उनका हरेक कथा बृहत् आख्यानीय सम्भावना बोकेर आएका हुन्छन्। जहाँ ती कथा टुंगिएका छन्, त्यहीँबाट फेरि अगाडिको ठूलो आख्यानको आँगनतिर ढोका खुल्दछ। मनको अथाहा गहिराइतिर बग्न खोज्नेलाई एउटा कथा नै उपन्यासको प्रारम्भझैं लाग्छ। उनका कथाभित्र रहेका यी सम्भावनालाई उनी आफैंले 'अनन्त प्रतीक्षामा' शीर्षकको कथालाई 'मोदिआइन' उपन्यास बनाएर देखाइदिएका छन्। जब स्रष्टाको आँखाको ढकनी बाहिरी जगतबाट आन्तरिक जगततिर खुल्न थाल्छ, अनि देखा पर्न थाल्छन् मानव मनका विविधता। आख्यानको बाहिरी संसार नुहाइधुवाई चिटिक्क परेको शृंगारयुक्त व्यक्तिजस्तो हो, जसलाई देख्नासाथ 'आहा' भन्न मन लाग्छ। तर, त्यसैबेला उसको पेटभित्र के–के होला भनी सोच्यो भने उसको देखिने सौन्दर्यको तत्काल अन्त्य हुन्छ।
यथार्थमा मानिस मनोवैज्ञानिक प्राणी हो। मनको खेल नहुँदो हो त आजको यो सभ्यतासम्म आइपुग्ने सम्भावनै हुने थिएन। सँगै जंगलमा रमाइरहेका बाँदर, चिम्पान्जी, वन मान्छेहरू आज पनि तिनै झाडीतिर अलमलिएकै छन्, तर मानिस भने सन् २०२२ मा चन्द्रमामा मानव बस्ती बसाउने योजनामा पुगिसकेको छ। यदि मानिसले आफ्नो मनको प्रयोग नगरेर तिघ्रा र पाखुराको उपयोग गरी पेट भरिरहेको भए धेरै पहिल्यै पृथ्वीमा मानिस होइन अरू प्राणीको बाहुल्य भइसक्ने थियो। चारवटा खुट्टा र अत्यन्त शारीरिक शक्ति भएका हात्ती, गैंडा, बाघजस्ता प्राणीलाई पिँजडामा थुनेर खटाएको चारो दिने सामर्थ्य यी सुसुल्खुट्टे मान्छेलाई कहाँबाट प्राप्त भयो होला! मानिसभित्र रहेको मनको शक्तिको अध्ययन नगरेरै पनि मानिस यहाँसम्म आउथ्यो नै, तर विद्वानहरूले बाह्य परिवेशसँग मानिसको आन्तरिकताको के सम्बन्ध होला भनी खोजी गर्न थालेपछि आफैंभित्र बलिरहेको अलाउद्दिनको बत्तीजस्तो तिलस्मी संसार देखेका थिए। मनको आँखाले संसार देख्न थालेपछि मात्र यो सभ्यताको लीलाबोध हुँदै गएको थियो विस्तारै।
जब मानिसले थाहा पाउँदै गए, आफैंभित्र नै प्रकृतिले सम्पूर्ण ब्रह्माण्डको चरित्रलाई सूक्ष्म 'चिप्स'को रूपमा राखिदिएको रहेछ र त्यसैबाट हामी चलेका रहेछौं। अनि सुरु भयो मानिसको स्वअन्तर यात्रा। अनि भेटिन थाले अनेकांै अनौठा र रहरलाग्दा विषय। भावुकता, काल्पनिकता, विद्रोह, प्रेम, सन्यास आदि अनेकौं मनोद्वेगहरूको उत्पादन स्थल कहाँ हो, त्यो कुन तार हो जसमा ठोकिएर मनले नितान्त नयाँ संगीतको उत्पादन गर्दछ? के हो त्यो जसले मानिसलाई भीडबाट एकान्ततिर तान्छ र बिस्तारै देखाइदिन्छ उसको यात्राको दिशा।
दुनियाँमा हजारौं मनोवैज्ञानिक आए, जसले मानिसको मनलाई शरीरको भन्दा भिन्दै पाराले अध्ययन गरे। शारीरिक संरचनाकै प्रतिध्वनिको मन, तैपनि त्यसैले सञ्चालन गर्दछ विचार र चेतनालाई। मनकै अध्ययन गर्दागर्दै आज मानिसले मानिसभित्रै यति धेरै सम्भावना देखिसक्यो अब विषयको रुढ व्याख्याको अर्थ अन्योलमा परेको छ। मनोविश्लेषणको प्राविधिक संसार अर्कै छ, तर त्यसलाई साहित्यिक आँखाले हेर्ने प्रविधि नै आममानिसको सबैभन्दा लोकप्रिय धार बनेको छ। आज संसारमा लेखिने अधिकांश कृतिहरूले मनोजगतकै अध्ययन गर्दछन्। कोइरालाले समातेको मनोवैज्ञानिक धारभन्दा कता हो कता अगाडि आइपुगेको छ, आजको मानव मन। विज्ञान र प्रविधिको उन्नतिले हिजोका कैयौं विषय आफैं रुढ र असान्दर्भिक हुँदै गइरहेका पनि छन्, तैपनि मानिसभित्र रहेको जैविक संवेगसँग जोडिने कुरा नयाँ शैलीमा देखिए पनि पुरानै सन्तुष्टिको आकांक्षाले ग्रसित छन्।
मनोविज्ञानले यति ठूलो फड्को मारिसक्दा पनि कोइरालाका कृति अझै सँगसँगै दौडिरहेका छन्। साहित्यका नयाँनयाँ सिद्धान्त स्थापित हुँदै जाँदा पनि उनका कृति ती सिद्धान्तका फर्माभित्र सजिलै छिरिरहेका छन्। हिजो अस्तित्ववादी र नियतिवादी मानिएका उनका कथा र उपन्यास आजको उत्तरआधुनिक भनिने प्रवृत्तिसँग पनि उस्तै अग्लो भएर उभिन सकेको पाइन्छ। हरेक युगसँग उभिने शक्ति बोकेका कृतिले कोइरालाको भौतिक उचाइलाई सधैं प्रतिनिधित्व गरेको देखिन्छ। आख्यानबाहिर गएर उनले लेखेका आफ्नो कथा, आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलले नेपालको राजनीतिक इतिहासलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। आत्मजीवनीका रूपमा संसारमा धेरै कृति प्रसिद्ध छन्। नेपाली साहित्यमा कोइराला नै पहिला हुन्, जसले आत्मजीवनी कसरी लेख्नुपर्छ र त्यसका लागि आफू कत्तिको इमानी हुनुपर्छ भन्ने देखाए। साँच्चै नै नेपाली साहित्यमा कोइरालाको आत्मलेखनको तुलनामा अरू कसैका कृति उभिन सकेका देखिँदैनन्। इमानदारिता नै जीवनको मूल दर्शन बनाएर हिँडेका उनले आफ्नो कलमलाई कतै पनि डगमगाउन दिएका छैनन्।
नेपालको आधुनिक राजनीतिक इतिहासको जगे ढुंगोका रूपमा चिनिने कोइराला साहित्यमा पनि त्यही शक्तिले उभिएका छन्। नेपाली प्रजातान्त्रिक आन्दोलनका लागि राजनीतिक संगठन निर्माण गर्न प्रथम प्रस्ताव बनेर नेपाली कांग्रेसका संस्थापकसमेत रहेका विश्वेश्वरप्रसाद कोइराला आफ्नो लेखनमा कतै पनि 'कांग्रेस' भेटिँदैनन्। पार्टीको प्रचार र नारा उनले आफ्नो लेखनको दुरूपयोग गरेको भेटिँदैन। त्यही नै उनको लेखकीय इमानदारीताको नमुना हो। प्रत्येक ठाउँमा तत्तत् भूमिका निभाउन सक्ने क्षमता भएका कोइरालाले आफैं भनेका छन्, 'म पारिवारिक बाध्यताका कारण राजनीतिमा आएको हुँ। ...म साहित्यमा अराजकतावादी हुँ।' अराजकता भनेको स्थापित रुढ मान्यताको विपक्षमा उभिनु हो। लेखनमा अराजक नभए नयाँ कुरा भन्न कसरी सकिन्छ र!
गएको भदौ २४ देखि कोइरालाको जन्मशताब्दी मनाइएका समाचार पत्रपत्रिकामा पढ्न पाइन्छ। राजनीतिक 'बीपी जन्मशताब्दी' नेपाली कांग्रेसले कसरी मनाउँदै होला, त्यो त कांग्रेसीजनलाई थाहा होला। साहित्यिक विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दीबारे टाढा कतै जंगलमा वस्तुको घाँटीमा बाँधिएको घन्टी बजिरहेझैं बेलाबेला सुनिने गरेको छ। केही वर्षअगाडि मनाइएको महाकवि देवकोटा जन्मशताब्दी वा गत वर्षमात्र मनाइएको भीमनिधि तिवारी जन्मशताब्दीजतिको पनि विश्वेश्वर जन्मशताब्दीको चर्चा सुनिएको छैन। बीपीको नामलाई गायत्री जपेर पद र प्रतिष्ठा प्राप्तिका लागि जुधिरहनेलाई त सायद यो फुर्सद नहोला, साहित्यमा विश्वेश्वरको आराधना गरेर नथाक्नेहरू पनि कतै चीर निद्रामै देखिन्छन्। उसो त यो जरुरी छैन, मरिसकेको मानिसलाई सधंै सम्भि्करहनु, आफ्नै पितृको श्राद्ध गर्न नभ्याउनेले बीपीलाई सम्झने फुर्सद पाएनन् भने त्यसलाई अस्वभाविक मान्न सकिन्न।
बीपीको नाममा नाममा स्थापित केही संस्था र प्रजातान्त्रिक लेखकहरूको संगठनका रूपमा घोषित 'नेपाली लेखक संघ' कोइरालाको जन्मशताब्दी मनाउने नाममा निकै व्यस्त रहेको सुनिन्छ। ती संस्थाको व्यापकता कति हो र तिनको जनपरिचालन क्षमता कति हो भन्नेमा भने प्रशस्त प्रश्न उठ्न थालेका छन्। बीपी जन्मशताब्दीका नाममा प्राप्त आर्थिक सरसहयोग कहाँ कसरी खर्च भइरहेको छ र त्यसको जानकारी सम्बन्धित संस्थाका सदस्यसम्म पुग्न सकेको होला कि नहोला? अहिले देशमा आदिकवि भानुभक्तको दुई जन्मशताब्दी पनि सँगसँगै मनाइँदै गरेको सुनिन्छ। यी जन्मशताब्दी समारोहले यी व्यक्तित्वको योगदानको पुनर्स्थापना गर्न जुन पहल गरिरहेका होलान्, आजको सञ्चार र प्रविधिको यति सघन बेलामा के उपलब्धि भइरहेको होला त?
नेपाली लेखक संघअन्तर्गत गठित समारोह समितिभित्रका आधा दर्जन पदाधिकारीले सिंगै जन्मशताब्दीको भार बोक्नुपरेको देख्दा बीपीको उचाइ फेरि एकपल्ट नाप्नुपर्ने जस्तो देखिन्छ। कार्यक्रम संयोजक एक्लैले मात्र देशभरि कार्यपत्र प्रस्तुत गर्दै हिँड्नुपरेको देख्दा बीपीमाथि विद्यावारिधि गरेका दर्जनभन्दा बढी विद्वान कता हराएझैं लाग्नु स्वभाविक हो। एक वर्षसम्म मनाइने कार्यक्रममा चारवटा कार्यपत्र देशभरि वाचन गर्दै हिँडिरहेको नेपाली लेखक संघले आफ्नो कार्यक्रममाथि पुनर्विचार नगरे बीपी जन्मशताब्दी केही साहित्यिक पुरेतहरूको कब्जामा पुगेको र एक सय वर्षपछि उनलाई फेरि साहित्यिक पुरेतको 'सुन्दरीजल'मा कैद गरिएको देखिने छ। जन्मशताब्दीका लागि पाँच महिना बाँकी रहँदा अझै पनि बढीभन्दा बढी लेखक–साहित्यकारलाई परिचालित गर्दा महोत्सवीय वर्ष बनाउन सकिने समय छ। तर के यी संस्थाभित्र त्यो उदारता अझै बाँकी होला?
प्रकाशित: १३ वैशाख २०७१ ०३:४९ शनिबार





