यो समयका 'सर्वाधिक लोकप्रिय र अलोकप्रिय' पत्रकार किशोर नेपालको संस्मरण 'मेरो समय' आइतबार राजधानीमा सार्वजनिक भएको छ। प्राध्यापक माथेमाले विमोचन गर्दै जनताको आँखाबाट लेखिएको इतिहासको संज्ञा दिए।
'तपाईं किशोर नेपाललाई मन पराउनुस् नपराउनुस्, तर यो पुस्तक नपढी सुखै छैन,' ओस्कार वाइल्डको पंक्ति उद्धृत गर्दै माथेमाले भने, 'खोज्दै गयो भने चन्द्रमामा पनि कालो धब्बा भेटिन्छ। किशोरलाई मात्रै किन गाली गर्ने, अँध्यारो पाटो त सबैको छ।' आफू पत्रकार नेपालको चुस्त बुझाइ र चुम्बकीय लेखनको प्रशंसक रहेको खुलाए।
कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लेखक नेपालको निबन्धकार व्यक्तित्वबारे प्रकाश पारे। २०२८ सालतिर नेपालले कविता विशेष पत्रिका 'स्वतन्त्रता' र आफूले 'भोलि' पत्रिका चलाएको सम्झँदै आचार्यले भने, 'उहाँ सधैं जोश र उर्जा भएको लेखक हो। त्यसैले उहाँ नामजस्तै सधैं किशोर हो। नाम नै किशोर भएकाले त्यसभन्दा माथि जानसक्ने कुनै प्रावधान नै छैन।'
आफूहरु सबैको साझा समयलाई नेपालले 'मेरो समय' भन्दिएर समयमाथि नै सर्वाधिकार लिएको रोचक टिप्पणी उनले गरे। २०६० सम्मको खण्डलाई लेखिएको पुस्तकबारे उनले थपे, 'हामी यसलाई रुचिका साथ पढ्नेछौं, त्यसपछिको समयबारे उहाँको लेखनीको प्रतीक्षामा छौं।'
लेखक उज्ज्वल प्रसाईंले नेपाली समाज पढ्न चाहनेका लागि यो पुस्तक खजाना हुने दाबी गरे। 'जो आफूलाई 'नयाँ पुस्ता' को ठान्छन्, उनीहरुले यो पुस्तक पढ्नैपर्छ,' प्रसाईंले भने, 'किनकि, यसमा उहाँका निजीभन्दा सामाजिक पक्ष र अर्थराजनीतिक विश्लेषण धेरै छन्।'
आफ्नो पुस्तकबारे बोल्दै पत्रकार नेपालले बाहिर आत्मकथा भनी प्रचार भए पनि समकालीन नेपाली समाजको कथा भएको बताए। 'मेरो आत्मकथा लेख्ने हो भने त १० पेजको पनि हुँदैन होला, यो हामी सबैको समयको कथा हो,' उनले भने, 'म आलोचना सहन सक्ने मानिस हुँ, राम्रो लागे राम्रो भन्नुहोला, पुस्तक मन नपरे बेसरी गाली गर्नुहोला।'
प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी निरज भारीले यो पुस्तक आफ्नो प्रकाशनको सबैभन्दा मोटो हुन पुगेको बताए। 'दाइलाई ८० हजार शब्दको पुस्तक लेख्न अनुरोध गरेका थियौं, लेख्न सक्नुहोला जस्तो लागेको थिएन। उहाँले त १ लाख ७८ हजार शब्द पो लेखिदिनुभयो,' भारीले भने, 'उहाँ सधैं नवीन सोच र चिन्तन भएको मानिस हो, त्यसैले त उहाँ किशोर दाइ हो।'
प्रकाशित: १४ वैशाख २०७१ २१:३८ आइतबार





