५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले तय गरेको दूरीबारे पाठकलाई मैले निवेदन गरिरहनुपर्लाजस्तो लाग्दैन। शुक्रवारको गति र प्रगति गर्व गर्नलायक छ।प्रकाशनको छोटो अवधिमा आदरणीय पाठकको मन जित्न सफल शुक्रवार नयाँ 'ब्रान्ड'का रूपमा स्थापित भएको तथ्य पाठकसँग बाँड्न पाउँदा म निकै उत्साहित छु। युवावर्गलाई लक्ष्य गरेर प्रकाशन गरिएको शुक्रवार पत्रिकाहरूको भीडमा भिन्न छ। यसले आफूलाई सुरुदेखि नै फरक शैली र स्वादमा पस्कने जुन जमर्को गरेको छ, त्यसैको परिणाम हो आजको उपलब्धि। केही फरक पढ्न खोजिरहेका पाठकको रुचिलाई सम्मान गर्न सकेकाले शुक्रवार लोकप्रिय बन्नसकेको हो। शुक्रवारलाई पाठकले गर्नुभएको विश्वास र मायाले हामी निकै उत्साहित छौँ। यस अवसरमा म आदरणीय पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकहरूमा हार्दिक आभार प्रकट गर्दछु। पत्रिका प्रकाशनको छोटो अवधिमा यहाँहरूले हामीप्रति देखाउनुभएको सद्भावले हामीलाई जीवन्त ऊर्जा मिलेको छ। 
शुक्रवारले समाजमा भएका विविध विषयलाई समाचार बनाएको छ। गहन सामाजिक विषयदेखि मनोरञ्जनसम्मका सामग्री शुक्रवारमा अटाएका छन्। शुक्रवारले यो अवधिमा गाली र ताली उत्तिकै पाएको छ। र, हामी गालीमा निराश र तालीमा अतिउत्साहित हुने मनोदशाबाट माथि छौँ। हामी गाली र तालीलाई उत्तिकै महŒवका साथ ग्रहण गर्छाैं। पाठकको रुचिअनुसार नै शुक्रवारको यात्रा अघि बढेको छ। लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र जनअधिकारका लागि हामी अझै सशक्त रूपमा यहाँहरूमाझ आउने प्रण गर्दछौँ। ऊर्जाशील युवा पुस्तालाई सम्भावनाको बाटो देखाउने र उनीहरूको ऊर्जालाई सही बाटोमा प्रयोग गर्न अभिप्रेरित गर्ने दिशामा हाम्रो यात्रा अझ सशक्त रूपमा अघि बढ्नेछ। 
नवीन सोचको उपज हो शुक्रवार। २१ औँ शताब्दीका नयाँ पुस्तालाई 'इन्फो–टेनमेन्ट' दिने यसको मुख्य उद्देश्य हो। यद्यपि, सबै तह, तप्का र उमेरसमूहका पाठक हाम्रो प्राथमिकतामा पर्नुहुन्छ। शुक्रवार चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म पत्रिकालाई पठनीय बनाउन निरन्तर खटिने सम्पादकीय टिमलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि पाठकको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु। नयाँ वर्ष २०७१ को उपलक्ष्यमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक तथा शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्छु। 
विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया प्रालि

प्रकाशित: २८ चैत्र २०७० ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App