६ माघ २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

खाद्य खातिरदारी

भनिन्छ, तपाईं जस्तो खानु हुन्छ, त्यस्तै बन्नुहुन्छ। राम्रो खाना खाए त्यहीअनुसारको शरीर बन्छ। खराब खाना खाए रोगव्याधीको डर हुन्छ। आजको व्यस्त दिनचर्यामा होटल तथा रेस्टुरेन्टमा खानपिन गर्नु अनिवार्य भइसकेको छ। 

त्यसैगरी खाद्य पदार्थमा प्राय: सबै मानिसको निर्भरता आफूजस्तै अरू मानिससँग हुन्छ। खानेकुरा व्यक्तिको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। गुणस्तरीय खाना भएन भने त्यसले प्रत्यक्ष रूपमा व्यक्तिको स्वास्थ्यमा असर पार्छ। खाद्य पदार्थमा व्यक्तिको आर्जनको ठुलो हिस्सा खर्च हुन्छ। यस हिसाबले खाद्यान्न, पेयपदार्थका साथै होटल, रेस्टुरेन्ट र अन्य खाना पाइने ठाउँको स्वच्छता अनिवार्य हुन्छ। कसैलाई पनि गुणस्तरहीन सामग्री उपभोग गर्न बाध्य पार्नुहुँदैन।

हामीकहाँ होटल, रेस्टुरेन्ट, किराना पसल र मासु पसलहरूमा गुणस्तरको अभाव छ। यस्ता वस्तुका उपभोक्ताले महँगो मूल्य तिरेर पनि गुणस्तर पाउन सकेका छैनन्। होटलको खाना अस्वस्थकर भएका कैयन् उदाहरण फेला परेका छन्। खाद्यान्न उत्पादक कम्पनी र प्रशोधन केन्द्रले समेत गुणस्तरमा ध्यान दिएका छैनन्। कतिपय सरकारी संस्थानमै पनि यस्ता समस्या देखिएका छन्। निजी क्षेत्रका यस्ता संस्थाको विषय यस्तो स्थितिमा गौण हुन जान्छ। कुनै पनि खाद्य वस्तु उपभोग गर्ने बेलामा स्वास्थ्यलाई लिएर चिन्तित हुने अवस्था आउनु आफैंमा सकारात्मक पक्ष होइन। व्यक्तिले बजारमा जति धेरै निर्भर हुनुपरेको छ, त्यतिकै मात्रामा खराब खानेकुराको असर पनि परिरहेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीले बेलाबेलामा बजार अनुगमन गर्छन्। दुःखको कुरा यस्तो अनुगमन नियमित छैन। नियमित बजार अनुगमनको संयन्त्र नभएपछि चाडबाड लक्षित वा कुनै कर्मचारी विशेषको चाहनामा मात्र यस्तो अनुगमन हुने गर्छ। प्राय: सबैजसो अनुगमनमा केही न केही कैफियत फेला पर्छ। अनुगमन गर्नासाथ कैफियत फेला पर्नु भनेको खराब खाद्य वस्तुको उच्च उपलब्धता हो भन्ने बिर्सन मिल्दैन। सरसफाइलाई अत्यन्तै पवित्र पक्ष मानिन्छ। त्यसमा पनि खाद्य वस्तुलाई स्वच्छ, सफा र गुणस्तरीय राख्नुपर्छ। प्राय: होटल तथा रेस्टुरेन्टमा सरसफाइ नभएको, बासी खाना भेटिएको, तयार खाद्य वस्तु नछोपी राखिएको र निर्धारित तौल नपुगेको पाइएको छ। उपभोक्तालाई तौल नपुगेका सामग्री दिनु भनेको आफैंमा ठगी हो। यसरी उपभोक्तालाई ठगेर पनि कैयन् व्यक्ति धनी भइरहेका छन्।

विभागको टोलीले हालै काठमाडौंका केही होटल तथा रेस्टुरेन्ट र मासु पसलमा अनुगमन गर्दा खाद्य गुणस्तरको अवस्था चिन्ताजनक पाइएको थियो। खाद्य वस्तुको गुणस्तर र स्वास्थ्यलाई ध्यान दिइएको नपाइनु भनेको गम्भीर लापरबाही हो। यस्ता व्यवसायले सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवहार गर्नुपर्ने हो। अरूलाई आफूले निश्चित रकम दिएर बिक्री गरिने सामग्री गुणस्तरयुक्त हुनुपर्छ भन्ने ध्यान नपुग्नु भनेको व्यावसायिकताको कमी हो। कैयन् व्यक्तिको ध्यान पैसामा मात्र गएको छ। तर, सर्वसाधारणलाई यस्ता सामग्री बिक्री गर्दा गुणस्तरमा ध्यान दिनु आफ्नो कर्तव्य हो भन्ने बोध गरेको देखिएन।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य वस्तुको मापदण्ड तोकिएको छ। अनुगमनका क्रममा गुणस्तरहीन तथा दूषित खाद्यवस्तु भेटिएमा सजायको व्यवस्था यसमा गरिएको छ। यस्ता सामग्री बिक्रीवितरण गर्नेमाथि सजायको व्यवस्था पनि गरिएको छ। गुणस्तरहीन तथा दूषित वस्तुको प्रयोगले व्यक्तिको ज्यानै जानसक्ने अवस्था पनि आउन सक्छ। गुणस्तरहीन खाद्यवस्तु भेटिएमा सुनुवाइका लागि प्रमुख जिल्ला अधिकारीकहाँ उपस्थित गराइन्छ। दूषित खाद्यवस्तु भेटिँदा जिल्ला अदालतमै पेस गर्ने व्यवस्था छ। दूषित खाद्यवस्तु बिक्रीवितरण गर्ने होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई जेल सजायसमेत हुन सक्छ। सडेगलेको खाद्यान्न दिएर व्यक्तिको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यक्तिले सजाय पाउनु पनि पर्छ। वास्तवमा खाद्यान्न बिक्रीवितरण गर्ने व्यवसायमा बाह्य मुलुकमा निकै सशक्त कानुनी व्यवस्था राखिएको हुन्छ। हामीकहाँ पनि यसलाई सामान्य अवस्थामा मात्र नराखी गम्भीर ढंगले व्यवहार गर्नुपर्ने देखिन्छ।

खाद्यवस्तुसँग सम्बन्धित व्यवसाय अत्यन्तै उच्च अनुगमनमा रहनुपर्छ। यसका लागि आवश्यक पूर्वाधार पनि सरकारसँग हुनुपर्छ। यसरी बिक्रीवितरण गरिने वस्तुको गुणस्तरको नियमित जाँच गर्ने अवस्था हुनुपर्छ। त्यसो भयो भने मात्र जथाभावी गर्ने खतरा कम हुन्छ। चाडबाड वा खास कर्मचारीको रुचिमा मात्र अनुगमन हुने हो भने त्यसबाट कानुनले अपेक्षा गरेअनुसारको लक्ष्य प्राप्त हुँदैन। यस्तो व्यवसायमा रहने व्यक्तिको स्वास्थ्य अवस्थाको पनि नियमित जाँच हुनुपर्छ। जुन व्यक्ति नियमित खाद्यवस्तुको नजिक बस्छन्, त्यस्ता व्यक्तिको स्वास्थ्यस्थिति नकारात्मक भए खाद्य वस्तुमा समेत प्रभाव पर्छ। हरेक नागरिकले स्वस्थकर र स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउनुपर्छ। उपभोक्तालाई यथार्थमै लाभ पुर्‍याउने कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न तत्पर हुनुपर्छ। 

प्रकाशित: ६ माघ २०८२ ०६:०७ मंगलबार

Download Nagarik App
Download Nagarik App