४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

नजिकियो सदरमुकाम

म्याङलुङ– तेह्रथुमलाई कोयाखोलाले दुई भागमा विभाजन गरेको थियो। राजनीतिक भागबन्डा, सामाजिक, साँस्कृतिक सम्बन्ध, आर्थिक कारोबार सबै दुईतिर थियो। कोयाखोलावारि सदरमुकामतर्फका जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङको सम्बन्ध म्याङलुङसँग थियो।
कोयाखोलापारिका आठराई क्षेत्र भनिने संक्रान्ति, चुहानडाँडा, थाक्लुङ, छातेढुंगा, इवा र वाकु गाउँ पाँचथरको फिदिमसँग नजिक थिए। आठराईका मानिस प्रशासनिक काम, नागरिकता, जग्गापासका लागि मात्र म्याङलुङ आउँथे, आउन–जान र काम गर्न न्यूनतम पाँच दिन छुट्याएर।
अहिले परिस्थिति बदलिएको छ, कोयाखोलापारिका बासिन्दालाई सडकले नजिक्याएको छ। आठराईको व्यापारिक केन्द्र संक्रान्तिबाट म्याङलुङसम्म यातायात चल्न थालेको छ। बेलायत सरकारको सहयोगमा सञ्चालित रुरल एप्रोच प्रोगाम (र्याकप) ले स्थानीयसँग मिलेर खनेको बाटोमा जिप आउजाउ गर्छन्। ट्र्याक खुल्ने क्रममा रहेको मध्यपहाडी लोकमार्गले दुई क्षेत्रमा विभाजित जिल्लालाई गाँस्दैछ। संक्रान्तिबाट ४९ किलोमिटर शेर्मासम्म मध्यपहाडी लोकमार्गको ट्र्याक विस्तार भइरहेको छ। र्यारपले खनेको शेर्मा–म्याङलुङ १६ किलोमिटर बाटोमै मध्यपहाडी लोकमार्ग मिसिएको छ। 
मध्यपहाडी लोकमार्गले सदरमुकामसँगको दुरी घटाएपछि आठराईबासीलाई सदरमुकाम पुगेर घर फर्कन सहज भएको हो। छातेढुंगा– ६ बस्ने हस्त राई हिजोआज सदरमुकाम म्याङलुङ पुगेर एकै दिन घर फर्कने गरेका छन्।
सडकले म्याङलुङ जोडिनुअघि आठराईबासीलाई सदरमुकाम पुग्न दुई–तीन दिन पैदल हिँड्नुपर्थ्यो। उनीहरू पाँचथरबाट इलाम, झापा, इटहरी, धनकुटा हुँदै सदरमुकाम पुग्ने गर्थे। तर, अहिले आठराईबासी सदरमुकामको काम सकेर उही दिन घर फर्कन सक्ने भएका छन्। राईले भने, ‘बाटो नचल्नुन्जेल सदरमुकाम पुगेर घर फर्किन पाँच दिन लाग्थ्यो, उही दिन घर आइपुग्छु।' राईको अनुभवमा सदरमुकाम जाने खर्च पनि ह्वात्तै घटेको छ। पहिला उनलाई सदरमुकाम पुगेर आउन पाँच हजार खर्च हुन्थ्यो, अहिले एक हजारले पुग्छ। नागरिक समाजका अध्यक्ष तुलसी संग्रौला जिल्ला सदरमुकाम र आठराई क्षेत्रलाई सडकले गाँसिदिएको बताउँछन्।
मध्यपहाडी लोकमार्गले आठराई र सदरमुकामको दुरीमात्र छोट्याएको छैन, त्यहाँका स्थानीयलाई पनि नजिक्याएको छ। आर्थिक, सामाजिक र राजनीतिक निकटता बढेको छ। थोक्लुङका तुलसीराम धमला भन्छन्, ‘बाटो सञ्चालन भएपछि जिल्लाका नेता–कार्यकर्ता र प्रशासनिक कार्यालयका प्रमुखको समेत आठराई क्षेत्रमा उपस्थिती बढ्न थालेको छ।'
सडकले सदरमुकाम म्याङलुङ र आठराईलाई जोडेपछि पाँचपटकभन्दा बढी आठराई क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनले भने, ‘यसअघिका कार्यालय प्रमुख आठराई जान ६ जिल्ला घुम्नुपर्थ्यो, अहिले एकैदिन दुईवटासम्म कार्यक्रममा सहभागी हुन भ्याइन्छ।'

प्रकाशित: १९ वैशाख २०७१ २०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App