चितवन– गाेरखा फुजेलका कृष्ण अधिकारी हत्याप्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ। अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ।
गोरखा फुजेलका कृष्णको सशस्त्र संघर्षका बेला २०६१ साल जेठ २४ गते माओवादीले चितवन रत्ननगरमा गोली हानी हत्या गरेको थियो। हत्याविरुद्ध आफन्तले प्रहरीमा दिएको उजुरीमाथि कारबाही हुने–नहुनेमा लामो विवाद चल्दै आएको थियो।
घटना सम्बन्धमा अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला न्यायाधीवक्ता एकनारायण लम्सालले आइतबार चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेका हुन्। सबै अभियुक्तलाई ज्यानसम्बन्धी महलको दफा १३ उपदफा १ अनुसार सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।
सो दफा अनुसारको अभियोग ठहर भए, अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाउने छ। मान्छे मारेमा हुने सबैभन्दा ठूलो सजाय यही हो। अभियुक्तमध्ये ११ जनाविरुद्ध चितवन प्रहरीमा किटानी जाहेरी परेको थियो। जाहेरीमा नाम नपरेका थप दुईजना गोरखा फुजेलकी जानुका पौडेल र चितवन रत्ननगरका रुद्र आचार्यविरुद्ध पनि मुद्दा दायर भएको छ।
अभियोग दायर भए पनि आइतबार अभियुक्तको बयान लिन नभ्याएकाले थुनछेक बहस हुन नसकेको अदालतका स्रेस्तेदार विद्याराज पौडेलले जनाए।
कृष्ण अधिकारी हत्या प्रकरणमा चितवन प्रहरीले चैत्र ६ गते राति आरोपितमध्येका छविलाल पौडेल र भीमसेन पौडेललाई गिरफ्तार गरेर अनुसन्धान गरेको थियो। यसअघि आरोपितमध्येका रामप्रसाद अधिकारी र अजिव भनिने पर्शुराम पौडेललाई गिरफ्तार गरेर अनुसन्धान गरे पनि मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको निर्णयले छुटेका थिए।
भदौ २१ मा समातिएका आरोपितमध्ये रामप्रसाद र मंसिर २१ मा समातिएका अजिब २५ दिन हिरासतमा बसेर छुटेका थिए। प्रहरीले त्यो बेला गरेको अनुसन्धानले मुद्दा दायर गर्न प्रमाण नपुग्ने भन्दै मुद्दा अदालतमा नलैजाने सरकारी वकिल पनि लम्साल नै थिए। प्रहरीले घटनामा गोली हान्नेहरू जाहेरीमा नाम परेकाभन्दा बाहिरका रहेको बताएको छ।
अधिकारीलाई गोली हान्नेमा ऋषिराम लामिछाने, मदन पौडेल र रुद्र आचार्य रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। उनीहरू माओवादीको विशेष कार्यदस्ता स्पेसल टाक्सफोर्स रहेको प्रहरीको भनाइ छ। ऋषि र मदनको युद्धकालमा नै सुरक्षा कारबाहीमा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए। रुद्र हाल बेलायतमा छन्।
अदालतमा मुद्दा दायर भएपछि हुने आदेशका आधारमा प्रहरीले रेडकर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगमा आचार्यलाई नेपाल ल्याउने प्रहरीको तयारी छ। हत्यालगत्तै ६१ सालको जेठ २६ मा दोषी पहिचान गरी कारबाही गरी पाउँ भन्दै कृष्णका बुबा नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए।
त्यस्तै २०६२ सालको मंसिर २६ मा मृतकका दाजु नुरप्रसाद अधिकारीले आफ्नो भाइको हत्यामा संलग्न रहेको भन्दै ११ जनाको नामै किटान गरेर चितवन प्रहरीमा उजुरी दिए। हालसम्म नसमातिएका व्यक्तिमा रामप्रसाद अधिकारी नै नाम गरेका गोरखाका एकजना पनि छन्।
त्यस्तै गोरखाका मेघनाथ पौडेल, विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारीको पनि किटानी जाहेरीमा नाम परेको छ। प्रहरीको अनुसन्धानले माओवादी नेतृ हिसिला यमीकी सहयोगी रहेकी जानुका पौडेलको पनि घटनामा संलग्नता देखिन आएकाले उनीविरुद्ध मुद्दा दायर भएको सरकारी वकिल लम्सालले बताए।
महान्यायाधिवक्ताको कार्यालयले सशस्त्र संघर्षमा भएको घटनामा अनुसन्धान अगाडि बढाउन नहुने निर्णय अनुसार बन्द रहेको अनुसन्धान प्रक्रिया कृष्णका बाबुआमाको लगातारको अनशनपछि यो भदौमा सुरु भएको थियो। रामप्रसाद गिरफ्तार भएपछि भदौ २२ मा उनीहरूको अनशन रोकिएको थियो।
तर मुद्दा नै नचली असोज १४ मा रामप्रसाद छुटेपछि कृष्णका बाबुआमा नन्दप्रसाद र गंगामाया कात्तिक सात गतेदेखि लगातार अनशनमा छन्। उनीहरूको अनशनको बलले नै राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको थियो।
जयमंगलमा रहेका हजुरबा र आमालाई भेट्न गोरखाबाट आएका कृष्णलाई सुराकीको आरोपमा हत्या गरेको माओवादीले बताएको थियो। सशस्त्र संघर्षका घटना सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर अनुसन्धान गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै एकीकृत माओवादी र नेकपा–माओवादी यो अनुसन्धान प्रक्रियाप्रति रुष्ट छन्।
सम्बन्धित अन्य समाचार –
प्रकाशित: ३० चैत्र २०७० ०४:१२ आइतबार





