नेपालमा उचित र पर्याप्त लालनपालनसम्बन्धी शिक्षा अभाव छ। लालनपालनका विषयमा लेखिएका पुस्तक र पत्रपत्रिकामा छापिने विषय बच्चाको शारीरिक विकास, स्वास्थ्य र पढाइमा उत्कृष्टताका बारेमा मात्र हुन्छन्। जन्मेदेखि किशोरावस्था पार नगर्दासम्म सन्तानलाई लालनपालन गर्ने र उनीहरूका समस्या समाधान गर्न सिकाउने शिक्षा, पुस्तक र पत्रपत्रिकाको नेपालमा अभाव छ। यससम्बन्धी सल्लाह दिने सेवा केन्द्र पनि छैनन्।
निश्चय नै सन्तानलाई माया गर्ने कुरामा नेपालका आमाबाबु संसारको कुनै पनि समाजका आमाबाबुभन्दा कम छैनन्। आफ्ना सन्तानलाई मिठो खुवाउन, राम्रो लाउन र गुणस्तरीय शिक्षा दिन नेपाली आमाबाबुले आफ्नो आम्दानीले भ्याएसम्म कुनै कसर बाँकी राख्दैनन्। तर छोराछोरीलाई मिठो खान दिएर, राम्रो लुगा लाउन दिएर अनि महँगो स्कुलमा भर्ना गरिदिएर मात्रै अभिभावकको कर्तव्य र जिम्मेवारी पूरा हुँदैन।
शिशु अवस्थादेखि किशोरावस्थासम्म बालबालिकाको विकासका पाँच पक्ष छन्– शारीरिक विकास, शैक्षिक, बौद्धिक, संवेगात्मक/भावनात्मक (इमोसनल) र सामाजिक विकास वा सामाजिकीकरण।
अधिकांश अभिभावकको मुख्य ध्यान शारीरिक र शैक्षिक विकासमा गएको देखिन्छ भने विद्यालयको मुख्य चासो शैक्षिक उत्कृष्टता (एकेडेमिक एक्सिलेन्स) मा मात्र भएको देखिन्छ। बौद्धिक, संवेगात्मक तथा समाजिक विकासमा अभिभावक र विद्यालय दुवैले आफ्नो जिम्मेवारी महसुस गरेको देखिँदैन।
आधुनिक प्रतिस्पर्धी समाजमा विश्वको कुनै पनि भागमा गएर काम गर्न तथा देश र समाजका लागि उपयोगी असल नागरिक बन्न परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनुमात्रै पर्याप्त हुँदैन। उसको सर्वाङ्गीण विकास हुनु आवश्यक छ। किनकि, सञ्चार र यातायातको विकासले आधुनिक विश्वमा कुनै पनि बालक जुन ठाउँमा जन्मेहुर्के पनि उसले विश्वका कुनै पनि भागमा आनन्द र आतंक फैलाउन सक्छ।
विगतका शताब्दीहरूको तुलनामा २१ औं शताब्दीका अभिभावकको जिम्मेवारी बढी छ। यसका मुख्य कारण निम्न छन्–
मिडियाको प्रभाव
सन्तानले के खाने, के लाउने, के बोल्ने, समाजमा कस्तो व्यवहार गर्ने भन्ने कुरा परम्परादेखि अभिभावक, परिवार र गुरुहरूले गर्दै आएका थिए। अहिले यो काम मिडिया (रेडियो, टेलिभिजन, इन्टरनेट आदि) ले गरिरहेका छन्। अभिभावक र गुरुहरूको बालबालिकाप्रति माया र जिम्मेवारी हुन्छ भने मिडियाको जिम्मेवारी बालबालिकाप्रति होइन मालिक र विज्ञापनदाता, व्यापारी तथा उत्पादकहरूप्रति हुन्छ। साथै आधुनिक मिडिया (टेलिभिजन, इन्टरनेट, मोबाइलफोन) बाट अश्लील र हानिकारक सामग्री पनि प्रवाहित भइरहेका छन्। त्यसैले मिडियाको हानिकारक प्रभावबाट बालबालिकालाई जोगाउन अभिभावकमाथि नयाँ र बिरानो जिम्मेवारी थपिएको छ। नयाँ मिडियाबाट हुन सक्ने हानि र त्यसको समाधानका उपायबारे अधिकांश अभिभावक अनभिज्ञ छन्।
व्यस्त जीवनशैली
नेपालका मध्यम तथा उच्च मध्यमवर्गीय परिवारका सदस्य वैदेशिक रोजगारमा जाने र अन्य नयाँनयाँ व्यवसाय गर्नाले आर्थिक स्थितिमा उल्लेखनीय परिवर्तन आएको छ। यसले बालबालिकाको लालनपालन, शिक्षा र हुर्काइमा समस्या आइलागेका छन्। संयुक्त परिवार टुक्रिएर सानो परिवार सुखी परिवारको अवधारणा लोकप्रिय भएको छ। आमाबाबु दुवै काममा जानुपर्ने, बाबु वा आमा विदेशमा काम गर्ने, टिभी सिरियलमा अधिकांश समय खेर फाल्ने कारण लालनपालनमा समस्या देखिएको छ। गाउँदेखि सहरको बसाइँसराइले बालबालिका आमाबाबुको मायाबाट वञ्चित भएका छन्। आमाबाबुले सन्तानलाई धेरै समय दिन नसक्ने, विदेशबाट पठाएको धनको दुरूपयोग गरेर कुलत र कुसंगतमा फस्ने, बसाइँसराइले गर्दा नयाँ समाज र सांस्कृतिक विखण्डन, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतामा परिवर्तन/ह्रास आदि विभिन्न समस्याले बालबालिकाको उचित लालनपालन हुन सकेको छैन।
छोराछोरीका माग
आर्थिक स्थितिमा आएको सुधारले सन्तानलाई महँगो स्कुलमा पढाउन सम्भव भएको छ। तर आमाबाबुबाट छोराछोरीका अपेक्षा पनि बढेका छन्। जस्तैः मोटरसाइकल, महँगो मोबाइल, रेस्टुरेन्ट र अन्य मनोरन्जनमा अनावश्यक खर्चले परिवारमा चिन्ता थपिएको छ। आमाबाबुले के बु‰नु र लागू गर्नुपर्छ भने सन्तानका लागि पैसा खर्च गर्नुभन्दा समय खर्च गर्नु उपयोगी हुन्छ। छोराछोरीसँग बस्ने, कुरा गर्ने, घुम्ने समय निकालिएन भने उनीहरू अभिभावकले नचाहेका मानिस, साधनसँग भुल्न सक्छन्।
अन्त्यमा,
नयाँ नेपालका लागि नयाँ र असल नागरिक तयार पार्न असल लालनपालन जरुरी छ। असल नागरिक हुर्काउनु भनेको देश र समाजका लागि अभिभावकको योगदान हो। त्यसैले नेपालमा व्यापक रूपमा लालनपालन शिक्षा फैलाउन अति आवश्यक छ। यो काममा विद्यालय, विद्यालय संगठन, अभिभावक संगठन तथा नागरिक समाजको पनि भूमिका र जिम्मेवारी छ। यी निकायले असल लालनपालन विषयमा पुस्तक, पत्रिका प्रकाशित गरेर, सचेतना गोष्ठी आयोजना गरेर तथा समस्यामा परेका अभिभावकलाई परामर्श केन्द्र सञ्चालन गरेर अभिभावक सचेतना कार्यक्रम अघि बढाउन सक्छन्।
प्रकाशित: २१ चैत्र २०७० २१:५६ शुक्रबार





