४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

अष्टलक्ष्मीको संस्मरण सार्वजनिक

काठमाडौं– एमाले नेतृ अष्टलक्ष्मी शाक्यले ‘मेरो पाइला मेरो अनुभव' शीर्षकको संस्मरण प्रकाशन गरेकी छिन्।अष्टलक्ष्मीले कम्युनिष्ट आन्दोलनमा सक्रिय भएदेखि २०४६ सालको जनआन्दोलनसम्मका घटनाक्रम समावेश पुस्तकको शनिबार एमाले अध्यक्ष झलनाथ खनालले लोकार्पण गरे। 
कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा खनालले अष्टलक्ष्मीको पुस्तक प्रगतिवादी साहित्यका लागि उपहार भएको टिप्पणी गरे।
‘कमरेड अष्टलक्ष्मीको संस्मरण उहाँको निजी अनुभूतिमात्र नभएर देश परिवर्तनको कथा पनि हो। उहाँको जीवनीले धेरै कुरा सिकाउँछ तर विशेष गरी क्रान्तिकारी सम्पन्न परिवारबाट पनि जन्मन सक्छ भन्ने कुरा यसको विशेषता हो,' खनालले भने।
उनले कृति सत्य घटनामा आधारित रहेको भए पनि लेखकले समेटेका घटना र तिनको रोचक प्रस्तुतिका कारण कथा पढेजस्तो अनुभूत हुने धारणा राखे।
पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा राजनीतिमा लाग्नुअघिको जीवनलाई समेटिएको छ भने दोस्रो भागमा राजनीतिमा लागिसकेपछिका भोगाइलाई समावेश गरिएको छ।
अष्टलक्ष्मीले एउटी महिलाले राजनीतिमा लाग्न गरेको संघर्षले नेपाली महिलालाई प्रेरित गरोस् भन्ने उद्देश्यले पुस्तक लेखेको बताइन्। ‘राजनीति अहिले जसरी सहज र सजिलो भएको छ, हिजोको दिनमा यस्तो थिएन। अहिलेको पुस्तालाई पहिलेका मानिसले गरेको योगदानको स्मरण गराउन जीवनी निकाल्ने निर्णय गरेकी हुँ,' अष्टलक्ष्मीले भनिन्।
कार्यक्रममा शारदा शर्मा, सृष्टि राना र जीवेन्द्रदेव गिरीले पुस्तकमाथि समीक्षा गरेका थिए। पुस्तकलाई मोतीदेवी स्मृति केन्द्रले प्रकाशन गरेको हो।

प्रकाशित: १५ चैत्र २०७० २३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App