साहित्य र कलाको सौन्दर्यशास्त्रको अन्तिम उद्देश्य मानव जातिको समृद्धि नै हो र मानवीय चेतमा आउने परिवर्तनले मात्र त्यस उद्देश्यमा पुग्ने मार्ग दृष्टिगोचर तुल्याउँछ। कलाको सन्दर्भमा आभास, भ्रम, यथार्थको पुनर्सिर्जन जस्ता सैद्धान्तिक समालोचकीय अर्थ जेसुकै भए पनि तिनले समग्र रूपमा गर्ने योगदान भनेको मानिसको चेतनामा पार्ने प्रभाव र त्यसका माध्यमबाट ल्याइने प्रगतिशील परिवर्तन नै हो। यसैले कालचेतनाको महŒवलाई रेखांकित गर्दछ।
अहिलेको नेपाली कलालेखन (साहित्य, कला, स्थापत्यकला आदि विविध विधा) का समस्या समाजको विकास क्रमको अध्ययन अनुशीलन र तिनको कलात्मक पुनसिर्जनका लागि नभई नहुने दृष्टिकोणसँग सम्बन्धित छन्। म केका निमित्त लेख्दैछु, कुन परिप्रेक्ष्य र कालचेतमा लेख्दैछु, मैले लेख्ने समाजका अन्तर्विरोधहरू केकस्ता छन् भन्नेबारेमा लेखक स्वयं स्पष्ट भएन भने बु‰नैपर्छ– लेखकमा दृष्टिकोणको गम्भीर समस्या विद्यमान छ। मेरो विचारमा लेखक आफ्नो लेखनको अभीष्टबारे प्रष्ट हुनैपर्छ। र, अहिले देखिएका समस्याको मूल जरो यतै गाडिएको छ।
हरेक समाजमा साहित्यको प्रगतिशील चरित्र नै प्रधान हुन्छ। विडम्बनावश, नेपालको प्रगतिशील साहित्य पनि अपरिपक्व सैद्धान्तिक स्थापनाको सिकार भइरहेको देखिन्छ। हाम्रो विचारमा यो दृष्टिकोणकै समस्या हो, जसले लेखकहरुलाई रुढीग्रस्त बनाइदिएको छ। दृष्टिकोण निर्माणमा सबैभन्दा अहम् महŒव राख्छ समाजको ऐतिहासिक विकास क्रम र कालचेतनाले। हामी यहीँनिर भ्रमित भइरहेका छौं। परिवर्तनको उत्कट चाहना, संघर्षमा लामो र क्रियाशील सहभागिता तथा समाजप्रतिको दायित्वबोध हुँदाहुँदै पनि नेपाली लेखकहरुले कलाको स्तरमा नयाँ चेतनाको प्रवेशलाई आत्मसात् गर्न नसकेको देखिन्छ। अन्यथा, सात सालदेखिको आधुनिक नेपालको सामाजिक र राजनीतिक आन्दोलनलाई यसले कलाको स्तरमा सम्बोधन गर्नैपर्ने थियो। नेपाली समाजको संरचनागत परिवर्तनको प्रक्रिया, विश्व सन्दर्भमा हेर्ने हो भने तीव्रतर गतिमा छ। तर हाम्रो कला चेतना धेरै पछाडि छ भन्ने कुरा कुनैबेला शताब्दीयौंसम्म युरोपका अंग्रेजी, पोर्चुगाली, स्पेनिस, फ्रेन्च उपनिवेश रहेका ल्याटिन अमेरिकी र अफ्रिकी कलासाहित्यको निकट विगत र वर्तमानलाई हेरे प्रस्ट हुन्छ। औपनिवेशिककालीन समाजका आफ्नै विशिष्टता हुन्छन् तर तिनको चेपुवामा परेका र विश्वबाट अलग पारिएका नेपालजस्ता मुलुकको समाजका पनि आफ्नै खाले विशिष्टता हुन्छन्। यस्ता विशिष्टतालाई ख्याल नराखिकन रचिएको कलाले समय चेतनालाई सम्बोधन गर्न सक्दैन।
दृष्टान्तका निमित्त नेपाली समाजको विश्लेषणलाई अघि सारौं। राष्ट्रका रूपमा आधुनिक नेपालको निर्माण भएपछिका अढाई शताब्दी बितेका छन्। सामन्तकालीन समाजमा आकारमा आएको मुलुक निरंकुश एकदलीय पञ्चायत हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ। यसबीचमा नेपाली समाजका संरचनामा फेरबदल आएको छ, राजनीतिक परिवर्तनले नेपाली समाजको आर्थिक र सामाजिक सम्बन्धहरूमा प्रत्यक्ष र परोक्ष परिवर्तन ल्याएको छ। मुलुकले कैयौं आन्दोलन र दस वर्षे सशस्त्र युद्ध भोगेको छ र परम्परागत शासनप्रणालीका वैधानिक आधार समाप्त भएका छन्। तर यसका यथार्थहरू कलामा अझै विशिष्टीकृत भइसकेको देखिन्न।
लेखनमा महŒव राख्ने प्रश्न हो, लेखनले केलाई आफ्नो विषय बनाउँछ? कुन चरित्र विशेषले के अभीष्टसिद्धिका लागि कस्तो भूमिका निर्वाह गर्दछ? र राजनीति तथा जनजीवनमा त्यसले कस्ता असर उत्पन्न गर्दछ? दृष्टिकोणकै समस्याका कारण नेपाली साहित्यमा यसमाथि विमर्श गरिएको पाइन्न। निश्चय नै प्रगतिशील साहित्यिक शिविरबाट यसमाथि हस्तक्षेपकारी भूमिका निर्वाह हुनुपर्ने थियो। वर्तमान यथार्थमाथि रचिएको साहित्य कलाको अवस्था हेरौं। यिनले धेरैजसो काल्पनिक शत्रु निर्माण गरेका छन् र स्पानिस लेखक सर्वान्तेसको कालजयी पात्र डन की हो झैं त्यसै काल्पनिक शत्रुमाथि प्रहार गर्ने गरेका छन्। एक अर्थमा हुँदै नभएको वा क्षयीकृत तŒवमाथि निरन्तर प्रहार भइरहेको छ र समाजको वर्तमान चरित्रका पछाडिका कारक तत्वहरूलाई बेवास्ता गरिएको छ।
नेपाली समाजको विश्लेषणको अभाव र दृष्टिकोणमा रहेको कमजोरी नेपाली लेखन परम्पराको यस्तो साङ्लोमा बेरिएको छ, फुत्किँदा पनि उसको चेत खुलेको छैन। अहिले, जतिबेला विज्ञान र प्रविधिले ग्रामीण जनजीवनलाई विश्वसँग जोडेको छ। गोठाल्नी नेपाली नारीले खाडीमा काम गर्न गएको आफ्नो पतिलाई निमेषभरमै सम्पर्क गर्छे, यता आफ्नो फरक आवश्यकता पूर्तिका निम्ति नजिकै उपलब्ध पुरुषसँग बात मार्छे अनि उसको पति रुँदै मरुभूमिमा अमीर र शेखहरूका पत्नीहरूको सेवामा हाजिर हुन्छ। हामी वैधानिक रूपमा अस्वीकृत भइसकेको उहिलेको जिम्मुवाल र मुखियालाई तारो बनाइरहेका हुन्छौं। उपभोक्तावादी संस्कृतिका बारे, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका सर्तहरूले खोक्रो बनाएको आम नेपालीको पीडाबारे, दलाल अर्थतन्त्रले खोक्रो बनाइदिएको हाम्रो राष्ट्रिय र जातीय संस्कृतिबारे र यसले ल्याएको तरंगबाट प्रभावित नयाँ पुस्ताको क्षयग्रस्त मनोविज्ञानबारे हाम्रो कला–साहित्य गम्भीर हुन बाँकी नै छ। समाजको यस यथार्थलाई छिटपुट रूपमा अभिव्यक्त गरेर पुग्नेछैन। यस अवस्थामा हामी सचेत लेखकहरूले हस्तक्षेप गर्नैपर्दछ। यो हस्तक्षेप चेतना र कलाको स्तरमा बढी जरुरी छ।
प्रकाशित: १३ वैशाख २०७१ ०३:५७ शनिबार





