सिन्धुपाल्चोक- तिब्बतबाट तस्करी गरेर ल्याइएको १० किलो सुनसहित सिन्धुपाल्चोकमा तीनजना पक्राउ परेका छन्। बिहीबार दिउँसो नियमित जाँचका क्रममा इलाका प्रहरी कार्यालय बाह्रबिसेले बा९च ७२६८ नम्बरको टाटा सुमोबाट सुन बरामद गरेको हो।
प्रहरीका अनुसार तस्करले १-१ किलोको १० विस्कुट सुन पछाडिपट्टि राखिने अतिरिक्त टाएर लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको हो। सुनसहित तिब्बती नागरिकद्वय सिजुङ घ्याम्पुल र कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। टाटा सुमोका चालक लागते-१ सिन्धुपाल्चोकका ३० वर्षीया पासाङ गेली शेर्पालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत बोहोराले जनाए।
१५ महिनायता सिन्धुपाल्चोकबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको सुन बरामद भएको यो छैटौंपटक हो। यसअघि पटकपटक गरी २८ किलो सुन बरामद भइसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ फाल्गुन २०७० ०३:२६ बिहीबार





