मन्दिर परिसरमा बासुकी, उमा महेश्वर, बासुकी, जलहरी, गणेश, अन्नपूर्णा, लक्ष्मी, वनदुर्गा, सरस्वती पादुका, बसाहा, गरुड र देवाली देवताका मूर्ति छन्। त्यहाँ चौधौं शताब्दीको गणेश मूर्ति छ। अन्यत्रका जस्तो यहाँको गणेश भुँडे छैनन्।
मन्दिरमा सूर्योदयपछि रुद्री पाठ गरिन्छ र वैदिक विधिअनुसार पूजा हुन्छ। सूर्यास्तमा आरती गरिन्छ। मुल पुजारी एक र सहायक पुजारी ७ जना छन्। पुजारीलाई आर्थिक स्रोत छैन। पुजा सामग्री मन्दिर समितिले व्यवस्था गर्छ।
जंगमका अनुसार मन्दिरमा शिवरात्रि, अक्षय तृतीया, साउने सोमबार, कात्तिक शुक्ल पूर्णिमा, जनै पूर्णिमा, गाईजात्रा, तीज, ऋषि पञ्चमी, दसैं, तिहार र बाला चतुदर्शीमा मेला लाग्छ। महिनाको अन्तिम सोमबार १२ बजेदेखि सूर्यास्तसम्म मन्दिर हातामा रामायण भजन गरिन्छ।
मन्दिरछेउमा पोखरी छ। सँगै सानो अनन्त कुवा पनि। तीर्थालु कुवाको पानी महादेवलाई चढाउँछन्। पानी मिठो छ। खाँदा रोग निको हुन्छ भन्ने कथन छ। कुवाको पानी दरबारमा मगाएर राणा प्रधानमन्त्री चन्द्र शमशेरले खाने गरेको कथा सुनिन्छ। चन्द्र शमशेर कुष्ठ रोगी थिए।
अनन्तलिंगेश्वरको पूर्वमा आशापुरेश्वर र केदारनाथको शिर डोलेश्वर धाम, पश्चिममा चरखण्डेश्वर, उत्तरमा सुवर्णेश्वर र दक्षिणमा फूलचोकी माई छन्।
ढुंगे सिँढी चढेर मन्दिर पुगिन्छ। संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अनन्तलिंगेश्वर सातौं शताब्दीको मन्दिर हो। सिँढी छेउमा भैरव मन्दिरसँगै राजा नरेन्द्रदेवको शिलालेख छ। तिनताका अनन्तलिंगेश्वर लोकपाल स्वामी र हंशगृहदेवका नाउँले प्रख्यात थिए।
लिच्छिवीकालमै अनन्तलिंगेश्वर भेक समृद्ध बस्ती थियो। समयको कालखण्डमा बस्ती लुप्त भयो। ‘हंशगृह प्रसिद्ध सहरी बस्ती थियो,' श्रेष्ठ भन्छन्, ‘त्यही बस्तीका मुख्य देवता लोकपालस्वामी थिए।'
श्रेष्ठका अनुसार १९९० सालको भूकम्पअघि मन्दिर नेपाली छाने शैली (प्यागोडा)को तीनतले थियो। भूकम्पमा भत्केपछि गुम्बज शैलीमा पुनःनिर्माण गरियो। अनन्तलिंगेश्वर संरक्षण तथा विकास समिति मन्दिर क्षेत्रको विकासमा लागेको छ। समितिका अध्यक्ष शालिग्राम न्यौपानेका अनुसार ०७० असोज २१ देखि अखण्ड दीप प्रज्वलन हुँदै आएको छ। त्यहाँ हरेक बिहान पण्डित गोविन्दप्रसाद रिसालले रुद्री पाठ गर्छन्। उनले मासिक तलब पाउँछन्।
‘अनन्तलिंगेश्वरलाई वृन्दावन बनाउन र अक्षय कोषका लागि हामी धान्याञ्चल महायज्ञ लगाउँदैछौं,' न्यौपानेले भने, ‘अहिले समितिका पदाधिकारी र चन्दादाताको सहयोगमा पूजापाठ चलिरहेको छ।'
अनन्तलिंगेश्वरमाथि कैलाश डाँडा छ। मन्दिरबाट ५ सय मिटर माथि उक्लिने हो भने त्यहाँबाट काठमाडौं, ललितपुर र भक्तपुर सहर छर्लंग देखिन्छ। आकाश उघि्रएका बेला हिमाल पनि देखिन्छ। कैलाश हुँदै लाँकुरी भञ्ज्याङसम्म हाइकिङ गर्न सकिन्छ। ऐँसेलु र चुत्रो खाँदै हाइकिङ गर्दा रमाइलो हुन्छ।
मन्दिर क्षेत्रमा धेरै काम गर्न बाँकी छ। कुटी जीर्ण भइसक्यो। साधु सन्तका लागि सत्तल आवश्यक छ। खुसीको खबर, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले अनन्तलिंगेश्वरलाई नेपालको वृन्दावन बनाउने भएको छ। ‘नेपाल भूमिमा वृन्दावन, वृन्दावनमा वृद्धाश्रमका लागि त्रिनेत्र' भन्ने मूल नाराका साथ स्थापित केन्द्रको ध्यान अनन्तलिंगेश्वरले खिचेको छ।
‘वृन्दावनका लागि देशका विभिन्न ठाउँ हेर्यौंन,' केन्द्रका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्, ‘तीमध्ये सबैभन्दा उपयुक्त अनन्तलिंगेश्वर मन्दिर क्षेत्र लाग्यो।'
वृन्दावनमा आध्यात्मिक जागरण फैलाउन ध्यान केन्द्र, योगशाला, गुरुकुल शिक्षा, अस्पताल र वृद्धाश्रम बनाउने योजना छ। मनको शान्ति खोज्न र अध्यात्मिक ज्ञान लिन वृन्दावन उपयोगी हुनेछ।
‘दधिकोट गाविस, भक्तपुर जिविस, वन र सरकारले हामीलाई अनुमति दिनुपर्छ,' ढकाल भन्छन्, ‘हामी छिट्टै श्रीमद्भागवत वा शिवपुराण लगाएर अर्थ संकलन गरेर काम सुरु गर्नेछौं।'
सिपाडोलको डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरी धार्मिक पर्यटन विकासमा योगदान पुर्यालएका जंगम मठका प्रमुख भरत जंगम वृन्दावन बनाउने अभियानमा पनि कस्सिएका छन्। उनी केन्द्रका सल्लाहाकार हुन्। ‘अनन्तलिंगेश्वर सनातन धर्मको मूल थलो बन्नेछ,' उनी आशावादी छन्, ‘वृन्दावन बन्नेबित्तिकै अनन्तलिंगेश्वर पर्यटनधाम बन्नेछ।'
केही समयपहिले अनन्तलिंगेश्वर पुगेर पाइलट बाबाले वृन्दावन बनाउन सहयोग गर्ने वचन दिएका थिए। त्यसले गाउँलेलाई उत्साही बनाएको छ।
काठमाडौं उपत्यकाको काँठ क्षेत्र भएकाले दधिकोटमा गाउँले जीवन छ। तरकारी र दूध उत्पादन हुन्छ। सिजनअनुसारका तरकारी किन्न पाइन्छ। अनन्तलिंगेश्वर बसपार्क सँगैका पसलमा पाइने चिनिपाक र पुष्टकारी कोसेली ल्याउन सकिन्छ।
कसरी पुग्ने
अरनिको राजमार्गको नयाँ ठिमी चोकबाट दक्षिण गाम्चा, तर्खाल हुँदै मन्दिर। ठिमीबाट अनन्तलिंगेश्वर बसपार्कसम्म ५ किमि मिनिबस चल्छ। बसपार्कबाट १० मिनेट हिँडे मन्दिर। अर्को बाटो सूर्यविनायकबाट गुन्डु हुँदै ४ किमि। तेस्रो बाटो ललितपुरको लुभू, भुजुङे, बिरुवा, तर्खाल हुँदै करिब ७ किमिमा मन्दिर।
प्रकाशित: २० वैशाख २०७१ ००:१९ शनिबार





