेखिन्छ त्यो देखिँदैन' भन्नेमा उनी पुगे।
हेर्ने मान्छेको गुणको अवस्था र समयको सापेक्षतामा एउटै वस्तु फरकफरक देखिन्छ भन्ने विचार नै लीलावादी विचार हो। यो कुरा तेस्रो आयामको विचारसँग ठ्याक्कै विपरीत छ। जब सापेक्षतावादको सिद्धान्त राईले पढ्न पाए अनि लीला उनको दर्शन बन्न पुग्यो। तेस्रो आयाम थाल्दै सापेक्षतावाद पश्चिममा आइसकेको भए तापनि उनीहरूले त्यो पढ्न नपाएको कुरा उनी बारम्बार गर्ने गर्छन्।
तर आयामबाट लीला लेखनतर्फ पाइला चाल्दा उनलाई मुख्य रूपमा प्रभावित गर्ने कुरा केवल भौतिक विज्ञानमात्र थिएन। जब उनले भौतिक विज्ञान र पूर्वीय दर्शनबीच सामीप्यता पाउन थाले अनि उनको वैचारिक अभियानको दिशा टुंगो लाग्यो। भागवत गीतामा कंशको सभामा पसेका कृष्णलाई देख्नेहरूले आफ्नो आफ्नो व्यक्ति देखेको तर कृष्ण कसैले नदेखेको कुरा उल्लेखित छ। यता अत्याधुनिक वैज्ञानिकहरू निल्ज वोर र वेर्नर हाइजनवर्गले गरेको प्रयोगमा पनि परमाणुको अवस्था कतिखेर अणुजस्तो कतिखेर तरंगजस्तो देखिएको उनले पढेका थिए। र, वैज्ञानिकहरूले भनेका थिए, परमाणुको गुण त्यसलाई हेर्न खोज्ने द्रष्टा (अब्जर्भर) मा भर पर्ने रहेछ। त्यसको निश्चित गुण रहेनछ। यहीँबाटै राईले अत्याधुनिक विज्ञान र पूर्वीय दर्शन मिलेको देखेका हुन्। यसलाई पुष्टि गर्न उनले अमेरिकी भौतिक विज्ञानका प्राध्यापक फ्रिटजफ काप्राको दी ताओ अब फिजिक्स पटकपटक पढेका थिए। काप्रा वैज्ञानिक भए तापनि पछि जोगीजस्तै भएर एसियाका जापान, भारत र चीनमा लामो समयसम्म बसे। यी देशमा बसेर उनले संस्कृति र पौराणिक साहित्यको अध्ययन गरे। उनको यही साधना स्वरूप नै उक्त पुस्तकमा उनले पूर्वीय रहस्यवादी ऋषीमुनिहरूका विचार र आजका वैज्ञानिकको विचार एउटै भएको व्याख्या गरेका छन्। यही कुराको थप व्याख्या भने काप्राले अर्को किताब ‘दी टर्निङ प्वाइन्ट'मा गरेका छन्। त्यसो त ‘माया इन फिजिक्स' शीर्षकको किताबका पानापाना राईले पचाइसकेका थिए, जब उनले ‘कठपुतलीको मन' शीर्षकको कथा र लीला लेखनका २० सूत्रीय आधार प्रस्ताव गरेका थिए।
यति हुँदाहुँदै पनि तेस्रो आयाम र लीलालेखन अभियानका हिसाबले आम पाठकबीचमा उनी लोकप्रिय छैनन्। आज पनि उनलाई नाम लिने पाठकले ‘विपना कतिपय'का कथाकार वा ‘आज रमिता छ' उपन्यासका लेखक भनेरमात्रै चिन्छन्। विश्वविद्यालयका प्राध्यापकले आंशिक रूपमा चर्चा गर्नुका अलावा आयाम र लीला लेखनबारे नेपाली भाषा साहित्यका गोष्ठी र कार्यशालामा छलफल चल्ने गर्दैन। त्यसो त विचार वा वादमाथि बहस गर्ने क्रम पूर्वमा धेरैअघिदेखि नै छुटिसकेको देखिन्छ। सिंगापुर विश्वविद्यालयका प्राध्यापक सइद फरिद एलाटस्ले किन एसियामा वैचारिक समूहहरू जन्मन सकेनन् भन्नेबारे विशद् चर्चा गरेका छन्। उनले इवन खाल्डुनको समाजशास्त्र नबनेर किन अगस्ट कोम्टको बन्यो, किन गान्धीका विचारको सिद्धान्त बन्न सकेन भन्नेबारे व्यापक विश्लेषण आफ्ना अध्ययनमा प्रस्तुत गरेका छन्। पूर्वीय परम्परामा आजको मुख्य समस्या भनेको विचारको पुस्ता वा समूह नबन्नु नै देखिन्छ।
तेस्रो आयाम र लीला लेखनजस्ता वैचारिक लेखनलाई आलोचनात्मक दृष्टिले हेर्ने हो भने यहाँ प्रस्ट रूपमा विचार र समूहको पुस्ता देखापर्छ। यी दुवैको इतिहास, संरचना र प्रयोगले अंग्रेजीमा भन्ने गरिएको ‘स्कुल अफ थट'को निर्माण गरेको छ। तेस्रो आयामको वैचारिक आधारमाथि आफैं प्रश्न उठाउँदै राईले लीला लेखन सुरु गरे। यो विचारधाराको निर्माण उनी आफैंले गरे। यो विचारको समूह वैचारिकता र सृजना दुवै काममा लागिपरेको छ। यो समूहबीचमै पनि भिन्न विचार निर्माणका लागि संघर्ष चलेको छ। राईबाट प्रारम्भ भएको यो अवस्था निश्चय नै प्राध्यापक एलाटस्ले देखेभन्दा भिन्न हो। 
मेरो ‘लीलाधारणा र कथाहरू' शीर्षकको किताब तयार भएपछि पढेर सुझाव दिन राईलाई पठाएको थिएँ। लगभग तीन महिनापछि लिखित सुझावसहित चिठी र पाण्डुलिपि पाएँ। 
किताबमा मैले केही पृष्ठ ‘कार्ल मार्क्सको भ्रान्ति व्याख्या' शीर्षकको लेखलाई दिएको थिएँ। उनले पठाएको चिठीको एउटा अनुच्छेदमा यसै शीर्षकमाथि केही लेखिएको थियो।
त्यो अनुच्छेदकोे आशय मार्क्सवादीहरूलाई धेरै आलोचना नगर्नु, बरु देखेको नदेखै गर्नु भन्ने थियो। मार्क्सवादीहरू आलोचना सहँदैनन्, आफूले जे भन्यो त्यही ठिक हो भन्ने खालका हुन्छन्। त्यसकारण ‘कमिटमेन्टवादीहरू'ले लीलावादको आलोचना गर्छन् नै। उनीहरूलाई धेरै नजिस्क्याउनू। पत्र यस्तै आशयको थियो। 
त्यो पढिसकेपछि मलाई अबचाहिँ बूढा गलेछन्, भन्ने लाग्यो। धेरैपहिले उनले ‘साहित्यको अपहरण' नामक लामो लेखमा दार्जिलिङका मार्क्सवादी प्रगतिवादी लेखकहरूलाई आलोचना गरेका थिए। उनको मूल तर्क राजनीतिक प्रतिबद्धता (कमिटमेन्ट) ले साहित्य सकिन्छ भन्ने थियो। त्यो कुरा दार्जिलिङे मार्क्सवादीका निम्ति मात्र नभएर नेपाली भाषा साहित्यका सबै प्रगतिवादी लेखक चिन्तकका लागि सही नसक्नु भयो। अनि राई घोषित रूपमै मार्क्सवादी प्रगतिवादीका विरोधी भए।
तर पछिल्ला कुराकानीमा उनी यसबारे आत्मालोचना गर्छन्। भन्छन्– लेख्ता धेरै विचार गर्नुपर्ने रहेछ। त्यो कमिटमेन्टबारेको लेख किन छपाइहालेछु भन्ने आज पनि लागिरहन्छ। बीपीले जस्तै यतिचाहिँ बाँच्तै छाप्छु, यतिचाहिँ मरेको दस वर्षपछि छापिदिनु अनि यतिचाहिँ मरेको पचास वर्षपछि छापिदिनु भनेर राख्नुपर्ने रहेछ।'
‘नेपाल लिटरेरी फेस्टिभल'को पहिलो वर्षको कार्यक्रमका प्रमुख वक्ता थिए राई। होचो कदको वक्ताले दिएको उँचो अनि दार्शनिक मन्तव्य थियो उनको। जीवनभरको अध्ययन र भोगाइको सार अभिव्यक्ति थियो त्यो। 
कार्यक्रम सकेर दार्जिलिङ फर्कने बिहान कवि वैरागी काइँलाकोमा खाना खाने योजना थियो। म पनि सँगै थिएँ। 
एउटै टेबलमा म उत्तरपट्टि उनी दक्षिणपट्टि बसेका थियौं। खानेकुरामा दाल भात, तरकारी, अचार यस्तै नै थियो। मासु पनि थियो।
म कपाकप खान थालेँ। उनले खाएको हेर्दै पनि थिएँ। मासुको टुक्रा दाँतले लुछ्तै थिए। त्यो देखेर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो, ‘सर सबै चिज खानुहुन्छ?'
उनी खाँदै थिए। मासुको टुक्रा अब हातमा झुन्डिएको थियो। एकछिन त बोलेनन्। बेकार सोधेँछु जस्तो पनि लाग्यो मलाई। 
एकछिनमा जवाफ आयो, विष खान्नँ, ढुंगा–माटो खान्नँ, काँडा खान्नँ, अरू थोक खान्छु। 
म खङ्ग्रङग भएँ। मनै चिसो भयो। उनी थप केही नभनी मजाले खाइरहेका थिए। मजाक गरेकोजस्तो अनुहार पनि थिएन। 
म खाँदै नै थिएँ। तर खुवाइ अलमलियो मेरो। मलाई त्यो प्रश्न सोध्नु गल्ती गरेँछु भन्ने लागिरह्यो। पछि फेरि केही भन्छन् कि भनी पर्खें, तर त्यसपछि लगभग कुराकानी भएन। 
आजसम्म पनि म प्रस्ट छैन– उनले त्यो मजाकमा भनेका थिए कि मेरो प्रश्न गराई नै गलत थियो!
०६६ सालको मंसिर १ गते मेरो विवाहको निम्तो दिन म मेथिवारी सिलगढी पुगेँ। उनी खाटमा बसेर अग्लो सिरानीमा राखिएको किताबमा घोरिइरहेका थिए। केहीबेरको भलाकुसारीपछि म निम्ता दिएर फर्किएँ। पछि उनले बिहेमा आउन नसक्ने कुरा फोनबाट जानकारी दिए र भने, ‘समय मिलाएर बुहारीलाई लिएर दार्जिलिङ घुम्न आउनु। एक हप्ताको लागि हाम्रो पाहुना बन्न। बिहामा आउन सकिएन।'
म पुलकित पनि भएँ। हनिमुन दार्जिलिङमै मनाउने पो हो कि! तर समय मिलाउन सकिनँ। पछि दसैंमा झापा गइयो। अनि त्यही मौकामा तुलसाजी र म दार्जिलिङ पनि गयौं।
एक बेलुकी खाना खाइसकेर बैठक कोठामा गफ गरेर बसिरहेका थियौं। एक वृद्ध जोडी अर्को नव विवाहित। पहाडतिरबाट आएको चिसो चेपचेपबाट कोठामा पसेको थियो।
कुरैकुरामा उनले भने, ‘हेर बुहारी। हामी त दुईजना मात्र छौं। उनी मेरो रुँगालु म उनको रुँगालु। नयाँनयाँ बिहा गर्दा जिन्दगी सुँगासुँगमा बित्छ रे। छोराछोरी भएपछि व्यवहार टार्नुपर्ने, कति कुरा पुर्यााउनुपर्ने भएकोले लोग्ने स्वास्नीबीच ठुँगाठुँग हुन्छ रे। अनि जब बुढेसकाल लाग्छ, छोराछोरी आफ्नै सुरमा लाग्छन्। बूढाबूढीको भने रुँगारुँग हुन्छ। बुहारीहरूको अहिले सुँगासुँगको बेला छ।
तुलसाजी रातो अनुहार लाएर मन्दमन्द हाँस्नुभो। म अलि जोडैले हाँसे।

प्रकाशित: २० वैशाख २०७१ ००:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App