लिगमा अपराजित साविक विजेता पुलिसले शुक्रबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–२२, २५–१८ ले हराएको थियो। पुलिसले सर्वाधिक १२ अंक जोड्दै एक खेलअघि नै लिग च्याम्पियन भएको छ। शुक्रबार आर्मीले एपिएफविरुद्धको खेलमा एक सेट लिएपछि पुलिसले उपाधि जित्ने पक्का गरेको थियो।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले आर्मीलाई २५–२०, २६–२४, २१–२५ ,२५–२० ले पराजित गरेको हो। ४ खेलबाट एपिएफ १० अंक जोड्दै दोस्रो स्थानमा छ। पश्चिमाञ्चलले ९ अंक जोडेको छ।
गत वर्ष पुरुषतर्फ उपाधि जित्दा पुलिसले एपिएफविरुद्धको अन्तिम खेल कुर्नुपरेको थियो। पुलिसले एपिएफलाई हराउँदै पहिलो राष्ट्रिय लिग च्याम्पियन भएको थियो।
पुलिसका प्रशिक्षक सुदेशकुमार रिमालले डिफेन्स पंक्ति राम्रो बनाएका कारण उपाधि रक्षा गर्न सहज भएको बताए। उनले भने, 'हामी सबै पोजिसनमा राम्रो छौं। खेलाडीमा अनुभवी छन्। तर पछिल्लो समय हामी डिफेन्समा कमजोर भएका कारण अप्ठेरो परेको हो। लिगअघि हामीले डिफेन्स सुधार्न बढी समय खर्चेको थियौं।' उपाधि रक्षा गर्न सोचेअनुसार सघर्ष गर्नु नपरेको रिमालले बताए।
उनले भने, 'सुरुआतमा उपाधि रक्षा गर्न हामीलाई गाह्रो पर्ने अनुमान गरेको थियौं। आर्मी र एपीएफ मुख्य प्रतिद्वन्द्वी थिए। पश्चिमाञ्चलले विदेशी खेलाडी भित्त्याएर राम्रो प्रतिस्पर्धा गरेको हो। पश्चिमाञ्चललाई हराएपछि हामी च्याम्पियन बन्ने सम्भावना बढिसकेको थियो।'
उनले एपिएफलाई हराएर अपराजित यात्रालाई निरन्तरता दिने दाबी गरे।
महिलातर्फ च्याम्पियन बनिसकेको एपिएफले आफ्नो अन्तिम खेलमा शुक्रबार ढोरपाटन स्पोर्टस क्लबलाई २५–५, २५–१४, २५–९ ले पराजित गर्यो। साविक विजेता न्यु डायमन्डले नेपाल पुलिसलाई २५–११,२५–१८, २५–१८ सोझो सेटमा हराउँदै दोस्रो स्थान पक्का गर्यो। पश्चिमाञ्चलले जावलाखेलमाथि २५–६,२५–११, २५–१४ को सेटमा विजय पाएको थियो।
दुवैको विजेता पुरुष–महिला टोलीले समान १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार र तेस्रोले ४० हजार रुपैयाँ पाउने छन्।
प्रकाशित: २१ चैत्र २०७० १९:४७ शुक्रबार





