८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

नयाँ सूत्रको अभ्यासमा

'आमा' लाई नेपालमा बनेको पहिलो फिल्म मान्दा नेपाली फिल्मले ५० वर्षे यात्रा तय गरिसकेको देखिन्छ। यद्यपि, यसको वास्तविक अनुहार 'उमेर खाएको जुँगा नआएको' युवकझैँ छ। अर्काे शब्दमा कुपोषणले चाउरिएको बालकजस्तो।

नेपाली फिल्मले आजको अवस्थामा आइपुग्न एउटा लामो कालखण्ड पार गरेको छ। रचना वा सिर्जनामा संख्याले भन्दा व्यक्ति र समाजमा त्यसको प्रभावले अर्थ राख्छ। अर्थात् जति लामो कालखण्ड पार गरे पनि नेपाली फिल्मले दर्शकलाई कुनै गर्वलायक सिर्जना दिन सकेको छैन, यो तीतो यथार्थ हो। 
नेपाली फिल्मको हरेक समीक्षा वर्ष एउटा आसमा टुंगिने गरेको छ– आउँदो साल बन्ने फिल्मले दर्शकलाई त्यो मौका देओस् जसले नेपालमा पनि राम्रा फिल्म बन्छन् भन्ने सन्देश छरोस्। यो कल्पनाले भने आजसम्म कुनै आकार लिन सकेको छैन। यसको कारण नेपाली फिल्मले 'पकेट' दर्शक कमाउन नसक्नु हो र परिणाममा उद्योग भनिए पनि यसले घाटाको व्यापार मात्र दोहोर्यानइरहेको छ। 
वर्ष २०७० पनि यो सत्यको अपवाद बन्न सकेन। निर्मित ९७ फिल्ममध्ये पाँचवटाले मात्र घाटा सहनुपरेन। कुनै फिल्मले त पोस्टरखर्च पनि उठाएनन्। विसं २०२१ देखि ३७ अवधिमा जम्मा नौवटा फिल्म बने, सबैजसोले दर्शक पाए। वर्षको एक–दुई फिल्म बन्थे, दर्शक व्यग्र प्रतीक्षामा रहन्थे। हिन्दी फिल्म मात्र हेरिरहेका दर्शक आफ्नो भाषालाई प्रोत्साहन गर्न र स्वाद फेर्न नेपाली फिल्ममा मन गर्थे।
४० सालयता बनेका फिल्मले मौलिकताभन्दा पनि हिन्दी फिल्मकै नक्कलमा जोड दिए र बिस्तारै माया गर्ने दर्शक गुमाउन थाले। नक्कल गरिएका नेपाली भन्दा सक्कली हिन्दी फिल्म नै हेर्ने मान्यता स्थापित भयो जुन आजसम्म निरन्तर छ। दर्शक भर्खर सहर पसेका युवा र मजदुरमा खुम्चियो। नेपाली फिल्म निर्माता–निर्देशकले केवल यही समूहलाई लक्ष्य गरेर २०६८ सम्म फिल्म बनाए र असफलता दोहोर्याफइरहे। 
२०६८ मा प्रदर्शित 'लुट' ले असाधारण सफलता हात पार्योन जसले परम्परागत सूत्रमा फिल्म बनाउने सिलसिला केही रोकिदियो। राजेश हमाललाई बुढ्यौलीले छोएपछि र वैकल्पिक अभिनेता निखिल उप्रेती र विराज भट्ट भारत पलायन भएपछि बलिउड फिल्मको नक्कलमा रमाउने निर्माता–निर्देशक यौन विषय बोकेका भद्दा फिल्म निर्माणतर्फ अग्रसर भए। त्यसैले वर्ष ७० यौनकथामा छाडा फिल्म बनाउने वर्षको रुपमा समेत स्थापित भयो। 
कालो बादलमा चाँदीको घेरा पनि हुन्छ भनेझैं यस्तै फिल्महरुको भिडमा केही यस्ता फिल्म आए जसले नेपाली फिल्म परिवर्तनको बाटो हिँड्न तयार छ भन्ने सन्देश छर्न सफल भए। बधशाला, साँघुरो, अन्तराल, मौन, ६ एकान ६, मोक्ष, झोला, फिटकिरीको सफलता नेपाली फिल्म नयाँ उचाइमा पुग्न आतुर छ भन्ने संकेत हो।
नेपाली फिल्मको लामो अवधि चारवटा फाइट, पाँचवटा गीत, सासूबुहारीको झगडा र धनी केटी–गरिब केटाबीच प्रेमजस्ता सालाखाला सूत्रमै अल्भि्कयो। निर्माणमा नयाँ पुस्ताको प्रवेशसँगै यो परम्परागत सूत्रमाथि प्रहार सुरु भएको छ। साँघुरो, अन्तराल र मोक्षजस्ता फिल्मले आफ्नै कथामा पनि राम्रो फिल्म बनाउन सकिन्छ भन्ने मान्यता स्थापित गरेका छन् यही वर्ष।
भव्य क्यानभाष, भड्किलो प्रकाश, अनपेक्षित मोड र नाटकीयता मसला–फिल्मका विशेषता हुन्। फाइट र गीतको मसला त छँदैछ। तर बितेको साल प्रदर्शनमा आएका केही फिल्मले यी मान्यताभन्दा पर रहेर कथा मात्र छानेनन्, प्रस्तुतिमा पनि नयाँपन मिसाए।
वर्ष २०७० को सुरुमै 'बधशाला' आयो, 'जनयुद्ध' मा सेनाले विद्रोहीलाई दिएको यातनाकथा बोकेर। यसअघि 'दासढुंगा' बनाएर विवादित मनोज पण्डितले छानेको कथा मौलिक र प्रस्तुतिमा प्रयोग थियो। सानो क्यानभाषमा चरित्रको मनोविज्ञानसँग खेलेर फिल्मको कथा अगाडि बढाउन युरोपियन फिल्मकर्मी विश्वभरि नै चर्चित छन्। 'साँघुरो' मार्फत जोयस पाण्डेले गत वर्ष 'भुईं मान्छे' को कथालाई विषय बनाए। सुकुम्बासी बस्तीका नवविवाहित जोडीका अप्ठ्यारा देखाइएको फिल्मले बौद्धिक दर्शकबाट राम्रो तारिफ पाएको थियो। यौन मनोविज्ञानलाई भल्गर नलाग्ने गरी पनि प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरेको थियो।
दीपा बस्नेत निर्देशित 'अन्तराल' ले पनि कथा र प्रस्तुतिका कारण बितेको साललाई फरक अर्थमा स्मरणीय बनाउन योगदान गर्योन।
नयाँ निर्देशक प्रवेशले वर्ष ०७० फिल्म निर्माणमा नयाँ गोरेटो हिँड्न खोजेको आभाष भयो। वर्षभरिका चर्चित फिल्म बनाउनेमध्ये छिरिङरितार शेर्पा, मनोज पण्डित र दिनेश डिसीमात्र पुराना अनुहार थिए। जोयस पाण्डे, दीपा बस्नेत, आशिफ शाह, हेमराज बिसी, सुरज भुषाल, प्रविन श्रेष्ठ, यादव भट्टराई, अनुप बराल सबैको पहिलो निर्देशकीय प्रयास प्रशंसनीय रह्यो। भलै नयाँ निर्देशकका धेरै फिल्मले व्यावसायिक सफलता पाएनन्।
नेपालमा 'बायोपिक फिल्म' बनाउने अभ्यास छैन। बनेका केही फिल्मले पनि व्यावसायिक सफलता पाउन सकेका छैनन्। म्युजिक भिडियो सम्पादक, निर्देशक हुँदै ठूलो पर्दाको फिल्म 'मोक्ष' निर्देशन गरेका प्रविन श्रेष्ठको नियति पनि यसभन्दा पृथक रहेन। फिल्मले व्यावसायिक सफलता हात पार्न नसके पनि निर्देशकको रुपमा उनको क्षमता चर्चायोग्य रह्यो। आफ्नै जीवनकथामा फिल्म बनाएका उनले फिल्मलाई भावुकताबाट टाढा लगेर पहिलोपटकमै परिपक्व निर्देशकको उदाहरण पेस गरे। नयाँ कलाकारलाई काम गराउन र सम्पादनमा उनको दख्खल पनि बितेको वर्षको उल्लेख्य उपलब्धि बन्यो।
वर्ष ०७० का उपलब्धि चर्चामा 'झोला' छुट्नु नहुने फिल्म हो। साहित्यिक कृतिमा बनेका फिल्म चल्दैनन् भन्ने मान्यता चिर्दै यादव भट्टराई निर्देशित 'झोला' ले समीक्षकसँगै दर्शकको पनि माया पायो। 'झोला' को सफलताले साहित्यिक कृति होइन, यसअघि कृतिमाथि फिल्म बनाउने निर्देशक फ्लप भएका रहेछन् भन्ने दृष्टान्त पेस गर्यो । 
'कर्कस', 'उमा', 'फिटकिरी, 'झोले', 'मौन', आदिले पनि बितेको वर्षलाई उपलब्धिमूलक बनाउन आ–आफ्नो क्षेत्रबाट योगदान गरे। यस्तै फिल्मको उपलब्धिलाई टेकेर अगाडि बढ्ने हो भने आउँदो साल झन् समृद्ध हुँदै जाने विश्वास गर्न सकिन्छ।

प्रकाशित: ११ वैशाख २०७१ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App